काठमाडौं । भर्खरै प्रकाशित एसईईको परिणामप्रति चित्त नबुझेका विषय पुनर्योग (रिटोटलिङ)का लागि परीक्षा नियन्त्रण कार्यालयमा झण्डै तीन हजार आवेदन परेको छ । परिणाम प्रकाशित भएको १५ दिनभित्र फर्म भर्नुपर्ने नियमअनुसार हालसम्म तीन हजार फर्म भरिएको र सो संख्या बढ्न सक्ने पनिकाले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गुरुप्रसाद पौडेलले रिटोटलिङको लागि ७५ वटै जिल्लाबाट करिब तीन हजार फर्म भरिएको बताए ।
असार १७ गतेसम्म फर्म भर्ने म्याद भएकाले सो संख्या अझै बढ्न सक्ने उनको भनाइ छ । पनिकाले जिल्लाहरुसँग सम्पर्क गरेर रिटोटलिङको सम्पूर्ण डाटा प्राप्त गरी असार १९ गते रिटोटलिङ गर्न सुरु गर्नेछ ।
ग्रेड वृद्धिका लागि साउन पहिलो हप्ता फर्म खुल्ने
पनिकाका उपनियन्त्रक पौडेलले ग्रेड वृद्धिका लागि साउनको पहिलो हप्तादेखि फर्म दर्ता खुल्ने बताए । रिजल्ट आएपनि सम्पूर्ण प्रमाणपत्र प्रिन्ट गर्न अझै १० दिन समय लाग्ने बताउँदै उनले सबै जिल्लामा सर्टिफिकेट नै नपुगेको बताए ।
साउन १९ गतेबाट २६ गतेसम्म पुनः परीक्षा लिने पनिकाको योजना छ । यस वर्षको एसईईमा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल भएका छैनन्
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij