२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

१७ औं दिनः ब्रह्माण्डले कसरी चामत्कारिक रुपमा धन उपलब्ध गराउँछ ?

१७ औं दिनः ब्रह्माण्डले कसरी चामत्कारिक रुपमा धन उपलब्ध गराउँछ ?

 

कृतज्ञता प्रकट गरेर जीवनलाई आफूले चाहे अनुसार बदल्ने अभ्यासको क्रममा आज हामी चामत्कारिक धन प्राप्ति बारे केही तथ्यहरु बुझ्नेछौं । यसले तपाईं हामीले प्रयाप्त धन कमाउन नसक्नुको पछाडिका केही मनोवैज्ञानिक कारणहरु खुलासा गर्नेछ ।

भनिएको छ, ब्रह्माण्ड आफैंमा जादुमय छ । यसको लागि न कुनै संयोगहरु हुन्छन् न त दुर्घटना नै ।

In the magical universe there are no coincidences and there are no accidents. Nothing happens unless someone wills it to happen.

William S. Burroughs (1914-1997,  Writer & Poet

हामीले छैठौं अध्यायमा नै ‘चामत्कारिक धनको बारेमा कृतज्ञता’ प्रकट सम्बन्धी अभ्यास गरिसकेका छौं । यस अध्यायमा धन प्रति पूर्ण विश्वास र कृतज्ञता व्यक्त गर्दा ब्रह्माण्डले हामीलाई कसरी चामत्कारिक रुपमा धन उपलब्ध गराउने सामथ्र्य राख्छ ? भन्नेमा व्याख्या गर्दैछौं ।

एकपटक विचार गरौं कि

के तपाईं हाम्रो जीवनमा हामीले चाहे जस्तो आर्थिक प्रगति गर्न सकेका छैनौं ?

के हामी आफू प्रशस्त धनसम्पत्तिका अधिकारी बन्न सक्दैनौं मानसिकताबाट निर्देशित छौं ?

के हामी धन हाम्रो लागि एउटै माध्यमबाहेक अन्य माध्यमबाट प्राप्त हुन सक्दैन भन्ने विश्वास राख्दै आएका छौं ?

यदि यी ३ ओटै प्रश्नको उत्तर हो भन्ने रह्यो भने सबैभन्दा पहिले हामीले धन सम्बन्धी आफ्नो मष्तिष्कमा सेट गरेका विगतका मान्यता- धारणा -परिभाषाहरुलाई बदल्नु जरुरी छ ।

आज सम्म हामी धन सम्बन्धी आफूलाई सीमित बनाउने विचारहरुबाट निर्देशित भइरह्यौं । अब हाम्रो आफ्नो मष्तिष्कीय बुझाईको दायरालाई फराकिलो बनाउने तर्फ केन्द्रित हुनैपर्छ । विचारको दायरालाई फराकिलो यसकारण बनाउनु जरुरी हुन्छ कि हामीले राम्रो आर्थिक प्रगति गर्नुछ । त्यो प्रगति आफ्नो लागि, समाजको लागि र राष्ट्रको उत्थानको लागि गर्नुछ । समाजका अन्य थुप्रै व्यक्तिहरुको प्रेरणा र सहाराको माध्यम बन्नुछ । नयाँ इतिहास रच्नुछ ।

यतिबेला हामीसँग २ ओटा विकल्प छन् । हर क्षण हामी विकल्पहरुको छनौट गरिरहेका हुन्छौं । हामी आफूले विगतमा सचेत वा अचेत रुपमा छनौट गरेका प्रत्येक विकल्पको परिणामका रुपमा हामी अहिलेको अवस्थामा आइपुगेका हौं । किनकि हामी कारण र परिणामको संसारमा छौं ।

यदि हामी अहिलेको आफ्नो अवस्थाबाट पूर्ण सन्तुष्ट छैनौं र थप अघी बढ्न चाहन्छौं भने हामीले आफ्ना छनौटहरु बदल्नुपर्छ । निराश बनेर जेनतेन जीवन निर्वाहको लागि हामी जन्मिएकै होइनौं । हामी जन्मनुको पछाडि विशेष कारण छ । यसकारण अब हामीले आफ्नो सोच र काम गर्ने तरिकामा बदलाव ल्याउन सक्यौं भने हामी आफूले चाहेको उचाईमा अवश्य माथि उठ्न सक्छौं ।

उमेरको हिसाबले जति बर्ष भएपनि सोच परिवर्तनको लागि ढिलाई भएको हुँदैन । हाम्रो समाजका थुप्रै व्यक्तिहरु अहिले यसकारण प्रतिष्ठित छन् कि उनीहरुले सोच बदले, काम गर्ने तरिका बदले । समाज जुन मान्यताबाट चलिरहेको थियो, त्यस मान्यतालाई धक्का दिने गरी नयाँ तवरले काम गर्ने तरिकाहरु पहिचान गरेर टे«ण्ड ब्रेक गरे ।

यदि कुनै काम अर्को व्यक्तिको लागि सम्भव हुन्छ भने त्यो काम तपाईं र मेरो लागि पनि सम्भव हुन्छ । अझ खुसीको कुरा त यो हुन्छ कि पहिले कसैले सम्भव गराएको काम गर्न हामीलाई कम मेहनत भए पुग्छ । प्रशस्त धन कमाउनु हाम्रो लागि पनि असम्भव कार्य होइन । मात्र हामीले त्यसका भौतिक, मानसिक र आध्यात्मिक नियमहरुलाई बुझ्न र व्यवहारमा लागु गर्न जरुरी हुन्छ ।

धन प्रतिको परम्परागत धारणा

यदि हामी प्रशस्तै धन कमाउन चाहन्छौं तर हामीले धन प्रतिको हाम्रो बुझाईलाई परम्परागत सोचबाट अघी बढाइरहेका छौं भने त्यो चाहना यथार्थमा सम्भवमा नहुन सक्छ । अहिले सम्म हामी कुन मान्यताबाट अघी बढेका रहेछौं भन्ने बुझेर आवश्यक रहेको खण्डमा नयाँ विधि अवलम्बन गर्न तयार भयौं भने अवश्य पनि हामी प्रशस्त धन कमाउन सक्नेछौं ।
हाम्रो धन उपार्जनको परम्परागत परिभाषाले भन्छ, ‘पैसा कमाउन कडा मेहनत गर्नुपर्छ, उच्च शिक्षा हासिल गर्नुपर्छ ।’ यदि त्यसो हो भने हामीले कडा मेहनतबाट सफलताको शिखरमा पुगेका व्यक्तिहरु खोजी गरौं ।

…………………………………………………….

……………………………………………………
……………………………………………………

सफलताको शिखरमा पुगेका सबैजसो व्यक्तिहरु कडा मेहनतको कारणले मात्रै त्यहाँ पुगेका छैनन् । उनीहरुले समयमा नै धन व्यवस्थापन, लगानी र धन वृद्धिका नियमहरु पहिचान गरेर आफूलाई त्यस दिशामा अनुशासित तवरले हिँडाएका छन् । मासिक रुपमा तलबको माध्यमबाट करोड पैसा आर्जन गर्नेहरु पनि आफूलाई सफल उद्यमी बनाउन नसकेको स्थिति छ । अर्को तर्फ उच्च शिक्षा हासिल गर्नेहरुको सङ्ख्या पनि बढिरहेको छ । र पनि उच्च शिक्षा हासिल गर्नेहरु अधिकांश आफ्नो जीवन सञ्चालनको लागि नै सङ्घर्ष गरिरहेका छन् । आर्थिक उपार्जनको हिसाबले उनीहरुको अवस्थामा पनि सुधार हुन सकिरहेको छैन । बरु मुद्रास्फिति लगायतका कारण जीवन झन् बढी चुनौतीपूर्ण बन्दै गएको छ । आखिर किन त ?

ब्रह्माण्डको नियम

मष्तिष्कको नियम र ब्रह्माण्डको नियम समान छ । अर्थात् मष्तिष्कीय नियम भन्नु नै ब्रह्माण्डीय नियम हो । जुन सरल छ, समान चिजले समान चिजलाई आकर्षित गर्दछ ।

हामीले विचार र भावनाको माध्यमबाट वास्तविक वस्तु प्राप्ति वा निर्माण गर्न सक्छौं । यसको लागि रचनात्मक परिकल्पनाको क्षमता आफूमा विकास गर्नुपर्छ । संसारमा उपलब्ध हरेक वस्तुहरु २ पटक निर्माण हुने गर्दछन् । अहिले हामीलाई जुन वस्तुहरु उपलब्ध छन्, ती सबै भौतिक रुपमा उपलब्ध हुनुभन्दा पहिले त्यसको ड्राफ्ट (खाका) कसैको सोच वा मष्तिष्कमा निर्माण भएकै कारण अहिले हामीलाई भौतिक रुपमा उपलब्ध भएका हुन् ।

 

धनी बन्नुमा मानसिकताको भूमिका

यदि हामी साँच्ची धनी बन्न चाहन्छौं भने हामीले आफ्नो मानसिकतालाई सोही अनुसार धन तर्फ केन्द्रित गर्नुपर्छ । हामी गरीबीको बारेमा सोचेर अथवा धन र धनी व्यक्तिहरुलाई घृणा गरेर धेरै पैसा आफूतर्फ आकर्षित गर्न सक्दैनौं । बरु धनीहरुको सङ्गतमा रहने, उनीहरुको प्रशंसा गर्ने, उनीहरुका तरिकाहरु सिक्ने ग¥यौं भने धन आर्जन थप बढाउन सक्छौं ।

धन बारे समाजबाट के सिक्यौं ? यी वाक्यहरु हेर्नुस् त ।

क. धन प्रतिका नकारात्मक धारणाहरु

हाम्रो समाजले धन कमाउनुलाई राम्रो नजरले हेर्दैन । यसकारण भनिन्छ कि

– धेरै धन कमाउनु पाप हो ।
– धनीहरु अरुलाई ठगेर धनी बनेका हुन् ।
– मान्छे मर्दा सबै धन छोडेरै त जानुपर्छ नि ।
– धेरै दुख किन गर्नु र ? जति धेरै कमायो, त्यति धेरै सरकारलाई कर बुझाउनुपर्छ ।
– भोलिका दिनमा जेसुकै होस्, देखा जाएगा । अहिले पो मजा लिनुपर्छ त ।

ख. धन आवश्यक पर्ने कारणहरु

अहिलेको समयमा पैसा नै सबथोक हो भन्नेहरु पनि छन् । यस भनाईलाई हाम्रा हरेक कामको लागि पैसा अनिवार्य बनिसकेको तथ्यले प्रमाणित गर्छ । व्यावहारिक, धार्मिक, सामाजिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, भविष्य सुरक्षा लगायत अधिकांश कामको लागि धनको भूमिका अपरिहार्य बनेको छ ।

माथिका पहिलो मान्यतालाई आधार मान्दा हामी आफूलाई पूर्ण क्षमतामा काम गर्नको लागि तयार बनाउँदैनौं । किनकि हामी सीमित मान्यताबाट निर्देशित भयौं । हामी जुन धरातलमा हुर्कियौं, त्यहाँ अरुको उपकारको लागि पनि हामीले काम गर्ने बारे सोच्नुपथ्र्यो, त्यो सोचेनौं ।

मष्तिष्कमा सृजना हुने द्वन्द्व

माथि उल्लेख गरिएका दुई मान्यताहरु आपसमा विपरीत मान्यताहरु हुन् । पहिलो मान्यताले धेरै धन कमाउन नहुने मान्यता राख्छ । जबकि दोस्रो मान्यताले धन अनिवार्य सर्त रहेको बताउँछ । हाम्रो मष्तिष्कमा हामीले दिएका यी दुई विपरीत मान्यताले आपसमा द्वन्द्व सृजना गर्दछ । यी दुई मध्ये कुन आदेशलाई स्वीकारेर परिणाम निकाल्ने भन्नेमा मष्तिष्क नै कन्फ्युज हुने गर्छ । जुन मान्यता बलियो हुन्छ, त्यसले जित्छ । हामीले धेरैजसो अवस्थामा चाहेको परिणाम पाएका हुँदैनौं, यसो हुनुमा हामीले मष्तिष्कलाई सही निर्देशन दिन नसक्नु पनि महत्वपूर्ण कारण रहँदै आएको छ ।

धन र ऊर्जाको नियम

धन पनि ऊर्जाका विभिन्न स्वरुपहरु मध्ये एउटा स्वरुप हो । ऊर्जा कहिल्यै नष्ट हुँदैन । यसलाई त केवल स्वरुप परिवर्तन मात्रै गर्न सकिन्छ । हामीले आफूसँग भएको ऊर्जाको भौतिक प्रकटीकरणको रुपमा सोही परिमाणमा धन प्राप्त गर्न सक्छौं भन्ने बुझ्नुपर्छ । हामी अधिक धन कमाउन चाहन्छौं भने हामी आफूमा अधिक ऊर्जा सञ्चय गर्न सक्नुपर्छ । यसको लागि हामीमा सकारात्मक मानसिकता पहिलो सर्त हुने गर्छ ।

आफ्नै परिभाषाको कैदी बनेका छौं

यदि हामी आफूलाई प्रयाप्त धनको हकवाला मान्छौं भने यसले हामीलाई अनेकौं माध्यम निर्माण गरेर हामी तर्फ धन उपलब्ध गराउँछ । यसको विपरीत आफूसँग धन उपार्जनको एक मात्र तरिका छ भन्ने मान्छौं र विश्वस्त हुन्छौं भने हामीले धन आर्जनका अन्य वैकल्पिक तरिकाहरुमा आफैंले ढोका बन्द गरेका हुन्छौं । यदि आफूलाई कङ्गाल र गरीब सोच्छौं भने अहिलेको अवस्था जेसुकै भएपनि हामी बिस्तारै त्यही बाटोमा हिँडिरहेका हुनेछौं । हामी मानवीय आवश्यकता असीमित रहेको र श्रोतसाधनहरु सीमित रहेको ठान्छौं भने त्यस्तै परिणाम सीमित परिणाम पाउनु अस्वभाविक हुँदैन ।

हाम्रो मष्तिष्कमा धन सम्बन्धी परिभाषा यसकारण बदल्नु जरुरी छ कि ब्रह्माण्डको नियम सीमाको नियम होइन । समृद्धिको नियम हो । यसमा हामी सबै मानिस र प्राणीहरुलाई बाँच्न चाहिने हरेक आवश्यकताहरु परिपुर्ति गर्ने सामथ्र्य छ । प्रकृतिमा श्रोतसाधन सीमित छ भनेर हामी मानव आफैंले मानेका हौं । प्रकृतिमा त हाम्रो लागि आवश्यक सबै स्रोतसाधनहरु प्रयाप्त मात्रामा उपलब्ध छन् । त्यसलाई ग्रहण गर्नको लागि आवश्यक शक्ति भने हामीमा हुनैपर्छ ।

अहिलेको विश्वव्यापीकरणको समयमा विश्वका एक ठाउँमा रहेका चीजवस्तुलाई संसारभर फैलाउन सक्ने वितरण सञ्जाल समेत हामीले विकास गरिसकेका छौं । यस्तो अवस्थामा विश्व नै हामी सबैको लागि आश्रयस्थल (एक घर) हो । हामी सबै आफन्त हौं, ‘वशुधैव कुटुम्बकम्’ भन्ने मान्यताबाट सबै उदार हुने हो भने कोही गरीब रहनुपर्दैन ।

ब्रह्माण्डले हामी माझ धन कसरी प्रवाहित गर्छ ?

विश्वमा शेयर कारोबार घट्दा, घरजग्गाको कारोबार न्यून हुँदा, समग्र अर्थतन्त्र ठूलो आर्थिक मन्दीबाट प्रभावित भइरहँदा होस् वा भूकम्प, नाकाबन्दी, लकडाउन बाढीपहिरो लगायतका विषम परिस्थिति सृजना हुँदा होस्, कुनै पनि परिस्थितिमा सबै मानिसहरुको आर्थिक अवस्था बिग्रिएको हुँदैन । त्यस्तै अवस्थामा कतिपय वर्गले आफूलाई अझ माथि उठाइरहेका हुन्छन् । यस्तै विपतको अवस्थाबाट एक साधारण मानिस असाधारण पहिचान बनाउन पुग्छ । थुप्रै अर्बपतिहरुले आफ्नो सम्पत्ति यस्तै अवस्थामा बढाइरहेका हुन्छन् । आखिर कसरी त ?

किनकि यसमा हाम्रो मष्तिष्कको मानसिकता अर्थात भावना धेरै हद सम्म जिम्मेवार हुन्छ । हाम्रो मानसिकताको आधारमा ब्रह्माण्डले हामीलाई अझ बढी सम्पत्ति उपलब्ध गराउने वा हामीसँग भएको सम्पत्ति खोस्ने भन्ने तय गर्छ ।

थप सम्पत्ति हामीसम्म आइपुग्ने माध्यम

नियमित आयको अलावा ब्रह्माण्डबाट धन हामीसम्म आउनको लागि अन्य थुप्रै माध्यमहरु हुन्छन् भन्ने हामीले बुझ्नुपर्छ । जस्तो कि आफूले लगानी गरेको कम्पनीको शेयर मूल्य बढ्न सक्ला, तलब वृद्धि, आकस्मिक लाभ, उच्च मूल्यमा सम्पत्ति बिक्री, व्यापारमा आकस्मिक वृद्धि, विमाबाट प्राप्त हुने दाबी भुक्तानी, कमिसन, बोनस, ब्याज आम्दानी, भाडा, उपहार, पुरष्कार, लक्की ड्र, छुट, सहुलियत योजना, प्रस्तावना स्वीकृति, कर फिर्ता, डुबेको सम्पत्ति फिर्ता, निःशुल्क यात्राको अवसर, हवाई टिकट प्राप्ति, विशेष प्रायोजन लगायतका विभिन्न माध्यम प्रयोग गरेर ब्रह्माण्डले हामी तर्फ सम्पत्ति पठाइरहेको हुन्छ । हाम्रो मानसिकता र ज्ञान तथा प्रस्तुती अनुसार कहिलेकाहीँ हाम्रो साधारण प्रस्तुतिले पनि लाखौं रकम बराबरको पुरष्कार हामीलाई मिल्न सक्छ । यस्ता विभिन्न संयोग कहिलेकाहीँ हामीहरु अधिकांशले अवश्य अनुभव गरेकै हौंला । आकस्मिक रुपमा हुने यस्ता घटना हामी मानसिक रुपमा सकारात्मक अवस्थामा रहेकै समय अनुभव हुने गर्दछन् । साथै सकारात्मक स्थितिमा रहँदा अनुभव गरेको सकारात्मक फ्रिक्वेन्सी बराबर नै कारण प्राप्त भएका हुन् । सामान्यतयाः हामी यसरी सृजना हुने आकस्मिक आर्थिक उपलब्धिलाई भाग्य चम्किएको भनेर बुझ्दै आएका हौंला । तर यो भाग्य चम्किएर भएको होइन । ब्रह्माण्डीय नियम नै छ कि समान चीजले समान चीज आकर्षित गर्दछ ।

हामीबाट सम्पत्ति कसरी खोसिन्छ ?

ब्रह्माण्डको लागि हामीसँग भएको सम्पत्ति खोस्नु पनि कुनै कठिन काम होइन । भूकम्प, बाढीपहिरो, चोरी, लुटपाट, आगलागी, सडक दुर्घटना, औषधी उपचार, आर्थिक कारोबारमा रोकावट, काम प्रति अल्छिपना, सीमित सोचाई, खराब खानपान लगायतका विभिन्न माध्यमहरु हामीसँग पैसा आउनमा रोकावट सृजना गर्ने एवं पैसा खोसिने अर्थात् नष्ट हुने माध्यमहरुको रुपमा हाम्रो लागि रहने गर्दछन् । अधिकांश यस्ता स्थितिहरु हामी चिन्ता, तनाव वा लामो समय नकारात्मक अवस्थामा रहँदा हामीले अनुभव गर्दै जान्छौं । एकपछि अर्को गर्दै सृजना हुने नकारात्मक घटनालाई हामीले दसा लागेको भनौंला । तर त्यो दसा नभई वास्तवमा हाम्रै मानसिकताको कारण सृजना भएको परिस्थिति हो भन्ने बुझ्न सक्यौं र त्यसका लागि विधिहरु अवलम्बन ग¥यौं भने हामी त्यस अवस्थाबाट छिट्टै बाहिर आउन सक्नेछौं ।

सारांश

हामीले कति धेरै धन आकर्षित गर्न सक्छौं भन्ने कुरा हामी आफूमा कति धेरै कृतज्ञता भाव जगाउन सक्यौं ? अरुको उपकारको लागि कति काम गर्न सक्यौं ? काम गर्ने क्रममा हाम्रो मानसिकता कस्तो रह्यो ? हामीले धनलाई कसरी परिभाषित गर्दै आयौं ? भन्ने जस्ता कुराहरुमा निर्भर गर्दछ । फराकिलो सोच, निरन्तर सकारात्मक भाव, अरुको प्रगतिमा खुसी, दान, क्षमाशिलता लगायतले पनि हामीलाई सकारात्मक अवस्थामा रहिरहन र धेरै सम्पन्नता हामी तर्फ आकर्षित गर्नमा विशेष भूमिका निर्वाह गरेका हुन्छन् । हामीले धनलाई भौतिक सम्पत्ति मात्र ठानेर आफूसँग भौतिक सम्पत्ति कम रहेकोमा दुख व्यक्त गर्नमा नभई आफू प्रशस्त सम्पत्तिको हकवाला भएको दावी गरेर निरन्तर सकारात्मक अवस्थामा रहन सक्यौं भने अवश्य पनि धन हामी तर्फ अझ बढी मात्रामा आकर्षित हुँदै जानेछ ।

एउटा प्रयोग

‘द म्याजिक चेक’ इन्टरनेटबाट डाउनलोड गरौं । त्यस चेकमा आफ्नो नाम, आफूले प्राप्त गर्न चाहेको रकम र समयावधि उल्लेख गरेर आफ्नो कोठामा टाँसौं । त्यो चेक बराबरको रकम आफूसँग अहिले नै उपलब्ध रहेको अनुभव गरेर आफूलाई बधाई दिउँ । अन्य व्यक्तिहरुबाट पनि धन्यवाद र बधाईं पाइरहेको अनुभव गरौं । हरेक दिन केही समय त्यस चेकलाई हेरेर आफू उक्त सम्पत्तिको अहिले नै मालिक रहेको अनुभव गरौं । अनन्त ब्रह्माण्डीय शक्तिलाई कृतज्ञता प्रकट गरौं । यस अभ्यासलाई केही हप्ता वा महिना निरन्तरता दिउँ ।

आजको अभ्यास

१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं ।
२. त्यो सूचीमा कृतज्ञता प्रकट गर्नको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।
३. केही दिन पहिले देखि हामीले दैनिक रुपमा प्रयोग गर्दै आएका हरेक वस्तुहरु प्रति सचेत रुपमा कृतज्ञता प्रकट गर्न शुरुवात गरेका छौं । यसलाई निरन्तरता दिउँ ।
४. ‘द म्याजिक चेक’ इन्टरनेटबाट डाउनलोड गरौं । त्यस चेकमा आफ्नो नाम, आफूले प्राप्त गर्न चाहेको रकम र समयावधि लेखौं । त्यो रकम प्राप्त हुँदा म के–के काम गर्नेछु, सबै सूचीहरु तयार गरौं ।
५. ‘द म्याजिक चेक’मा आफ्नो नाम, मिति र रकम उल्लेख गरेर आफ्नो कोठामा टाँसौं । हरेक दिन त्यो चेक हेरेर वा हातमा लिएर त्यस बराबरको रकम आफूसँग अहिले नै उपलब्ध रहेको अनुभव गरेर आफूले आफैंलाई बधाई दिउँ ।
६ . राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई

सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।

  • कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij