काठमाडौं, ४ वैशाखः काठमाडौंको टोखा, झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (डलर र युरो) बरामद भएपछि पक्राउ परेका ट्रक चालकलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
सिन्धुपाल्चोकका ‘फुच्चे’ नामले चिनिने कुसाङ लामा नामका ट्रक चालकलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुनामा राख्न आदेश दिएको हो। लामालाई विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ अन्तर्गतका विभिन्न दफाहरू — ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दायर गरिएको छ।
बरामद गरिएको २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको विदेशी मुद्राको बिगो र जरिवानासमेत माग गरिएको छ।
यसै घटनामा संलग्न भनिएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ स्थायी बासिन्दा र हाल टोखा नगरपालिका–१० बसोबास गर्दै आएका नारायण पौडेल भने फरार छन्। उनीविरुद्ध पनि सोही मुद्दामा फरार प्रतिवादीको हैसियतमा मुद्दा दर्ता गरिएको छ।
चैत ४ गते राति प्रहरीको टोलीले ना ७ ख १६५२ नम्बरको ट्रकलाई टोखाबाट नियन्त्रणमा लिएको थियो। ट्रकको चालक सिट पछाडि फल्स बटम (गोप्य कक्ष) बनाएर ठूलो मात्रामा विदेशी मुद्रा चीनतर्फ लैजाँदै गरिएको सूचना पाएपछि प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij