
नेपालमा रहेका उद्योगहरुलाई कसरी लामो समय सम्म सञ्चालन गर्ने भन्ने सम्बन्धमा नेपाल सरकारले निश्चित नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ । तर अहिले भने त्यो अवस्था छैन । कुनै पनि देशको विकास निम्ति औद्योगिकरण अवस्था र जनशक्तिको दक्षतामा निर्भर रहन्छ । त्यस बाहेक उपलब्ध स्रोतसाधनको पनि महत्वपूर्ण भूमीका रहन्छ ।
अहिले नेपाल यहाँका जनशक्तिलाई विदेश पठाएर प्राप्त विप्रेषणबाट चलेको छ । नेपाल आयातमुखी भइरहेको छ । आफ्नो देशमा उत्पादन गर्न सकिने वस्तुहरु समेत विदेशबाट ल्याउनुपरेको छ । राज्यको स्पष्ट नीतिको अभावमा नेपालमा सञ्चालनमा रहेका उद्योगहरु पनि राम्रो तवरले दिगो रुपमा चल्न सक्ने वातावरण समेत बनेको छैन । नेपालमा सञ्चालित उद्योग र विदेशबाट आयात गर्ने क्रममा खासै फरक छैन । जसले गर्दा जोखिम लिएर उद्योग सञ्चालन गर्ने झण्झट लिनबाट नेपालका उद्यमशिल व्यक्तिहरु पलायन हुनुपर्ने अवस्था छ ।
नेपालमा सञ्चालनमा रहेका उद्योगहरु र बाहिरका उत्पादन नेपालमा ल्याएर विक्री गर्ने ट्रेडर्सलाई राज्यले फरक मानेन भने आगामी दिनमा नेपालको अवस्था थप कमजोर हुनेछ । राज्यले निकै ठूलो मूल्य चुकाउनुपर्नेछ । यसले नेपाल सरकारलाई खासै फरक त नपर्ला, जसरी भएपनि राज्यलाई राजस्व त प्राप्त होला तर समग्र मुलुकको हित र अर्थतन्त्रमा चाहिँ त्यसको के प्रभाव रहन्छ भन्ने सम्बन्धमा पनि विचार गर्नु पर्छ कि पर्दैन ?
यसको मतलब नेपालमा सञ्चालनमा रहेका सबै किसिमका उद्योगहरुको संरक्षण नै गर्नुपर्छ भन्ने कुरा त होइन यद्यपि नेपालमा रहेर काम गर्न चाहने र राज्यको सबै नीतिहरु पालना गरेका उद्योगहरुलाई काम गर्ने वातावरण त नेपाल सरकारले बताइदिनुपर्छ नि । नेपालमा सञ्चालनमा रहेका उद्योगहरुलाई काम गर्ने उपयुक्त वातावरण बनाइदिनुपर्छ भन्ने मात्र हाम्रो माग हो ।
हामी उद्योगीहरुले सबै काम सरकारले नै गरिदिनुपर्छ, हामी त सरकारले पूर्वाधार निर्माण गरिदिएका क्षेत्रमा गएर उद्योग राखेर नाफा मात्र कमाउने हो भन्ने मान्यता राखेका छैनौं । तर उद्योग सञ्चालनको क्रममा आवश्यक पर्ने आधारभूत तत्वहरुको भने जहिले पनि तालमेल हुनैपर्ने आवश्यकता रहन्छ । ती आधारभूत तत्वहरु मध्ये लगानीकर्ता, कामदार कर्मचारी, सरकार, बैंक तथा वित्तीय लगानीकर्ता, बजार लगायत पर्दछन् । यी सबैमा उपयुक्त तालमेल त
हुनैपर्छ ।
यी मध्ये केही कुराहरु त अनिवार्य रुपमा सुनिश्चित नै हुने गर्छन् । जस्तो कि वित्तीय संस्थाले लगानी गरेपश्चात् त्यस बापत लगानीको व्याज त सुनिश्चित नै हुने गर्छ । अर्थात् लगानीसँग बैंकको जोखिमता रहँदैन । तर कम्पनीले लगानी गरिसके पश्चात् कम्पनी मुनाफामा नै जान्छ र सबै तत्वहरु लाभान्वित नै हुन्छन् भन्ने अवस्था भने रहँदैन । जसले गर्दा लगानीकर्ता जहिले पनि जहाँ राम्रो प्रतिफल प्राप्त हुन सक्छ, त्यही क्षेत्रमा नै लगानी गर्न तत्पर हुन्छ । जुन क्षेत्रलाई मुनाफाको अलावा सामाजिक आवश्यकता र प्रभावको दृष्टिकोणसँग समेत हेर्नुपर्ने हुन्छ । कहिलेकाहीँ सरकारले लगानीकर्ताले लगानी गर्न चाहेको क्षेत्र भन्दा फरक क्षेत्रमा लगानी गर्ने बाध्यकारी नीति पनि बनाउनुपर्ने हुन्छ, जुन सामाजिक उत्तरदायित्वको हिसाबले महत्वपूर्ण हुने गर्छ । यस्ता क्षेत्रमा काम गर्नको निम्ति राज्यले नीतिगत रुपमा नै केही प्रोत्साहन वा बाध्यकारी व्यवस्था नै गर्नुपर्ने आवश्यकता समेत रहने गर्छ । तर सामाजिक उत्तरदायित्व नै वहन गर्ने उद्योगहरुलाई भने राज्यले सम्मान वा प्रोत्साहन गर्नुपर्ने भएपनि त्यसो भने हुन सकेको छैन ।
अहिलेको अवस्थामा नेपालकै परिप्रेक्ष्यमा हेर्ने हो भने पनि नेपालमा विभिन्न किसिमका उद्योगहरु सञ्चालनमा रहेका छन् । त्यसैबमोजिम ती उद्योगले उत्पादन गर्ने वस्तु पनि फरक त हुने नै भए । नेपालमा गुट्खा, विस्कुट, चाउचाउ, मदिरा, औषधी, खाद्यान्न, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा छन् । यी उद्योगहरुको प्रकृति पनि भिन्न छ । कतिपयले मुनाफालाई प्राथमिकतामा राखेका छन् भने कतिपय सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित छन् । तर यी विभिन्न किसिमका उद्योगहरुमा राज्यबाट तोकिएको करको दायरा भने एउटै छ । साथै नेपालमा उत्पादन हुने वस्तु र बाहिरबाट आयात गरिने वस्तुमा लगाइने करको दायरा पनि एउटै छ । साथै बजारमा उद्योगी र व्यापारीलाई हेरिने दृष्टिकोण पनि एउटै छ । यद्यपि सेवा र उत्पादनमूलक उद्योगसँग सम्बन्धित विभिन्न उद्योगहरुले रोजगारी सृजना र सामाजिक उत्तरदायित्वको निम्ति विशेष भूमीका निर्वाह गरेका भएपनि राज्यले ती उद्योग सञ्चालकहरुप्रति सम्मान समेत दर्शाउन सकेको छैन । स्वदेशमा उद्योग सञ्चालन गरेका व्यक्तिहरुले विभिन्न झण्झटहरु व्यहोर्नुपरेको अवस्था छ । सबै दृष्टिकोणबाट हेर्दा उद्योग र व्यवसायबीच कुनै पनि फरक नपाइएको अवस्थामा नेपालमा जोखिम लिएर उद्योग सञ्चालन गर्ने व्यक्ति भन्दा पनि बिना जोखिम आयातनिर्यातको काम गरिरहेको व्यक्ति समाजमा प्रतिष्ठित कहलिने अवस्था छ । जसले गर्दा नेपालमा उद्योग सञ्चालन गर्ने व्यक्तिको मनोबल कमजोर हुने अवस्था आउन सक्छ । राज्यले सबैभन्दा पहिले सम्भव भएसम्म स्वदेशमा नै वस्तु उत्पादनको निम्ति प्रोत्साहनमूलक कार्यक्रमहरु ल्याउनु जरुरी रहन्छ । यस क्रममा विभिन्न तवरले छुट तथा सहुलियत दिएर पनि नेपालमा उद्योगहरु सञ्चालनको निम्ति आकर्षण गर्ने वातावरण बनाउनुपर्ने हुन्छ ।
अहिले पनि नेपालको बजारमा अस्वस्थ प्रतिष्पर्धा कायम छ । यसको पछाडि पनि केही कारणहरु छन् । बिस्कुटकै कुरा गरौं, भारत वा विदेशबाट नेपालमा बिस्कुट आयात गर्ने र नेपालमा हामीले यहीँकै वस्तु उपयोग गरी विस्कुट उत्पादन गर्ने क्रममा पनि राज्यले एउटै कर र राजस्व दर कायम गरिदिएको छ । जसले गर्दा नेपाली उद्योगहरुलाई प्रोत्साहन मिल्न सक्ने अवस्था नै छैन । भलै राज्यले नाफामा तिर्नुपर्ने करमा केही अन्तर गरिदिएको छ, जुन ५ करिब प्रतिशतको अन्तरमा मात्रै छ । यस्तो अवस्थामा नेपालमा भएका उद्योगहरु समेत ट्रेडिङमा नै आकर्षित हुने अवस्था अवस्था आयो भने के त्यो नेपालको दीर्घकालिन हितमा होला त ?
नेपालमा नै रहेर काम गर्ने उद्योगहरुको हित हुन सकेमात्र नेपालमा समग्र सबै क्षेत्रको हित हुन सक्छ भन्ने मान्यता बमोजिम नेपाल सरकारले नेपालमा नै स्थापना हुन चाहने उद्योगहरुलाई केही सहज वातावरण बनाइदिनुपर्ने आवश्यकता छ ।
राज्यकै लगानीका उद्योगहरु किन छन् निरन्तर घाटामा ?
नेपाल सरकारले अहिले आफैं पनि आफ्नो पूर्ण स्वामित्वमा चलेका उद्योगहरु समेत मुनाफामा जान सकेका छैनन् । किन मुनाफामा जान सकेका छैनन् त नेपाल सरकारले सञ्चालन गरेका उद्योगहरु ? के यसो हुनुमा नेपाल सरकारको क्षमतामा कमी भएरै हो त ? पक्कै होइन । हामीले देखेको एउटै कारण भनेको नेपालमा उद्योगमा लगानी गर्ने वातावरण बिग्रिएको कारणले गर्दा नै यसो भएको हो । यद्यपि यही ठाऊँ, समय र परिस्थितिमा पनि निजी क्षेत्रले सञ्चालन गरेका उद्योगहरु भने सधैं नाफामा नै जानुपर्ने भन्ने राज्यको जुन दृष्टिकोण छ, यो निकै आश्चर्य लाग्दो छ ।
नेपालमा पहिले सञ्चालनमा रहेका तर पछि विविध कारणले गर्दा बन्द भएका वा राम्रो तवरले सञ्चालन हुन नसकेका उद्योगहरुलाई पुःन सञ्चालन गर्ने बारे प्रक्रिया अघी बढाउन चाह्यौं भने त्यो प्रक्रिया पनि निकै नै झण्झटिलो रहेको हामीले पाएका छौं । काठमाडौं बाहिरका सानो लगानीका उद्योगहरु जुन उपयुक्त वातावरणको अभावमा बन्द हुनुपरेको छ, ती उद्योगहलाई पुःन सञ्चालन गरौं भन्ने मानसिकता बनाउँदा पनि नेपालमा अहिलेको विद्यमान नीतिगत व्यवस्था बमोजिम ती उद्योगहरु सञ्चालन गर्ने कार्य निकै नै झण्झटिलो रहेको पाइएको छ । यस्ता कुरामा सहजीकरण गर्ने काम सम्पूर्ण उद्योगहरुको सर्वोच्च निकायको रुपमा रहेको राज्य मातहत हुन नसक्नु पनि दुःख लाग्दो कुरा हो ।
लोडसेडिङ ः
नेपालमा बाहिरबाट हेर्दा लोडसेडिङ अन्त्य भइसकेको भनिएको अवस्थामा पनि औद्योेगिक क्षेत्रहरुमा भने लोडसेडिङ कायम नै छ । अहिले पनि औद्योगिक क्षेत्रका उद्योगहरुले दैनिक ६–७ घण्टा लोडसेडिङ व्यहोर्नुपरेको छ । विद्युत प्राप्त हुने समय पनि उद्योगमैत्री छैन । उद्योगलाई सामान्यतया विहान ६ देखि बेलुकी १० बजे सम्म निरन्तर रुपमा विद्युत उपलब्ध हुनु आवश्यक रहन्छ । अधिकांश नेपाली उद्योगहरु सञ्चालन हुने समय पनि यही नै हो ।
नेपाली उद्योगहरुमा अत्याधुनिक प्रविधिको प्रयोग :
विश्वबजारमा विकास भएका नयाँ प्रविधिहरु नेपालमा भित्र्याउने क्रममा हामीले निकै ठूलो रकम लगानी गर्नुपर्ने अवस्था छ । तर सोही बमोजिम वस्तु उत्पादन गरी विक्री गर्ने बजार भने साँघुरो छ । सबै पक्षलाई विचार गर्ने हो भने हामीले नयाँ उद्योग सञ्चालनको निम्ति सम्बन्धित उद्योगले मेसिन र आवश्यक प्रविधिमा निकै ठूलो रकम लगानी गर्नुपर्ने अवस्था रहेपनि त्यस बापत नेपालका उद्योगहरुले त्यसको जस समेत पाउने अवस्था नेपालमा नभएको कारण नेपाली उद्योगहरु राम्रो सम्भावना र बजार बुझ्दाबुझ्दै पनि लगानी गर्न सकिने अवस्थामा भने छैनन् ।
प्रविधिको क्षेत्रमा गरेको लगानीको प्रतिफल त प्राप्त हुन्छ नै । यद्यपि यसरी गरिने लगानीको प्रतिफल ढिलो मात्र प्राप्त हुने भएको कारण तत्काल लगानी गर्नेमा भने सहजै तयार हुने वातावरण नरहन सक्छ ।
विस्कुट उद्योगको अवस्था :
नेपालमा विगतमा ३५-४० ओटा रहेका विस्कुट उद्योगहरु सञ्चालनमा रहेकोमा अहिले सम्म आइपुग्दा १०–१२ ओटा मात्र सञ्चालनमा छन् । नेपाली बजारमा आएका विदेशी (खासगरी भारतीय) विस्कुटको कारणले गर्दा नेपाली बजारमा नेपाली विस्कुटहरुले गुणस्तर राम्रो हुँदाहुँदै पनि मूल्यमा प्रतिष्पर्धा हुन सक्ने अवस्था भने छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij