लाहुरेको छोरो म सलक्क हेर्दा पनि खाइलाग्दो र पढाइमा पनि अब्बल नै थिएँ ।
तनहुँ रिसिङ रानीपोखरी पल्टयाङमा अवस्थित श्रीशान्ति निकेतन प्रा.वि.का छात्रछात्राहरु मध्ये म र मेरा प्यारा साथी पदम कुमार श्रेष्ठ बीच परिक्षामा प्रथम काे हुने भन्नेमा तँछाडमछाड नै हुन्थ्यो ।
खै, ती प्यारा साथीहरू अहिले कता छन्, थाहा छैन । ती साथीहरू सित कपडाको भकुण्डाे बनाइ खेलेको र स्कुल मुनि दमैगेडि टिपेर खाएको लगायतका थुप्रै घटनाहरू भने अझै पनि मानसपटलमा ताजै छन् ।
पढाइमा राम्रै भएकोमा सरहरु र साथीहरूको माया राम्रै पाइन्थ्यो । शिक्षकको प्यारो भइन्थ्यो। समय त्यसताका को हो। स्कुल जाने उमेर ढिलै हुन्थ्यो । हामी पनि उमेर पुगेको हुनाले कतिपय ठुल ठालाले गरेको क्रियाकलाप राम्रै बुझ्ने भैसकेका थियौं । म कक्षा २ मा पढ्थें । कक्षा २ को बार्षिक परिक्षा तीन महीना अगाडी हाम्रो मात्रै हाम्राे विद्यालयमा नयाँ हेड सर आउनुभएकाे थियाे । उहाँकाे नाम बल बहादुर थापा थियो । उहाँ एसएलसि पास गरि हेडसर भएर आउनुभएकाे थियो । त्यसताका अत्यधिक चलेको बेल बटम पाइन्ट र लामो कलर भएको कमिजमा सज्जिएर उहाँ विद्यालय आउँदा हामी दङ्ग पर्थ्याैं । गाउँलेहरु पनि छक्क पर्थे। रोधीका तरुनीहरु अगाडी-पछाडि तँछाडमछाड गरेको पाइन्थ्यो । उनको ठाँट देखेर मलाई पनि पढ्नु पर्दोरहेछ , यस्तै राम्रो मान्छे बन्न सकिन्छ भन्ने लागेर पढाइमा झन रूचि बढ्न लाग्यो ।
एक बर्ष उनकै सामिप्यमा रहेर पढियो। कक्षा ३ पछि बाँकी शिक्षाको लागि ३/४ घन्टा हिँडेर रिसिङ शिव माविमा धाउनुपर्थ्यो। तीन कक्षाको बार्षिक परिक्षाको परिक्षाफल प्रकाशित भइसकेको थियो । त्यसै बखत बुबा ईन्डियाबाट छुट्टिमा आउनु भयो। आफ्नो इच्छा पूरा गर्न ईन्डिया गएर पढ्ने अठोट गरेँ । काखको कान्छो छोरालाइ आमाले पठाउनु मान्नुभएन। तर मेरो जिद्दीकाे अगाडी उहाँकाे केहि चलेन। बल्लतल्ल अनुमति पाइयो।
त्यसताका ईन्डिया जान मुग्लिन-नारायणगढ सडक बनेको थिएन । नौबिसे बाइराेड भएर नारायणगढ निस्कनुपर्थ्यो। तर बाउ छोरा बैदी कोटा हुँदै पैदल गैंडाकोट तिर लाग्याैं। डुँगा चढेर नारायणगढ तिर लागियाे। उर्लिएको नारायणीको भेलले डुँगा पल्टियर सारा सपना त्यहीँ समाप्त हुन्छ कि भन्ने जस्तो लाग्थ्यो । तर इच्छाको अगाडी डर पनि भुलिँदाे रहेछ। भेल पार गरि अर्को किनार पुगेको थाहा नै भएन । त्यो समय ताका स-साना झुपडि मात्र थिए नारायणगढ बजारमा। त्यही झोपडिमा खाना खाएपछि वीरगंज हुँदै रक्साेेेल अनि बाले काम गर्ने थलो पुगियो। हुनेखानेले बहादुर तेरो छोरालाई मेरो घरमा काम गर्न पठाइ दे भन्थे तर, बाले पढाउन ल्याएको हो भन्नुहुन्थ्यो ।
एक हप्ता पछि तेहि कम्पनी द्वारा संचालित स्कुलमा भर्ना गरिदिनुभयो । हिन्दी बोल्न नजान्ने ठिटाे केही समय पछि त नेपाली बोल्दा पनि अकमकाउने भइसकेछु। पढाइमा छ्लाङ मार्दै तिनवटा सेक्सनमा प्रथम हुने भएकोले सरहरु र साथीहरूको प्यारो नै भइयो। मेेट्रिक अनि आइएस्सी पास भएपछि इन्जिनियर बन्ने धोकोले तैयारि शुरुआत गरियो । तर उचित मार्गदर्शनको अभावले प्रयास गर्दागर्दै पनि इन्जिनियरिङ प्रवेश परिक्षा दिन वन्चित भइयो। त्यहाँको नियममा कि त भारतीय नागरिक हुनुपर्ने रहेछ कि त नेपाली एम्बेस्सीले सिफारिस गरिदिनुपर्ने रहेछ।
एम्बेस्सीमा पहुँच नहुनुले इन्जिनियर बन्ने धोको तुहियो। त्याे शिक्षा पछि ईन्डियामा नाेकरीको लागि पहुँच नभएकोले आफ्नै देशमा जागिरको सपना बोकि मातृभुमीमा फर्केँ। यहाँ जागीर पाउना कि आफ्नै ठुला मान्छे हुनुपर्ने कि चाप्लुसि गर्नुपर्ने । म त्यतिबेला पहुँच नभएको मान्छे । यहाँ कसरी पाे जागिर पाउनु। म त कुहिरोको काग जस्तै भएँ।
त्यसताका भर्खर बहुदलीय व्यवस्था आएकोले आफ्ना कार्यकर्तालाई जागिरे बनाउने लर्को नै चलेको रहेछ। गणित र बिज्ञान शिक्षकको देशभरि नै अभाव रहेछ। तर पनि सदरमुकाम र सहज ठाउँ भन्दा दुर्गम ठाउँमा जान नमान्दा रहेछन् । मलाई कान्हु शिवपुर मा.वि.मा जान मनाइयो। माविको गणित र विज्ञान शिक्षक सबैको ध्यान मै तिर । दुई बर्ष बितेकै पत्तै भएन। त्यसै समय माओवादी आन्दोलन चर्कियो। सिधासाधालाई त ज्यान जोगाउनै गाह्रो भयो । ज्यान बचाउन र राम्रो जागिरको आशा बोकेर दमौलिबाट रु ५० तिरेर रात्रिबसमा राजधानी छिरियो।
यो सपनाको सहरमा कसको को हुनु र ? यसरि सङ्घर्श गर्दागर्दै आधा उमेर कटिसकेछ। इन्जिनियर त बन्न सकिएन। तर अहिले भने विद्यालय संचालक भएर डाक्टर र इन्जिनियर उत्पादन गर्ने काममा संलग्न हुन पाउँदा पनि खुसी नै लागेकाे छ ।
(पदम आरडि तारकेश्वर स्थित टाइम्स एकेडेमीका सञ्चालक हुन् ।)