२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सबैलाइ शुभकामना, यस्ताे हुन सकाेस् नयाँ बर्ष २०८१

सबैलाइ शुभकामना, यस्ताे हुन सकाेस् नयाँ बर्ष २०८१

  • कमल पन्थी

आजबाट शुरुवात भएको बर्ष २०८१ हामी सबैको लागि सुखद र उल्लासमय रहन सकोस् । अघिल्लो बर्ष पूरा हुन नसकेका सपना र योजनाहरु पूरा हुन सकुन् । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीजनहरुमा हार्दिक शुभकामना प्रकट गर्दछौं । आगामी बर्षले सम्पूर्ण नेपालीहरुमा आत्मनिर्भर एवं कर्मशिल बन्नको लागि हामीमा भित्रै देखि प्रेरणा भर्न सकोस् ।

नयाँ बर्षले हामीलाई रचनात्मक बन्नको लागि प्रेरणा प्रदान गर्न सकोस् । सबै मानिसहरुलाई खुसी, शान्ति, न्याय, प्रेम र सद्बुद्धिको लागि प्रेरित गरोस् । हामी आफूलाई कर्मशिल बन्ने यात्रामा अगाडि बढाउन सकौं । हामीमा नयाँ आशा जागृत हुन सकोस् ।

 

भाग्य र अवसर हामीलाई यत्तिकै बर्षंदैन, हाम्रो भोगाई, अनुभव र दृष्टिकोणले नै हामी सफलताको उचाईमा अघी बढ्ने वा साधारण जीवनयापनमा नै आफूलाई सन्तुष्ट बनाउने भन्ने कुरा निर्धारित गर्दछ भन्ने बुझ्न सकौं । नयाँ बर्ष साँच्चै नयाँ बन्न सकोस् । औपचारिकता पूरा गर्नमा मात्र सीमित नबनोस् यो बर्ष ।

पछिल्ला बर्षहरुमा हामी अधिकांश नेपालीहरुले आफ्नो जीवनयापनको लागि नै अत्यन्तै बढी सङ्घर्ष गर्नुपर्ने स्थिति सृजना भएको छ । नेपालमा रोजगारीका अवसरहरु न्यून रहेको अवस्था एकातिर छ भने नेपालमा जनशक्ति आवश्यकता रहेका क्षेत्रमा सीपयुक्त जनशक्ति प्राप्त गर्न नसक्नु उद्योगहरुको लागि चुनौतीको विषय बन्दै गएको छ । अधिकांश हामी नेपाली नेपालमा अवसर नै छैनन् । नेपालमा केही गर्न सकिँदैन भन्ने मान्यताबाट निर्देशित हुँदै आएका छौं । हामी तत्काल प्रतिफल खोज्ने मान्यताबाट निर्देशित रहँदै आएका छौं ।

हामी सामान्य समस्या सामना गर्नुपर्दैमा निराश हुने स्थितिमा अल्झियौं भने धेरै माथिको यात्रा–उचाई तय गर्न सक्दैनौं । आफू संलग्न क्षेत्रमा हामीले आशा, उत्साह र निरन्तरताबाट नै सफलताको उचाई हासिल गर्न सक्छौं । जब हामी लड्छौं, पुन उठ्नेछौं । हामीले सामना गर्ने हरेक समस्या हाम्रो लागि मार्गदर्शनका आधार बन्नेछन् । हामीले बुझ्नेछौं कि जब सम्म आफूले आफैंलाई असफल घोषित गर्दैनौं, तब सम्म हामी असफल भएका हुँदैनौं । हामी त समाज र राष्ट्रको लागि केही योगदान दिने मान्यताबाट प्रेरित व्यक्ति हौं । यसकारण हामी सामान्य समस्या र चुनौतीलाई सहजै स्वीकार्दै नयाँ उचाईको यात्रामा निरन्तर अघी बढ्न सकौं ।

भाग्य र अवसर हामीलाई यत्तिकै बर्षंदैन, हाम्रो भोगाई, अनुभव र दृष्टिकोणले नै हामी सफलताको उचाईमा अघी बढ्ने वा साधारण जीवनयापनमा नै आफूलाई सन्तुष्ट बनाउने भन्ने कुरा निर्धारित गर्दछ भन्ने बुझ्न सकौं । नयाँ बर्ष साँच्चै नयाँ बन्न सकोस् । औपचारिकता पूरा गर्नमा मात्र सीमित नबनोस् यो बर्ष । जसरी विगतमा हामीले थुप्रै बर्षहरु यत्तिकै औपचारिकता पूरा गर्नमै व्यतीत गरिसकेका छौं,

नयाँ बर्ष लगायतका थुप्रै चाडपर्वहरुमा शुभकामना आदानप्रदानको लागि अहिले हामीले थुप्रै माध्यमहरुबाट सन्देश प्राप्ति र सञ्चार गर्दै आएका छौं । तथापि अहिले सम्म हामीले आफ्नो शुभेच्छुकलाई औपचारिकता दर्शाउनको लागि सन्देश प्रवाह गरेर हामीले आफ्नो जीवनमा के साँच्ची ऊर्जा समेत भर्न सकेका छौं त ? यदि छैन भने शुभकामनालाई औपचारिकता पूरा गर्नमा सीमित नबनाऔं । शुभकामना साँच्ची बदलावको लागि प्रदान गरिरहेका छौं भन्ने बुझौं र महसुस गरौं । अब हामीले शुभकामना अरु व्यक्तिलाई मात्र होइन, आफैंलाई पनि प्रकट गरौं । एक दिन मात्र होइन, हरेक दिन प्रकट गरौं । जसबाट बर्ष भरीका हरेक दिन हाम्रो लागि नयाँ दिनहरु बनुन् । नयाँ ऊर्जा हामीलाई प्राप्ति होस् ।

हामीले अरुलाई जे दिन्छौं, त्यही कुरा वृद्धि भएर पुनः हामीलाई नै प्राप्ति हुन्छ । साथै हामी अरुलाई पनि त्यही दिइरहेका हुन्छौं, जे हामी भित्र छ । चाहे त्यो चेतन रुपमा होस् वा अचेतन रुपमा । अहिले सम्म हामीले जुनसुकै अवस्थामा पनि आफूलाई मात्रै सही देखिरह्यौं, चाहे त्यो समाज र नीतिका आधारमा सही होस् वा नहोस् । अब हामी आफूमा साँच्ची सही र गलत छुट्याउन सक्ने चेतना विकास हुनु जरुरी छ । यसको लागि हामी आफैंले आफैं प्रति हरेक समय वा परिस्थितिमा म कुन अवस्थामा छु भन्ने कुरा विचार गर्न सक्नुपर्छ । आत्मनिरीक्षण वा आत्मविष्लेषणको आधारमा हामी आफ्नो स्थितिलाई निरीक्षण गर्न सक्छौं ।

यदि हामीमा अहिले सम्म अन्य व्यक्ति, वस्तु, परिस्थिति वा घटनालाई गल्ती हुनुको कारणको रुपमा देख्ने वा अरुलाई आरोपित गर्ने प्रचलन छ भने अब हामी त्यस किसिमको संस्कारबाट मुक्त हुने तरिका खोजी गर्न सकौं । यसको लागि आफूबाट त्यस्तो अवस्थामा हुनुपर्ने सर्वोत्कृष्ट प्रयाश के हुन सक्थ्यो भन्ने कुरालाई विचार गरौं । आज सम्म हामीबाट विगतमा के–कति गल्ती कमजोरी भए भन्नेमा नभई के–कति राम्रा कामहरु भएका छन् भन्ने कुरा गणना गर्नमा केन्द्रित बनौं । केवल केही महिना मात्र यस्तो प्रयाशलाई निरन्तरता दियौं भने त्यसले हामीलाई प्राप्त हुने नतिजामा चामत्कारिक बदलाव आएको देखेर हामी आफैं अचम्मित हुनेछौं ।

अब हामी भित्रैबाट बदलिने सङ्कल्प सहित अघी बढौं । जब हामी भित्रैबाट प्रेरित भएर सत्कर्ममा संलग्न हुन्छौं, तब हामी सानातिना बाधाअवरोधबाट विचलित हुनेछैनौं । हामीलाई लक्षित उपलब्धि हासिल नभएसम्म थकाई लाग्नेछैन । यसकारण हामी सत्कर्ममा लाग्नको लागि सङ्कल्पवान् बनौं ।

यस बर्षको नयाँ बर्ष हाम्रो लागि साँच्ची नयाँ बन्न सकोस् । खुसी, शान्ति, उमङ्ग र सत्प्रेरणाको लागि नयाँ बर्षले हामीलाई साँच्ची प्रेरणा मिल्न सकोस् । हामी सबै नेपालीहरुलाई अनन्त शुभकामना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij