१)
दिल भित्र मेरो नाम केरेर के पायौ।
देखावटी अङ्गालोमा बेरेर के पायौ।
हुनु रहेछ टाढा र त बनायौ बहाना
देखाउँदै रिस र गाली गरेर के पायौ ।
२)
तिम्रो निम्ति मेरो माया सस्तो हुँदो रहेछ।
भनिदेऊ बिर्सिने उपाय कस्तो हुँदो रहेछ।
बुझ्दैछु मतलबी हुनुको कारणहरु आज
व्यर्थै म तिम्रो पिछा गरे जस्तो हुँदो रहेछ।
३)
बिना अर्थ धड्किने धड्कन सम्हालिदेउ।
अनि पल पल अत्तालिने मन सम्हालिदेउ
न यता न उता हुँदैछ मेरो जिन्दगी अचेल
खुसी दिउँला बदलामा जिवन सम्हालिदेउ।
४)
कसैसङ्ग मिठा मिठा बात मिल्यो होला।
जुनि जुनि नछुटिने साथ मिल्यो होला ।
धपक्क बलेकी रुपमती अनि खानदानी
र त कहिल्यै नबिर्सने याद मिल्यो होला।
५)
हाँछ्यु साँछ्यु कोरोना फाल्नु पर्छ रे।
अस्ति नै झरेको कालो तिलक टाल्नु पर्छ रे ।
पिएर पानी कोरोना उडाउ भन्छ ओलि बा
ए अँ साँच्चै हल्का बेसार पनि हाल्नु पर्छ रे।
६)
धड्कन भइदेउ म तिम्रो सास भइदिउला।
अनगिन्ती सपनाहरुको खास भइदिउला ।
बसन्तको फूल झैँ सुगन्ध छर्किर्दै हराबरा
जिवन भर हरियाली मधुमास भइदिउला ।
७)
तिता मिठा प्रेमका कुरा ल्याउछु अरे।
चाहिने जति सामन पुरा ल्याउछु अरे।
मलाइ बेहुली बनाइ भित्र्याउन उसले
सिंदुर पोते र रातो चुरा ल्याउछु अरे।
मुसि
थाहा नगर मकवानपुर
हाल साइप्रस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij