काठमाडाैं । एबीपी इनर्जी प्रा. लि. र सिद्धार्थ बैंक लिमिटेडबीच तादी घ्याङफेदी जलविद्युत आयोजना (८ मेगावाट)को विकासका लागि आवश्यक वित्तीय व्यवस्था गर्न औपचारिक रुपमा ऋण सुविधा उपलब्ध गराउनकाे लागि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सम्झाैतापत्रमा एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका तर्फबाट क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस आयोजनाकाे कुल अनुमानित लागत रू. १ अर्ब ६४ करोड छ । जसमध्ये ७५% अर्थात् रू. १ अर्ब २३ करोड बराबरको दीर्घकालिन ऋणबाट सञ्चालित हुनेछ भने बाँकी २५% हिस्सा लगानीकर्ताको इक्विटी (पुँजी) मार्फत जुटाइनेछ।
यस आयोजनाको विकास अनुभवी प्रवर्द्धकहरूको टोलीद्वारा गरिँदैछ । जसअन्तरगत अध्यक्षकाे भूमिकामा पूर्णलाल श्रेष्ठ हुनुहुन्छ । सञ्चालकहरूका रूपमा प्रविधि विज्ञ अस्कर अलि र नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघ (IPPAN)का महासचिव बलराम खतिवडा लगायत हुनुहुन्छ ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका क्षेत्रमा निर्माणाधीन तादी घ्याङफेदी जलविद्युत आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। आयोजनाको आवश्यक वाणिज्यिक सञ्चालन मिति (RCOD) २०८४ साल बैशाख ३१ गतेका लागि तोकिएको छ। आयोजना सञ्चालनका लागि विद्युत विकास विभाग (DOED) बाट अनुमति २०८१ साल असार ३१ गते प्राप्त भइसकेको छ भने, विद्युत खरिद सम्झौता (PPA) पनि २०८१ साल भदौ २७ गते सम्पन्न भइसकेको छ ।
एबीपी इनर्जी प्रा. लि. र सिद्धार्थ बैंक लिमिटेडबीचको यो सहकार्य नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
यसले दिगो ऊर्जा स्रोतको उपयोगमा टेवा पु-याउनुका साथै आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणाली बलियो बनाउने र नुवाकोट क्षेत्रको आर्थिक तथा स्थानीय विकासमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
३ हजार ९ सय मिटर पाइपलाइन रहेको यसके आयोजनाको ४ सय ४६ मिटर लामाे हेड रहेको छ । डिजाइन डिस्चार्ज २.२ क्युसेक छ । वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत् उत्पादन गर्ने यस आयोजनाले १ वर्षको २९ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण छ । आयोजनाबाट सुक्खायाममा १५.९७ गिगावाट आवर र वर्षामा ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने अनुमान गरिएकाे छ ।