काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा विभिन्न स्थानमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले ललितपुरमा टुकी बालेर प्रदर्शन गर्दै ‘नेपाललाई अन्धकारमा फर्किनबाट बचाउन’ कुलमानलाई पुनर्बहाली गर्नुपर्ने माग गरेका छन्।
बिहीबार साँझ ललितपुर लगायतका विभिन्न शहरहरूमा प्रदर्शन गर्दै उनीहरूले सरकारको निर्णयप्रति असन्तोष व्यक्त गरे। प्रदर्शनकारीहरूले ‘भ्रष्ट जलस्रोत मन्त्री राजीनामा दे’, ‘कुलमानले अन्धकार हटाए, सरकारले कुलमान हटाए’, ‘कुलमान हटाउन पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन’, ‘व्यापारीलाई पोस्न बन्द गर’, ‘बिचौलिया सरकार मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए।

सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठकमार्फत कुलमान घिसिङलाई हटाउने निर्णय गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको थियो। सो निर्णयले आम नागरिक तथा घिसिङ समर्थकहरूमा असन्तोष पैदा गरेको छ।
प्रदर्शनमा सहभागीहरूका अनुसार, कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले सुधार गर्दै देशभर लोडसेडिङ अन्त्य गरेको थियो। उनले गरेको सुधार र पारदर्शी व्यवस्थापनका कारण देशभर विद्युत वितरणमा सहजता आएको थियो। तर, सरकारको हालको निर्णयले मुलुक पुनः अन्धकारतर्फ धकेलिन सक्ने उनीहरूको आरोप छ।

विरोध प्रदर्शनमा नागरिक समाजका अगुवा, विद्युत प्राधिकरणका कर्मचारी, विद्यार्थी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणहरू सहभागी भएका थिए। उनीहरूले सरकारको निर्णयप्रति रोष व्यक्त गर्दै कुलमानलाई यथाशीघ्र पुनर्बहाली गर्न माग गरे।
यसअघि पनि विभिन्न स्थानमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै प्रदर्शनहरू भएका थिए। साथै, संसदमा समेत यो विषयमा बहस उठाइएको छ। सांसदहरूले प्रधानमन्त्रीसँग कुलमानलाई हटाउने निर्णयको कारण स्पष्ट पार्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारलाई पूर्वनिर्णय सच्याउन चेतावनी दिँदै अन्यथा आन्दोलनलाई अझै तीव्र बनाउने बताएका छन्। उनीहरूको भनाइमा, नेपाललाई आत्मनिर्भर बनाउने दिशामा अघि बढिसकेको ऊर्जा क्षेत्रलाई फेरी अन्योलमा पार्ने सरकारको निर्णय गलत छ।
समर्थकहरूका अनुसार, यदि सरकार आफ्नै निर्णयमा अडिग रह्यो भने सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij