२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

मान्छे निल्ने पोखराका नाली लामाचौर बासी चिन्तित

मान्छे निल्ने पोखराका नाली लामाचौर बासी चिन्तित

दीपक घिमिरे, काठमाण्डू l पानी निकासको लागि सडक छेउमा बनाइएका नाली नै नागरिकको काल सावित भएका छन् । डेढ वर्षयता नालीमै परेर पोखरामा ५ जनाले ज्यान गुमाएका छन् । सडक छेउमा रहेको ढल र नालीको उचित व्यवस्थापन नहुँदा मोटरसाइकल चालक र पैदल यात्रु असुरक्षित रहेको स्थानीय बताउँछन् ।

कात्तिक ४ गते भाइटीकाको दिन लामाचौरमा नालीमा परी १ युवा वेपत्ता भए । ग१३प ३११० नम्बरको बाइक अनियन्त्रित भएर नालीमा पर्दा बाइक चालक पिजन पुन बेपत्ता भएका हुन् । पोखरा–१९ का पुन अझै फेला परेका छैनन् । उनले चलाएको मोटरसाइकलपछाडि बसेका श्रवण पुर्जा भने घाइते भएका छन् ।

लामाचौरबाट बगर आउने क्रममा पश्चिमाञ्चल इञ्जिनिरिङ क्याम्पस भन्दा तल गोर्खा बोर्डिङ स्कुल नजिकै नालीमा बाइक परेपछि करिब १ सय ५० मिटर तल बाइक फेला परे पनि पुन अझै बेपता छन् । उनको खोजीमा प्रहरी टोली खटाइएको वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर किशोर लम्सालले बताए । ‘नाली बाइक खासेको ठाँउबाट करिब १ सय ५० मिटर तल बाइक भेटियो,’ उनले भने, ‘पुनको खोजीमा खसेको ठाउँबाट तल केआईसिं पुलसम्म टोली नाली भित्रै पसेर निक्लिए तर उनी फेला परेनन् ।’ बाइक पनि निकाल्न नमिलेको उनले बताए । ‘माथिबाट बगाएर ल्याएको बाइक तल ढलमा अड्किएको थियो,’ उनले भने, ‘सिंगो बाइक निकाल्न नमिलेर प्रहरी टोली र मेकनिकल मिलेर पार्टपुर्जा खोलेर निकालेका हौं ।’

पोहोर वर्ष नाला र ढलमा परेर ४ जनाले ज्यान गुमाएका छन् । पोहोर असोज १ गते मात्र २ जानले नालीमा परेर ज्यान गुमाएका थिए । स्याङ्जा घर भएका गंगाप्रसाद सुवेदीले नालीमा परेर ज्यान गुमाए । बिरौटा सडक छेउमै सुवेदीलाई बगाएको थियो । सोही दिन लामाचौरमा कृष्णबहादुर थापाको पनि नालामा परी मृत्यु भयो । लामाचौर गैराबारीका ५६ वर्षीय थापालाई खत्री डहरको भेलले बगाएर नालीमा पु¥याएको हो ।

पोहोर भदौ २२ गते पोखरा–७ मा बाइकसहित बगाएको सुरवीर जिसीको ज्यान गयो । पोखरा–२८ कालिकाका २१ वर्षीय जिसीलाई मालपोत कार्यालय नजिकबाट बाइकसहित बगाएको थियो । सोही महिनाको १५ गते नालालेनै बगाएर मीना भण्डारीको मृत्यु भयो । दाङ घर भइ पोखरा–४ बस्दै आएकी ४५ वर्षीया भण्डारीलाई सिद्धार्थचोक नालामा परी ज्यान गुमाएकी हुन् ।

पोहोर असार ११ गते सुलभ बास्तोलाको देउराली खोलाले बगाएर मृत्यु भयो । लेखनाथ शिशुवा नजिकै देउराली खोलामा ८ वर्षीय सुलभ कसरी पुगे भन्ने अझै पत्तो लागेको छैन् ।

पोखराका अधिकांंश ठाउँमा नाली असुरक्षित रहेको पोखरा–३ की अमृता भण्डारीले बताइन् । ‘अहिले पो नाली सानो देखिन्छ,’ उनले भनिन्, ‘पानी पर्दा खोजो जस्तो बग्छ ।’ नालामा स्ल्याब लाउनु पर्ने भण्डारीले बताए । ‘नाला यतिकै खुल्ला छ,’ उनले भनिन्, ‘शनिबार लामाचौरमा जुन नालीमा घटना भयो त्यो नाली त निकै ठूलो छ ।’

पोखरा महानगरका मेयर मानबहादुर जिसीले पुन दुर्घटनामा परेको लामाचौरस्थित नालीमा तत्काल स्ल्याब राख्न स्थानीयसँग सहकार्य गर्ने बताए । उनले समाधानसँग भने,‘नगरभरका नालीको वैज्ञानिक व्यवस्थापन गर्दै जानेछौं ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij