प्रहरी प्रधान कार्यालयले संगठनको उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ। प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा संगठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो। कारवाही परेकामध्ये २७२ लाई नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरिएको, एक हजार २२७ लाई नसिहत दिइएको, १८९ को ग्रेड रोक्का गरिएको छ।
त्यस्तै, १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरिएको जनाइएको छ। कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एक हजार ५७३, प्रहरी हवल्दार ४००, प्रहरी सहायक निरीक्षक १४४, प्रहरी नायव निरीक्षक ८७, प्रहरी निरीक्षक २१, प्रहरी नायब उपरीक्षक पाँच, प्रहरी उपरीक्षक चार र प्रहरी वरिष्ठ उपरीक्षक दुई जना छन्।
प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले गैरव्यावसायिक कार्य, कार्यसम्पादन लापरवाही र अनुसाशनहीन काम गरेका प्रहरी कर्मचारीलाई कारवाही गरिएको जानकारी दिए। उनले भने, ‘संगठनले राखेको लक्ष्य र उद्देश्यविपरीत काम गर्ने जो कोही कारवाहीमा पर्नसक्छ। हाल नेपाल प्रहरीमा ७५ हजार बढी प्रहरी जवानदेखि अधिकृतसम्म कार्यरत छन्, जसमध्ये छ हजार हाराहारीमा महिला छन्। हाल नेपाल प्रहरीको संगठन केन्द्रदेखि स्थानीय तहसम्मै रहेको छ। रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij