
उद्योग बचाउन विशेष कदम आवश्यक
राज्यले नेपाल सरकारले लकडाउन बीच पनि उत्पादनमूलक उद्योगहरुलाई सञ्चालन गर्ने वातावरण मिलाउनुपर्छ । कोरोनाबाट हामी सुरक्षित रहनुपर्छ । संक्रमण नफैलियोस् भनेर हामी सबै सचेत रहनुपर्छ । यसमा हाम्रो अर्को मत छैन । तैपनि सुरक्षा विधिहरु अपनाएर उद्योग सञ्चालन गर्नुको विकल्प पनि हामीसँग छैन ।
सावधान ! अवैधानिक व्यवसाय फस्टाउन सक्छ
नेपाल सरकारले मुलुकको जटिल परिस्थितिलाई विचार गर्दै लकडाउन गरेको हो । लकडाउन भएको पनि २ महिना भइसक्यो । यस अवधिमा उद्योग खोल्न नसक्दा मुलुकको राजस्व र रोजगारी सृजनामा समेत निकै नै असर पुगेको छ । यति मात्र होइन, लकडाउनको कारण नेपालमा अन्य वस्तुहरु जस्तै मदिराको माग समेत घटेको छ । यसको अलावा मापदण्ड नपुगेका अवैधानिक घरायसी मदिरा उत्पादनलाई प्रोत्साहन मिलेको छ । घरायसी मदिरा उत्पादन कार्यमा केही विषाक्त पदार्थहरु समेत प्रयोग हुने गर्दछ । त्यसबाट मानवीय स्वास्थ्यमा निकै नराम्रो असर पर्ने गर्दछ । यसकारण मदिराको अवैधानिक कारोवार नियन्त्रण गर्नको लागि समेत दैनिक निश्चित समय मदिरा पसल खुल्ने व्यवस्था गर्ने र उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुको विकल्प छैन ।
सिजनमै शून्यमा झरेको छ कारोवार
नेपाल सरकारले लकडाउन कायम राखिरहँदा मदिरा उद्योगको कारोवार शून्यमा झरसञ्चालन गर्ने भन्ने सम्बन्धमा अहिले सम्म कुनै निर्णय गर्न सकेको छैन । अहिले हाम्रो व्यापार शुन्यमा झरेको छ । २ महिना भन्दा बढी समय नाघ्दा समेत मदिरा सम्बन्धमा राज्यले कुनै व्यवस्था नगर्दा हामीले व्यापारको राम्रो सिजन गुमाएका छौं ।
लकडाउन पहिले सम्म नेपालमा मदिराको कारोबार प्रत्येक बर्ष बढ्दो थियो । अघिल्लो बर्ष यही बैशाख महिनामा नै झण्डै ५ अर्ब रकम बराबरको मदिराको कारोवार हामीले गरेका थियौं । यसमा वियरको कारोबार समेटिएको छैन । साथै राज्यलाई राजस्व संकलनमा मदिरा क्षेत्रको ठूलो सहयोग छ । चुरोट र मदिरा क्षेत्रबाट गरी विगतमा करिब ३९ प्रतिशत योगदान पुग्दै आएको तथ्यलाई विचार गर्दै तत्काल आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेर उद्योग खोल्ने तर्फ राज्यको ध्यान जानु जरुरी छ ।
अहिले उद्योग चलायमान बनाउन सकिएन भने हाम्रो अर्थतन्त्र चलायमान हुन सक्दैन । जसले गर्दा हाम्रो मुलुकको समग्र आर्थिक स्थिति दीर्घकालिन रुपमा उठ्नै नसक्ने अवस्थामा पुग्न सक्छ । यसलाई पनि विचार गर्नुपर्छ ।
नेपालभर ८० ओटा मदिरा उद्योग सञ्चालनमा
नेपालमा मदिरा उद्योगबाट निकै रोजगारी सृजना हुँदै आएको छ । यस क्षेत्रमा ठूलो लगानी आवश्यक पर्छ । अहिले नेपालमा मदिरा उत्पादन कार्यमा ८० ओटा उद्योगहरु संलग्न रहँदै आएका छन् । ती उद्योगमा बजार व्यवस्थापन, फ्याक्ट्री, प्रशासन लगायत शाखाहरुको अलावा मदिरा पसलमा समेत काम गर्ने कर्मचारीहरु सहित नेपालमा निकै ठूलो मात्रामा रोजगारी सृजना एवं स्वरोजगार बन्न यस क्षेत्रले योगदान पुर्याउँदै आएको छ ।
बजेट र नीतिमा भर पर्छ हाम्रो भविष्य
अबका दिनमा मदिरा व्यवसाय कुन अवस्थामा जान्छ भनेर अहिले नै यसै भन्न सकिने अवस्था छैन । यो नेपाल सरकारले अब तत्काल घोषणा गर्न लागेको बजेटमा समेत निर्भर हुनेछ । राज्यले मदिरा एवं चुरोट जस्ता वस्तुहरुमा थप राजस्व नबढाउने हो भने हाम्रा उद्योगहरुको अवस्थामा केही सुधार हुन सक्ला तर राज्यले थप राजस्व बढाउने हो मदिरा उद्योग नाफामा जान सक्ने अवस्था रहँदैन । लामो समय बन्द कायम रह्यो भने धराशयी नै हुने अवस्था समेत आउन सक्छ । यसबाट न राज्यलाई राजस्व प्राप्त हुन्छ, न रोजगारी र कर्मचारीको सेवासुगिवालाई निरन्तरता दिन सकिन्छ । यसमा राज्यले विशेष ध्यान दिँदै थप आर्थिक भार नपर्ने गरी बजेट सार्वजनिक गर्नुपर्छ ।
राज्यले कर्मचारीको स्वास्थ्य परीक्षणलाई सर्वव्यापी बनाई परीक्षण पश्चात् सहजै उद्योगमा आवद्ध भई काम गर्ने व्यवस्था गर्नुपर्छ । उद्योगमा रहँदा उनीहरुलाई आवश्यक सुरक्षा विधि सहित भित्रै रहेर काम गर्न सक्ने प्रबन्ध मिलाई सामाजिक दूरी कायम गरेर काममा खटाउनुपर्छ ।
उपयुक्त समाधान आवश्यक
नेपालमा मदिरा उद्योगमा निकै ठूलो रकम लगानी भएको छ । निरन्तर रुपमा यसरी नै लकडाउन गरिरहने हो भने हामी माथि उठ्नै नसक्ने अवस्था आउन सक्ने कुरालाई विचार गर्दै जटिलता बीच राज्यले उपयुक्त व्यवस्था गर्नेछ भन्नेमा हामी आशावादी छौं । राज्य भित्र सञ्चालनमा रहेका र राज्यका नीतिहरु अबलम्बन गर्दै आएका उद्योग बचाउने दायित्व राज्यको पनि हो ।
उद्योग आंशिक रुपमा सञ्चालन गर्न सकिने
हामीले सञ्चालन गरेको यति डिष्ट्रिलरी पूर्ण क्षमतामा सञ्चालन हुँदा करिब साढे चार सय कर्मचारीहरु आवश्यक रहन्छन् । तर यति बेला पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न सकिने अवस्था छैन । यस्तो अवस्थामा जतिसक्दो न्यून कर्मचारी परिचालन गरेर उद्योग सञ्चालन गर्नु जरुरी छ ।
अन्त्यमा,
राज्यले कर्मचारीको स्वास्थ्य परीक्षणलाई सर्वव्यापी बनाई परीक्षण पश्चात् सहजै उद्योगमा आवद्ध भई काम गर्ने व्यवस्था गर्नुपर्छ । उद्योगमा रहँदा उनीहरुलाई आवश्यक सुरक्षा विधि सहित भित्रै रहेर काम गर्न सक्ने प्रबन्ध मिलाई सामाजिक दूरी कायम गरेर काममा खटाउनुपर्छ ।
साथै राज्यले मदिरा विक्रीवितरणलाई सहज बनाउनुपर्छ । यस्तो व्यवस्था हुन सकेन भने घरायशी मदिरालाई थप प्रवद्र्धन मिल्नेछ । जुन मानवीय स्वास्थ्य र राज्यको लागि नोक्सानी हो । राज्य यसप्रति सचेत रहनुपर्नेमा हामी आग्रह गर्दछौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij