
मकवानपुर उद्योग वाणिज्य संघले यही पौष १५ देखि १७ गते सम्म ३ दिन ५१ औं बार्षिक साधारणसभा कार्यक्रम आयोजना गर्दैछ । यस बर्षको साधारणसभाले उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति समेत चयन गर्नेछ । यससँगै अहिले मकवानपुरका उद्योगी व्यवसायीहरु चुनावी दौडधुप र भेटघाटमा आफूलाई व्यस्त बनाइरहेका छन् ।
अब हुन लागेको साधारणसभा मार्फत नयाँ कार्यसमिति समेत चयन हुने गरी हुन लागेको परिप्रेक्ष्यमा ४ जना उद्योगी÷व्यवसायीहरु अध्यक्ष पदको निम्ति चुनावी दौडमा छन् ।
वर्तमान अध्यक्ष राज कुमार न्यौपाने यस पटक पनि उद्योग वाणिज्य संघको निर्वाचनको निम्ति चुनावी दौडमा हुनुहुन्छ भने वाणिज्य उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले पनि निर्वाचनमा अध्यक्ष पदकै निम्ति उम्मेदवारी दिनुभएको छ । यसैगरी अर्का उपाध्यक्ष कृष्ण कटुवाल तथा वर्तमान महासचिव महेन्द्र राउत पनि अध्यक्ष पदकै आकांक्षी देखिनुभएको छ ।
अहिलेको निर्वाचन मार्फत मकवानपुरको विकास र उद्योगी व्यवसायीहरुको हकहितको निम्ति गर्नुपर्ने कार्यबारे जानकारी लिन हामीले वाणिज्य उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाललाई सञ्पर्कमा ल्याएका थियौं ।
सबै क्षेत्रलाई व्यवस्थित गर्न सक्ने व्यक्ति निर्वाचित हुनुपर्छ : अग्रवाल
अग्रवालले मकवानपुर क्षेत्रमा सडक विस्तारलाई व्यवस्थित गर्न, व्यवस्थित तवरले साना देखि मध्यम हुँदै ठूला उद्योगी तथा व्यवसायीहरुसँग राम्रो सम्पर्क कायम गर्न सक्ने, राज्यका नीतिहरुको बारेमा राम्रो ज्ञान भएको व्यक्ति र निर्णय प्रक्रियामा शिघ्र धारणा तय गर्न सक्ने व्यक्ति अबको निर्वाचन मार्फत अध्यक्ष पदमा विजयी हुन सकेमात्र मकवानपुर क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
साथै हाल मकवानपुरमा ३२ ओटा वस्तुगत संघहरु उद्योग वाणिज्य संघमा दर्ता भएका र ती सबै व्यवसायीहरुका समस्याहरुलाई आफूले सूक्ष्म तवरबाट बुझेको कारण आफूले व्यवसायीहरुलाई व्यवस्थित तवरले सन्तुष्ट पार्न सक्ने दावी समेत अग्रवालले गर्नुभयो ।
२०४५ देखि निरन्तर रुपमा उद्योग वाणिज्य संघमा संलग्न रहँदै आएको कारण आफू व्यावसायिक समस्याहरु समाधानको निम्ति निकै प्रतिवद्ध तवरले लाग्ने अग्रवालले बताउनुभएको छ ।
अहिले पनि मकवानपुर क्षेत्रमा उद्योगी, व्यवसायी, कर्मचारी तथा ट्रेड युनियनबीच समय–समयमा असमझदारी उत्पन्न हुने गरेको, अनुगमनको क्रममा व्यवसायीहरुलाई मारमा पार्ने गरी राज्यले नीति नियम बनाउँदै आएको, बिल तथा कर लगायतमा समस्या रहेको लगायतका विविध समस्या समाधानको निम्ति आफूले महत्वपूर्ण पहल गर्ने बताउँदै भोटको माध्यमबाट विजयी गराउन अग्रवालले सदस्य व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
आफू लामो समय देखि विभिन्न कम्पनीको वितरकको रुपमा काम गर्दै आएको, सबैजसो ठूला र मझौला उद्योगहरुसँग राम्रो सम्बन्ध रहेको, व्यवसायी तथा अन्य संस्थाहरुसँग सुमधुर सम्बन्ध रहेको लगायतको कारण आफूले संघलाई राम्रो दिन सकिने समेत अग्रवाल दावी गर्नुहुन्छ ।
साथै अहिले मकवानपुर उद्योग वाणिज्य संघको भवन जीर्ण भएको कारण अबको निर्वाचन पश्चात् आफ्नो पहिलो प्राथमिकता भवन निर्माणमा केन्द्रित हुने उहाँ बताउनुहुन्छ । यसको अलावा पर्यटन, पूर्वाधार, उद्यमशिलता विकास, व्यवस्थित वस्ती विकासको अलावा मुख्यगरी व्यावसायिक हक हित र अधिकारको निम्ति नै पनि उद्योग वाणिज्य संघले प्रभावकारी तवरले काम गर्नुपर्ने आवश्यक रहेको अग्रवालले औंल्याउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij