२०८३ साउन १५ शुक्रबार

Jul 31 2026 Friday

  • २०८३ साउन १५ शुक्रबार

२०८३ साउन १५ शुक्रबार

ओप्सको आयोजनामा अन्तरविद्यालय आधारभूत तह फुट्सल प्रतियोगिता हुँदै, संयोजक विद्यालय प्रारम्भ वर्ल्ड स्कुल

ओप्सको आयोजनामा अन्तरविद्यालय आधारभूत तह फुट्सल प्रतियोगिता हुँदै, संयोजक विद्यालय प्रारम्भ वर्ल्ड स्कुल

 

काठमाडौं । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)को आयोजनामा आधारभूत तहस्तरीय अन्तरविद्यालय फुट्सल प्रतियोगिता आगामी श्रावण १६ र १७ गते काठमाडौंस्थित प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेजको खेल मैदानमा आयोजना हुने भएको छ।

प्रतियोगितामा ओप्समा आबद्ध २९ विद्यालयमध्ये २६ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ। यस उपस्थितिलाइ आयोजकले निकै उत्साहबर्द्धक मानेकाे छ ।

प्रतियोगिताबारे जानकारी दिन श्रावण १४ गते आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको टाइसिटसमेत सार्वजनिक गरिएको थियो। कार्यक्रममा आयोजकले प्रतियोगिता पूर्ण रूपमा अनुशासित, व्यवस्थित र मैत्रीपूर्ण वातावरणमा सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतियोगिताका संयोजक तथा प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले प्रतियोगितामा सहभागी प्रत्येक टोलीबाट ४ हजार रुपैयाँका दरले दर्ता शुल्क संकलन गरिने जानकारी दिनुभयाे । उहाँका अनुसार २६ टोलीबाट कुल १ लाख ४ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ भने प्रतियोगिताको कुल खर्च करिब १ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। अपुग हुने रकम प्रारम्भ वर्ल्ड स्कुलले नै व्यहोर्नेछ ।

ओप्सका अध्यक्ष तथा हिमरश्मी हाई स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले प्याब्सनको क्लस्टरका रूपमा रहेको ओप्सले अन्य क्लस्टरको तुलनामा शैक्षिक, खेलकुद तथा सह–पाठ्यक्रम गतिविधिमा निरन्तर सक्रिय तथा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयाे। उहाँले यस प्रतियोगितालाई प्रतिस्पर्धाभन्दा पनि विद्यालयहरूबीचको भाइचारा, सहकार्य र आपसी सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयाे।

“खेललाई प्रतिष्ठाको विषय बनाउनु आवश्यक छैन। स्वस्थ प्रतिस्पर्धा, अनुशासन र मित्रताको भावनासहित खेलमा सहभागी हुनुपर्छ,” अध्यक्ष खड्काकाे भनाइ छ।

यस वर्षको यस प्रतियोगिताको नारा “स्वास्थ्य, अनुशासन र भाइचाराका लागि खेलकुद” रहेको छ। आयोजकका अनुसार विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहने भएकाले यस्ता प्रतियोगिताले अतिरिक्त क्रियाकलाप (ECA) र सह–पाठ्यक्रम गतिविधि (CCA) लाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले प्रतियोगिताको संयोजनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको भन्दै प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीको मुक्तकण्ठले प्रशंसा गर्नुभएकाे थियाे। उहाँले प्रतियोगिता सफल बनाउन सबै विद्यालय, शिक्षक, खेलाडी तथा व्यवस्थापन पक्षको सक्रिय सहयोग अपेक्षा गरिएको पनि बताउनुभयाे।

आयोजकले प्रतियोगितामा सहभागी सबै विद्यालयलाई निर्धारित समयको पालना गर्न तथा खेल अनुशासनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ। प्रतियोगितालाई निष्पक्ष, मर्यादित र अनुशासित ढंगले सम्पन्न गर्दै विद्यार्थीमा खेलभावना, नेतृत्व क्षमता, टोली भावना र पारस्परिक सम्बन्ध विकास गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij