२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

हुम्लाको नाम्खामा ३९ वटा हिउँ चितुवा फेला

हुम्लाको नाम्खामा ३९ वटा हिउँ चितुवा फेला

काँक्रेविहार (सुर्खेत), २६ चैत — डिभिजन वन कार्यालय हुम्लाको पहलमा उकाली तथा तेस्रो ध्रुव संरक्षण संस्थाले गरेको अध्ययनअनुसार हुम्लाको नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ हिउँ चितुवा फेला परेका छन्।

यो अनुसन्धान सन् २०२२ देखि २०२३ सम्मको अवधिमा ‘क्यामेरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरी गरिएको थियो। सहायक वन अधिकृत बाबुलाल बम्जनका अनुसार नाम्खा गाउँपालिकाको उत्तरी क्षेत्रमा यति ठूलो संख्यामा हिउँ चितुवा भेटिनु एक महत्वपूर्ण उपलब्धि हो।

हिउँ चितुवा विशेषज्ञ रिन्जिन फुन्जोक लामाले अध्ययनको क्रममा ६१ वटा क्यामेरा जडान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, सिमीकोटबाट पाँच दिनको पैदल यात्रा गरेर लिमी हुँदै हिउँ चितुवा पाइने दुर्गम स्थानहरूमा पुगेर अनुसन्धान गरिएको थियो।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवा गणनाको काम सम्पन्न भएको पुष्टि गर्दै अब संरक्षणका लागि विशेष योजना बनाइने बताउनुभयो। माथिल्लो डोल्पामा पनि हिउँ चितुवा पाइएका कारण हुम्लामा समेत हुने अनुमानका आधारमा गणना सुरु गरिएको थियो।

सहायक वन अधिकृत बम्जनका अनुसार हालको अध्ययन केवल नाम्खा गाउँपालिकाभित्र सीमित छ। उहाँले थप जानकारी दिँदै भन्नुभयो, “सरकारले सन् २०२४ देखि २०३० सम्म हिउँ चितुवाको संरक्षण र गणनालाई विशेष प्राथमिकता दिएको छ।”

चीनको तिब्बत स्वशासित क्षेत्रसँग सीमा जोडिएको नाम्खा गाउँपालिकामा कुल पाँच वटा वडा छन्, र यसको क्षेत्रफल करिब २,४१९.६४ वर्ग किलोमिटर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij