२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सार्क स्याटेलाइटकाे अधिकार नेपालले पायाे

सार्क स्याटेलाइटकाे अधिकार नेपालले पायाे

 

अबको झण्डै ४ महिनापछि भारतले प्रक्षेपण गर्न लागेको सार्क स्याटेलाइटमा नेपाललाई पनि निश्चित स्पेस उपयोगको अधिकार दिने अाशय सहित  भारतले स्याटेलाइट प्रयोगका लागि आवश्यक पूर्वाधार बनाउन नेपाल सरकारलाई अनुरोध प्रस्ताव पत्र पठाएको छ।

स्पेस टेक्नोलोजीमा बलियो बन्दै गएको भारतले नेपालका लागि हिस्सा छुट्टाउँदै उसको स्याटेलाइट प्रयोगका लागि आह्वान गरेको छ । स्याटेलाइटमा प्रयोगको अधिकार दिन लागिएको बारे औपचारिक जानकारी दिँदै भारतले नेपाल सरकारलाई पत्र नै लेखेको हाे । भारतले पत्रमा नेपाललाई स्याटेलाइटको एउटा ट्रान्सपोण्डर प्रयोग गर्न दिने उल्लेख गरेको छ । यो झण्डै ३६ मेगाहर्जको हो । अब यसका लागि नेपालले भारतले स्याटेलाइट मार्फत दिने व्याण्डविथ कसरी प्रयोग गर्ने भन्ने टुंगो लगाउनुपर्नेछ ।

नेपालले अन्तरिक्षमा आफ्नै स्याटेलाइट राख्ने तयारी गरिरहँदा भारतले ‘सार्क स्याटेलाइट’ उपयोगको अधिकार दिने आश्वासन सहितको पत्र पठाएको बताइएकाे छ।

भारतको विदेश मन्त्रालयले लेखेको पत्र सूचना तथा सञ्चार मन्त्रालयमा आइपुगेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ०७१ सालमा काठमाडौंमा सार्क शिखर सम्मेलन हुँदा ‘सार्क स्याटेलाइट’ दक्षिण एशियाली मुलुकहरुले संयुक्त रुपमा प्रयोग गर्ने घोषणा गरेका थिए । भारतले यो स्याटेलाइट प्रक्षेपण गर्न अन्तिम तयारी गरिरहेको छ । इन्डिया स्पेश रिसर्च अर्गनाइनेशन (इसरो)ले सार्क स्याटेलाइटको तयारी गरिरहेको छ ।

यो स्याटेलाइट मार्फत दिइने ३६ मेगाहर्ज व्याण्डविथ नेपालका लागि निकै उपयोगी हुन सक्ने दुरसञ्चारसम्वद्ध अधिकारीहरु बताउँछन् । अब नेपालले स्याटेलाइटबाट ब्याण्डविथ रिसिभ गर्न ग्राउण्ड स्टेशन बनाउनुपर्नेछ । ग्राउण्ड स्टेशनमात्रै होइन, स्याटेलाइट उपयोगको क्षेत्र पनि तत्काल पहिचान गर्नुपर्नेछ । त्यसपछि भिस्याट प्रविधिहरु त्यसैअनुसार सम्बन्धित क्षेत्रमा जडान गर्नुपर्नेछ ।

विशेष गरी ग्रामीण क्षेत्रलाई इन्टरनेटसँग जोड्न भारतले स्याटेलाइटमा दिने अधिकार निकै उपयोगी हुन सक्ने देखिएको छ । हेल्थपोष्ट, विद्यालय, लगायतमा इन्टरनेट पुर्‍याउन पनि यसको उपयोग गर्न सकिने विज्ञहरुले औंल्याएका छन् । ‘सरकारले छिटो स्याटेलाइट उपयोगको क्षेत्र पहिचान गरेर पूर्वाधार निर्माण गर्नतर्फ लाग्नुपर्छ’ एक दूरसञ्चार अधिकारी भन्छन्- ‘भारतले पत्र नै लेखेर भनेपछि तयारी गर्न ढिलाइ गर्नुहुन्न ।’

भारतले आफ्नो पत्रमा ग्राउण्ड स्टेशन निर्माणका लागि प्राविधिक सहयोग पनि गर्ने बताएको छ । त्यसैले यसलाई उपयोग गर्ने गरी नेपालले स्याटेलाइट प्रयोग गर्न योजना बनाउनुपर्ने विज्ञ बताउँछन् ।

आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढाएको नेपाल दूरसञ्चार प्राधिकरणले भारतले दिने यो मौकालाई सिक्ने र जान्ने अवसर पनि मानेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij