२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

कृषि क्षेत्र मार्फत लाखौं रोजगारी सृजना गर्न सकिन्छ

कृषि क्षेत्र मार्फत लाखौं रोजगारी सृजना गर्न सकिन्छ

  • आइतबार, भाद्र ८ २०८२

राजेन्द्र पराजुली, गण्डकी प्रदेश सदस्य, नेकपा एमाले

पृष्ठभूमिः

नेपालका ग्रामीण भेगहरू आज पनि परम्परागत खेतीपातीमै निर्भर छन्। तर विडम्बना के छ भने ती खेतबारी बाँझै रहेका छन्, गाउँका कर्ता–धर्ता युवा विदेश पलायन भइरहेका छन्, र गाउँमा वृद्धबृद्धा मात्र बाँकी हुने अवस्था सृजना भएको छ। शिक्षाको स्तर न्यून, स्वास्थ्य सेवामा पहुँच कमजोर र पूर्वाधार अभावले गर्दा गाउँमै बस्ने वातावरण सहज छैन। यही कारणले धेरै युवाले आफ्नो भविष्य सुरक्षित गर्न वैदेशिक रोजगारी रोजेका छन्। तर विदेशमा कमाएको पैसा पनि प्रायः उपभोगमै सकिन्छ, र घर–गाउँको विकासमा योगदान पुर्याउन नसकेको स्थिति छ। यसरी हेर्दा, आज नेपाली समाजलाई पिडा दिने सबैभन्दा ठूलो प्रश्न हो – “युवाशक्तिलाइ कसरी व्यवस्थापन गर्ने ?”

यस प्रश्नको उत्तर भनेकै कृषि उद्यमशिलता हो। नेपाल अझै पनि कृषिप्रधान मुलुक हो। हाम्रा ग्रामीण भूमिमा उत्पादन गर्ने सम्भावना अझै प्रशस्त छ। तर परम्परागत खेतीबाट युवालाई आकर्षित गर्न सकिन्न। कृषि आधुनिक, नाफामूलक र व्यवसायिक ढाँचामा रूपान्तरण गर्न सक्ने हाे भने गाउँमै लाखौं रोजगारी सिर्जना गर्न सकिन्छ। यदि प्रत्येक गाउँमा स्तरीय सडक, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध भयो भने, धेरै युवाले शहर वा विदेश धाउनुपर्ने बाध्यता रहने छैन। बरु उनीहरूले आफ्नो श्रम र सीप गाउँकै जग्गा–जमिनमा लगानी गर्नेछन्।

कृषि क्षेत्रमा रोजगारी सिर्जनाका अवसर अनगिन्ती छन्। नगदेबाली खेती—जस्तै अलैंची, अदुवा, कागती, कफी वा एभोकाडोले ठूलो आम्दानी दिन सक्छ। यस्तै, तरकारी खेतीमा ग्रीनहाउस, टनेल प्रविधि र ड्रिप सिँचाइ प्रयोग गरेर वर्षभर उत्पादन लिन सकिन्छ। पशुपालनमा दुग्ध उत्पादन, बाख्रा पालन, कुखुरा पालन वा माछापालनले गाउँमै दर्जनाैं युवालाई संलग्न गराउन सक्छ।

कृषि उत्पादनलाई भण्डारण गर्नका लागि काेल्ड स्टोर, प्रशोधन गर्ने उद्योग वा उत्पादन र बजारीकरणमा संलग्न गाउँस्तरीय सहकारी स्थापना गर्न सकियाे भने अझ धेरै रोजगारी सिर्जना हुन्छ। उदाहरणका लागि ग्रामीण क्षेत्रमा स्थानीय रूपमा उत्पादित आलु, मकै, दूध वा फलफूललाई प्रशोधन गरेर बजार पठाउँदा उत्पादनको मूल्य पनि बढ्छ र किसान लाभदायी हुन पुग्छन्। यसले उनीहरूलाइ थप उत्पादनकाे लागि प्रेरित समेत गर्दछ ।

यस्ता सम्भावनाहरू केवल सिद्धान्तमा मात्र होइन, व्यवहारमा पनि सफल देखिएका छन्। इलामका युवाहरू जाे केही वर्ष वैदेशिक रोजगारीमा बसेर फर्किएपछि गाउँमै चिया खेतीमा राम्राे लाभ लिइरहेका छन् । यस्ता उद्यमीहरूले अहिले बार्षिक २०-२५ लाख सजिलै कमाउँछन् ।  १२-१५ जनालाई स्थायी रोजगारी दिएका छन्। त्यस्तै, चितवनका केहि  युवा मिलेर सुरु गरेको दुग्ध फार्ममार्फत  दैनिक सयाैं लिटर दूध उत्पादन हुँदैछ र फार्मबाट १२-१५ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्। काभ्रेका युवाहरूले सहकारी स्थापना गरेर करिब सय रोपनी जग्गामा सामूहिक तरकारीखेती गरिरहेका छन्। उनीहरूले  गरेकाे  उत्पादन अहिले संकलन गरेर काठमाडौंका सुपरमार्केटहरूमा आपूर्ति गरिन्छ ।  यी केही उदाहरणहरूले स्पष्ट देखाउँछन् कि यदि उचित नीति र आवश्यक सहजीकरण भयो भने, हजारौं युवाले गाउँमै उद्यम सुरु गर्न सक्छन्। जसबाट लाखाैं सङ्ख्यामा स्वराेजगार र राेजगारी सृजना गर्न सकिन्छ । यसबाट राज्यकाे चिन्ता र भार घटाउन पनि सहयाेग पुग्छ ।

तर कृषि उद्यमशिलतालाई स्थायी बनाउन नीतिगत समन्वय अपरिहार्य छ। व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन। किसानलाई सस्तो ऋण उपलब्ध गराउनुपर्छ, उत्पादन बीमा अनिवार्य हुनुपर्छ। संघीय सरकारले कृषि नीतिमा निर्यातलाइ प्रोत्साहन दिने किसिमका कार्यक्रमहरूलाइ प्राथमिकतामा राख्नुपर्छ। प्रदेश सरकारले प्रशोधन उद्योग, काेल्ड स्टोर र अन्य पूर्वाधारमा लगानी गर्नुपर्छ। स्थानीय तहले सहकारी, भूमि व्यवस्थापन र बजार समन्वय गर्नुपर्छ। यसरी संघीय–प्रदेश–स्थानीय तहबीच सहकार्य र स्पष्ट भूमिका बाँडफाँड हुनेसकेकाे खण्डमा नेपालमा कृषि रोजगारीको मुख्य स्रोत बन्न सक्छ। साथै युवालाई आकर्षित गर्न ‘गाउँ फर्कौं, कृषि गरौं’ जस्ता विशेष कार्यक्रम ल्याउन जरुरी छ।

अब के गर्नुपर्छ ?

यसकाे लागि प्रशिक्षण र सीप विकासमा पनि जोड दिइनुपर्छ। परम्परागत ढङ्गबाट खेती गर्ने युवा अब लामो समय टिक्न सक्दैनन्। उनीहरूलाइ समयअनुसार प्रविधिमा अद्यावधिक बनाउँदै लैजानुपर्छ । जसका लागि आधुनिक प्रविधि—जस्तै हाइड्रोपोनिक्स, ड्रोन स्प्रे, स्मार्ट सिँचाइ प्रणाली लगायतका सीप सिकाउनु जरूरी हुन जान्छ ।  यसबाट उनीहरूलाई पेशागत प्रगतिका लागि थप आत्मविश्वास बढ्छ। दिगाे कृषि र ठूलाे क्षेत्र समेट्नका लागि सामूहिक खेती र साझेदारी मोडललाई प्रोत्साहन गर्नुपर्छ। किनकि ५–१० रोपनीमा काम गर्दा आय कम हुन्छ, तर २०–३० युवाले मिलेर सयौं रोपनीमा उत्पादन गरे आम्दानी र रोजगारी दुवै बढ्छ।

यसरी व्यवस्थित कृषि विकास भयो भने व्यक्तिगत स्तरमा एक जना युवाले मासिक ५० देखि ७० हजार रुपैयाँ सहजै कमाउन सक्छ। सामूहिक स्तरमा सयौं युवाले मिलेर करोडौंको उत्पादन गर्न सक्छन्। यसरी गाउँमा रोजगारी सिर्जना हुन्छ, युवा विदेश जानुपर्ने बाध्यता धेरै घट्छ, परिवारसँगै बस्ने वातावरण बन्छ, र यसबाट समाजमा आत्मनिर्भरता बढ्छ। नयाँलाइ प्रेरणा र प्राेत्साहन पनि प्राप्त हुन्छ ।

मुख्य सन्देशः

नेपालको भविष्य कृषिमा टेकेको छ। कृषि अब केवल परम्परागत पेशा मात्र रहनुहुँदैन, यो आधुनिक, उद्यमशिल र आत्मनिर्भर बन्न सक्ने व्यवसायकाे रूपमा विकास हुनुपर्छ। यसका लागि आधारभूत पूर्वाधार, सहुलियत ऋण, बजार सुनिश्चितता र प्रविधिको प्रयोगलाइ प्राथमिकता दिइनुपर्छ । जसबाट गाउँमै लाखौं रोजगारी सिर्जना गर्न सकिन्छ। युवाशक्ति विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न कृषि उद्यमशिलता नै दीर्घकालीन समाधान हो।

नेपालको भविष्य कृषि उद्यमशिलतामा टेकेको छ।
यदि सही नीति, पूर्वाधार र सहजीकरण भयो भने, गाउँमै बसेर युवाले मासिक लाखौं कमाउन सक्छन्, र देशमै लाखौं रोजगारी सिर्जना गर्न सकिन्छ।


 कृषि नै किन ?

  • खेतबारी बाँझो छन्

  • युवा विदेश पलायन बढिरहेको छ

  • गाउँमा वृद्धबृद्धा मात्र बाँकी रहने स्थिति छ ।
    👉 यसलाई उल्ट्याउने एक मात्र उपाय आधुनिक कृषि उद्यम हो।


 रोजगारी सिर्जनाका प्रमुख क्षेत्रहरू

  • फलफूल तथा नगदेबाली : कफी, अलैंची, एभोकाडो, कागती लगायत

  • तरकारीखेती : ग्रीनहाउस, टनेल, ड्रिप सिँचाइ

  • पशुपालन : दूध, मासु, अण्डा, माछा

  • भण्डारण/प्रशोधन उद्योग : दुग्धजन्य पदार्थ, चिया, जुस, अचार


👨‍🌾 ४ सफल उदाहरण

  1. गाेरखाका राजेन्द्र पन्त (कामधेनु गाइ फार्म, जसले साढे तीन सय भन्दा बढी गाइ पालन गरेका छन्) । जसले नेपालमा कृषि प्रतिकाे हेयभाव हटाउन र कृषिलाइ सम्मानित पेशाकाे रूपमा अपनाउनकाे लागि प्रेरणाश्राेतकाे रूपमा काम गरिरहेका छन् ।

  2.  विवेक राइ (इलाम) – चिया खेतीमा युवा उद्यमी
    • सूर्याेदय नगरपालिका–१०, इलाम

    • उपलब्धि: आधुनिक प्रविधि र दिगाे महत्वकाे चिया खेती गर्दै, आफ्नो आय २००% ले बढाएका छन्।

    • राइका ब्रान्डहरू: राइले उत्पादन एवं बजारीकरण गरेका “JHAKRI Gold” र “MUNDUM Orthodox Black” नामक २ ब्राण्ड बजारमा निकै लोकप्रिय भएका छन् । साथै उनकाे आफ्नो सफलताले गाउँका अन्य युवाहरूलाई प्रेरित समेत गरेको छ।

    2. प्रेम बहादुर सिंह ठकुरी (पाल्पा) – कफी व्यवसाय विदेश निर्यात

    • प्रेम बहादुर सिंह ठकुरी पाल्पाकाे रामपुर नगरपालिका-५, भाम्बाकका उद्यमी हुन् ।  उनले करिब ८ वर्षपहिले, केवल ५ रोपनीमा कफी खेती सुरु गरेका थिए। उनी अहिले एक टनभन्दा बढी प्रशोधित कफी उत्पादन गरी विश्वबजारमा पठाइरहेका छन्।
    • निर्यात: जापान, कोरिया, जर्मनी, UAE सहितका मुलुकमा निर्यात भइरहेको छ।
    • प्रशोधन: उनले आफ्नै घरमा प्रशोधन संयन्त्र स्थापना गरेका छन् । साथै Food Quality Control certification प्राप्त समेत गरेका छन् ।

    3. कमला अधिकारी (इलाम) – कफी खेतीबाट उदीयमान किसान

    • इलामकाे सलकपुर (नेपालकाे पूर्वी अन्तिम गाउँ)की कमला अधिकारीले शुरूवाती दिनमा २०–२५ कफी बिरुवा रोपिन् । उत्पादन प्राप्त भएकाे पहिलाे वर्ष नै उनले  ६५ किलाे कफी प्राप्त गरिन् । क्रमिक रूपमा उत्पादन बढ्दै गयाे । Caritas Nepal को NLRP-2 परियोजनाबाट तालिम र रु २५,००० अनुदान प्राप्त  गरेर उनी कृषि कर्ममा हाेमिएकी हुन् ।
      • व्यवसायलाइ बिस्तार गर्दै लैजाने क्रममा उनले थप ३०० थप बिरुवा रोपिन् । जसबाट उनी व्यावसायिक बन्न सकिन् ।

    • प्रभाव: आधुनिक खेती अभ्यास र राज्य वा सहयाेगी निकायकाे समर्थनले कृषि व्यवसाय कसरी बिस्तार गर्न सकिँदाे रहेछ भन्ने सिक्नका लागि नमुना पात्र ।

    •  यस्ता अन्य वास्तविक कथाहरू  छन् जुन लुकेर बसेका छन् । साथै कृषिलाइ प्रवर्द्धन गरेर यस्ता सयाैं/हजाराैं कथाहरू सृजना गर्न सम्भव छ । यदि नीतिगत सहजीकरण भयो भने।


🏛 नीतिगत तहबाट गर्नुपर्ने समन्वय

  • सस्तो ऋण र बीमा : २–३% ब्याजमा कृषकलाई ऋण, उत्पादन बीमा अनिवार्य

  • बिउविजन एवं उपकरण उपलब्ध
  • प्राविधिक सेवा
  • प्रशिक्षण र सीप : आधुनिक प्रविधि र व्यावसायिक खेती तालिम

  • बजार सुनिश्चितता : मूल्य स्थायित्व कोष, सहकारीमार्फत उत्पादन संकलन

  • स्थानीय–प्रदेश–संघीय समन्वय

    • स्थानीय : सहकारी, भूमि व्यवस्थापन

    • प्रदेश : प्रशोधन उद्योग, काेल्ड–स्टोर

    • संघीय : निर्यात प्रोत्साहन, राष्ट्रिय नीति

  • युवा लक्षित कार्यक्रम : ‘गाउँ फर्कौं, कृषि गरौं’ अभियान

निष्कर्ष

कृषि अब केवल परम्परागत पेशा होइन, यो आधुनिक, उद्यमशिल र भविष्य सुरक्षित गर्ने व्यवसाय बन्न सक्छ ।
युवाशक्ति विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न कृषि रोजगारी नै दीर्घकालीन समाधान बन्नुपर्छ ।

ग्रामीण अर्थतन्त्रले दिएको असर र चुनौती 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij