स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित आगामी कात्तिक १२ देखि १८ गते सम्म राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुन लागेको छ ।
नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको निम्ति प्याब्सन मुख्य प्रायोजकको रुपमा रहनेछ । प्रथम प्याब्सन यु–१८ महिला-पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता २०७४ नाम दिइएको उक्त प्रतियोगितामा महिला र पुरुषको निम्ति छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिनेछ ।
खेलमा उत्कृष्ट हुने टिम मध्ये प्रथमलाई १ लाख, द्वीतीयलाई ६० हजार, तृतीयलाई ३५ हजारकाे दरले महिला र पुरुषलाई अलग–अलग प्रदान गरिनुको अलावा छुट्टाछुट्टै रुपमा महिला र पुरूषलार्इ बेष्ट प्लेयर, बेष्ट स्पिकर, बेष्ट सेलर, बेष्ट ब्लकर, बेष्ट सर्भर र बेष्ट डिफायन्स समेत छनौट गरी हरेकलाई ३–३ हजारको दरले रकम प्रदान गरिनेछ । साथै प्रमाणपत्र र मेडल समेत सबैलाई उपलब्ध हुनेछ ।
उक्त खेल प्रतियोगिता आयोजनाको निम्ति खेलमा भाग लिन चाहने हरेक टिमबाट १० हजारको दरले रकम सङ्कलन गरिनेछ भने विज्ञापन तथा प्रायोजन अर्को मुख्य स्रोतको रुपमा रहने नेपाल विद्यालय भलिबल कमिसनका सचिव लोकेन्द्र बहादुर खड्काले सेतोघरसँगको कुराकानीको क्रममा बताएका छन् ।
प्रतियोगितामा दर्शककाे रूपमा सहभागि हुने व्यक्तिहरूकाे निम्ति टिकटको पनि व्यवस्था गरिएको छ । टिकट शुल्क खेलको प्रकृति अनुसार १ सय, १ सय ५० र २ सय रहनेछ ।
साथै देशभरबाट छनौटमा परेका व्यक्तिहरुलाई सहभागि गराइने उक्त प्रतियोगितामा उपत्यका बाहिरबाट आउने व्यक्तिहरुको निम्ति प्रति टीम ३० हजार रकम उपलब्ध गराइनेछ भने उपत्यका भित्रबाट सहभागि हुने टीमलाई प्रति टीम १५ हजार रकम उपलब्ध गराइनेछ ।
प्रतियोगिता नयाँ बसपार्कसँगै ढोरपाटन भलिबल ट्रेनिङ सेन्टरको प्लेग्राउण्डमा आयोजना हुनेछ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको उक्त प्रतियोगिताले भलिबल खेलाडीहरू, खेलप्रेमी तथा सराेकारहरू उत्साहित बनेका छन् । साथै खेललार्इ सफल बनाउनकाे निम्ति अायाेजक पक्ष निकै नै सक्रियतापूर्वक खटिएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij