२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

हकप्रद जारी नगरी लाभांशबाटै २० अर्ब पुँजी पुर्‍याउने याेजनामा नेपाल रि इन्स्याेरेन्स

हकप्रद जारी नगरी लाभांशबाटै २० अर्ब पुँजी पुर्‍याउने याेजनामा नेपाल रि इन्स्याेरेन्स

काठमाडाैं । नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीले लाभांश वितरण गरेर पुँजी वृद्धि गर्ने याेजना बनाएकाे छ । नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउन कम्पनीले लाभांश (बोनस) सेयर वितरण गर्ने योजना बनाएको हाे ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बोनस सेयरबाट नै २० अर्ब पुँजी पुर्‍याउने योजना रहेको बताए । ‘पुँजी वृद्धिको योजना मन्त्रालयमा छलफलको अन्तिम चरणमा छ, एक/दुई दिनमा स्वीकृत भएर आउँछ, लाभांश (बोनस सेयर) वितरण गरेर २० अर्ब पुँजी पुर्‍याउँछौं,’ अध्यक्ष अर्यालले भने । साथै, अर्थमन्त्रालयमा पेस गरेको पुँजी वृद्धिको योजनाबारे बीमा प्राधिकरणलाई समेत जानकारी गराइएको उनको भनाइ छ । तर, पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने योजना कम्पनीको नरहेको उनले बताए ।

नेपाल पुनर्बीमाको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । अध्यक्ष अर्यालले भनेर अनुसार यदि बोनस सेयर वितरण गरेर २० अर्ब पुँजी पुर्याउने हो भने कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको लाभांश दिनु पर्ने देखिन्छ ।

प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई २० अर्ब पुँजी पुर्याउन योजना पेस गर्न १५ दिनको समय दिएको थियो । नेपाल रिइन्स्योरेन्सले भने थप १५ दिनको समय मागेको थियो । २ महिना हुँदा पनि कम्पनीले पुँजी वृद्धिको योजना प्राधिकरणलाई पेस गर्न सकेको छैन ।

‘कम्पनीले पुँजी वृद्धिको योजना मन्त्रालयमा पठाइसकेको तर सहमति आउन बाँकी रहेको छ,’ पुनर्बीमा कम्पनीका अध्यक्ष अर्यालले भने । स्रोतका अनुसार पुँजी वृद्धिका लागि मन्त्रालय सकारात्मक नरहेकाले कम्पनीको फाइल रोकेर राखेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार नेपाल पुनर्बीमाले हालसम्म पुँजी वृद्धिको योजना पेस गरेको छैन । मन्त्रालयको सहमतिपछि मात्रै योजना पेस गर्ने पत्र पुनर्बीमा कम्पनीले पठाएको कार्यकारी निर्देशक पौडेल बताउँछन् । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij