धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम दिउँसो गर्ने कुराकानी भए पनि समय भने निर्धारण हुन बाँकी रहेको जानकारी दिए ।
उनकाअनुसार दिउँसो ३ वा ४ बजेतिर कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ । नवनियुक्त मुख्यमन्त्रीसँगको परामर्शपछि समय निर्धारण गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij