२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो

सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो

घोराही (दाङ), २७ माघः दाङमा सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो ।

गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा जलाशय बनेको थियो । अहिले सोही जलाशय मानिसको मात्र नभइ स्वदेशी तथा विदेशी चराको आकर्षणको केन्द्र बनेको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरीले बताउनुभयो ।

यहाँ आगुन्तुक चरा आउने गरे पनि यसको संरक्षणका लागि सरकारीस्तरबाट पनि काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलाशय त बन्यो विदेशी चरा आएका छन्, यसको संरक्षण कसरी, कहाँ गएर गर्ने भन्ने अझै अन्योल छ ।” जलाशयबाट सिँचाइ गर्ने काम भए पनि चरा संरक्षणका लागि धेरै काम गर्न बाँकी रहेको उहाँ बताउनुहुन्छ ।

दाङका जलाशय, नदी तलाउमा चिसो छल्न र खानेकुराको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा आउँछन् । दाङमा पाइने चरा र आगन्तुक चराका बारेमा अध्ययन गर्दै आउनुभएका लालमणि रेग्मीले कृत्रिम जलाशय, सीमसारसँगै बबई नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिति लोभ लाग्दो रहेको बताउनुभयो ।

नेपालमा चीन, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया तथा कोरियालगायतका ठाउँबाट चिसो छल्न चरा नेपाल आउने गरेका छन् । तीमध्ये धेरैजसो चरा दाङका जलाशयमा भेटिन्छन् । चरा असोज तथा कात्तिकमा आइपुग्ने र बढीमा छ महिनासम्म बस्ने गरेको चरा विज्ञ चिरञ्जीवी खनालले बताउनुभयो । दाङमा २८ प्रजातिका जलपक्षी पाइने गरेको जलपक्षी तथा वन्यजन्तु संरक्षणकर्मी खनालले बताउनुभयो ।

घोराहीका नगर प्रमुख नरुलाल चौधरी कुनै समय सुकेका ठाउँमा पनि अहिले जलमग्न भएको बताउनुहुन्छ । कृत्रिम जलाशयले गर्दा चराको बासस्थान भएको उहाँको भनाइ छ । त्यसका कारण बाहिरी देशबाटसमेत उहाँ चरा आउने गरेका छन् ।

कृक्रिम ताललाई भोलिका दिनमा अझै प्रवद्र्धन गर्दै जलपक्षीको पनि संरक्षणमा लाग्ने उहाँ बताउनुहुन्छ । जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयले सिँचाइ, माछापालन, तरकारीखेती, फलफूलखेती समेत गरिरहेको उहाँको भनाइ छ । खासगरी सुक्खा हुँदै गएको घोराहीलाई जोगाउनसँगै सिँचाइ सुविधा पुगेको उहाँ बताउनुहुन्छ ।

घोराहीका विभिन्न वडामा अहिले ४० बढी जलाशय निर्माण गरिएको छ । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पु¥याउनेसमेत अपेक्षा गरिएको छ । नेपाल पंछीविद् सङ्घका अनुसार गत वर्ष गरिएको जलपक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८४ साना क्षेत्रमा ७९ प्रजातीका ६३ हजार ९०० जलपक्षी छन् । जानकारका अनुसार संसारमा चराका १० हजार प्रजाति छन् भने त्यसको झण्डै नौ प्रतिशत नेपालमा पाइन्छन् ।

ती चराको संरक्षण गरेर बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भए पनि नेपालमा जलपछीको गणनाबाहेक अरु काम हुन नसकेको विज्ञहरू बताउँछन् ।

  • रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij