काठमाडौँ, २० चैत – राष्ट्रपति रामचन्द्र पौडेलले हालै सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा पुनर्संरचना भएको रेडियो नेपाललाई नागरिकमुखी बनाउँदै आवाजविहीनहरूको प्रतिनिधित्व गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा योगदान दिन आग्रह गर्नुभएको छ।
रेडियो नेपालको ७५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले ‘आधुनिक नेपालको समावेशी आवाज’ भन्ने मूल नारासहित ‘राष्ट्रिय रेडियो, राष्ट्रिय सञ्चार’ को भावनाअनुरूप कार्यरत रेडियो नेपालले संविधानद्वारा प्रत्याभूत नागरिकको सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
लोकतान्त्रिक व्यवस्थाको आधारभूत तत्वका रूपमा रहेका सबै जातजाति, भाषा, संस्कृति तथा समुदायको अधिकार संरक्षण गर्दै कार्य गर्नुपर्नेमा जोड दिँदै उहाँले इन्टरनेट र प्रविधिको विकाससँगै समाचार सम्प्रेषणका माध्यम र शैलीमा आएको व्यापक परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो।
“दक्ष जनशक्ति तथा अत्याधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै रेडियो नेपालसहित सम्पूर्ण सञ्चारमाध्यमले आफ्ना सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ। सूचना प्रवाहलाई समयानुकूल परिमार्जन गर्दै अझ जिम्मेवार, विश्वसनीय र जवाफदेही बनेर काम गर्ने अपेक्षा राखेको छु,” राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij