दमौली (तनहुँ), २० चैतः तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ कार्यक्रमलाई अघि बढाउँदै विभिन्न स्थानमा पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकता दिएको छ। गाउँपालिकाका विभिन्न वडालाई पर्यटकीय गाउँका रूपमा विकास गर्ने उद्देश्यले यो अभियान थालिएको हो।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार, यो अभियानले पर्यटक आकर्षित गरी स्थानीय समुदायको आर्थिक र सामाजिक स्तर उकास्ने लक्ष्य लिएको छ। पहिलो चरणमा वडा नम्बर १ को गिरानचौर र वडा नम्बर ६ को हिलेखर्कलाई पर्यटकीय गाउँका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ। गाउँपालिकाले प्रत्येक छानिएका गाउँका लागि रु ४० लाख बजेट विनियोजन गरेको छ।
अध्यक्ष चुमानले स्मरण गराउँदै भने, “पहिले आँबुखैरेनीलाई पर्यटकीय पालिका भन्नुपर्दा धेरैलाई शंका लाग्थ्यो। धार्मिक स्थलहरूलाई पर्यटनको रूपमा विकास गर्न प्रयास गरिरहेका थियौं। अहिले भने आँबुखैरेनी धेरै पर्यटकीय सम्भावना बोकेको स्थान भएको प्रमाणित भइसकेको छ।”
धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले छिम्केश्वरी, अकला, आँधीमूल र पञ्चकन्या मन्दिरलाई मुख्य गन्तव्यस्थल बनाउने योजना बनाएको छ। पूर्वाधार निर्माणका हिसाबले वडा नम्बर २ को ऐनापहरालाई आरामस्थलका रूपमा विकास गरिएको छ।
ऐनापहरामा विभिन्न पूर्वाधार निर्माण गरी रोजगारी सिर्जना गर्दै गाउँपालिकाको आन्तरिक आम्दानीमा समेत वृद्धि गरिएको छ। ढुङ्गाका कृत्रिम आकृति तथा अन्य संरचना निर्माण गरी ऐनापहरा पार्क विकसित गरिएको छ। हाल पार्कमा टिकट प्रणाली लागू गरिएकाले चालु आर्थिक वर्षमा मात्र रु ६० लाखभन्दा बढी आम्दानी भएको गाउँपालिकाले जनाएको छ।
यसैगरी, मस्र्याङ्दी नदीमा कृत्रिम ताल निर्माण गर्दै मोटरबोट सञ्चालनको तयारी भइरहेको छ भने आँबुखैरेनी–१ को आँधीमूलमा पनि कृत्रिम ताल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। मूलको पानी जम्मा गरेर ताल निर्माण गर्ने कार्य जारी रहेको छ।
आँधीमूल प्रसिद्ध धार्मिक स्थल भएकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्दै यहाँ विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्ने योजना बनाइएको छ। १५ रोपनी क्षेत्रफलमा फैलिएको यो ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट छुट्याइएको छ। ताल निर्माणपछि पानीमा आधारित पर्यटकीय गतिविधिहरू सुरु गर्ने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij