
मानिस चेतनशिल र विवेकी प्राणी हो । मानिसको चेतनाको विस्तार शिक्षा वा ज्ञानले नै हुने गर्दछ । शिक्षा वा ज्ञान जीवनको आलोक हो । जसले जीवनमा प्रकाशपुञ्ज छरिरहेको हुन्छ । जीवनलाई दिग्दर्शन गर्दछ । चुनौतीहरुसँग लड्ने ऊर्जा दिन्छ । चेतनाको दियोमा अनन्त ज्ञानको रश्मि भर्ने काम शिक्षाले नै गर्दछ । जीवनलाई जीवन्त बनाउने शाहस शिक्षामा नै छ । शिक्षाबाट नै अजस्र ज्ञानका द्वारहरु खोलिन्छन् । यो सृष्टि र प्रकृति अनन्त ज्ञानको भण्डार हो । अथाह र अपार रहस्य यसको गर्भमा छ । यसका विविध विधा वा क्षेत्रहरु अझै अन्वेषणका यात्रामा छन् । शिक्षा आर्जनपछिको चेतनाको विस्तारले नै हामीलाई पृथक सभ्यताको पहिचान दिलाएको छ । प्रकृति, भूगोल, सृष्टि, खगोल, संस्कृति, जातजातीका जीवनपद्धति, पर्व र उत्सवहरु आदि सम्पूर्ण हाम्रा शिक्षालय नै हुन् ।
शिक्षा र ज्ञानका अनन्त र अपार पाटाहरु छन् । शिक्षा वा ज्ञानका प्यासीहरुले कदम–कदममा नवीन ज्ञानोपार्जन गरेका छन् । इतिहासमा पूर्खाहरुका कर्मदेखि जीवनका मर्महरुलाई अनुभूत गर्दै ज्ञानका क्षितिजहरु फैलिएका छन् । नवीन खोज र अनुसन्धानले नयाँ –नयाँ रहस्यहरु उद्घाटन गरेका छन् । वैज्ञानिकले दिनप्रतिदिन नयाँ–नयाँ आयामहरु थप्दैछन् । दार्शनिकहरु जीवन–जगत्का गम्भीर चिन्तनमा निमग्न हुँदै नयाँ दर्शनको प्रतिपादन गर्दैछन् । यी समग्र ज्ञान र शिक्षाले नै मानवीय जीवनलाई समुन्नत र सुशोभित बनाएको छ । विज्ञानले झन् सुविधायुक्त र सरल बाटो पहिल्याइदिएको छ । दुःसाध्य कार्यहरु आज सहज भएका छन् । असम्भव कुराहरु सम्भव र यथार्थमा परिणत भएका छन् । भौतिक समुन्नति दिनप्रतिदिन दु्रत गतिमा बढ्दैछ । यो अपूर्व र युगान्तकारी परिवर्तनको श्रेय शिक्षालाई नै जान्छ । अनि त्यसको निम्ति अहोरात्र जीवन समर्पण गर्ने महान गुरु, विद्वान, दार्शनिक, वैज्ञानिक र ज्ञान–विज्ञानका पृष्ठपोषकहरुका उत्सर्ग अतुलनीय छन् । त्यसकारण यो ज्ञानको दियोलाई सदा जोगाई राख्न र प्रकाशशील बनाउन आज नितान्त आवश्यक छ ।
आजको शिक्षामा कृत्रिमताका रंगहरु छन् । ढोंगी र आडम्बरी प्रवृत्तिहरुले प्रश्रय पाइराखेका छन् । मानवोचित गुणको अभावमा दिइएको शिक्षा दिगो र चीरस्थायी बन्न सक्दैन । मानवीय आचार–विचार, संस्कार, बोलीबचन, नम्रता, शिष्टता, आत्मानुशासन र चरित्र हाम्रा परिचय हुन् । यी मानवोेचित गुणहरु स्खलित हुँदैछन् ।
विद्यार्थीहरुलाई सर्वप्रथम मानसिक स्वच्छता र पवित्र भावनाको उद्वोधन गराउनुपर्छ । स्वच्छ, पवित्र र निर्मल मन–मस्तिष्कले आफ्नो कर्म प्रति सदा सकारात्मक ऊर्जा दिन्छ । कर्मशिलताको ज्ञान प्राप्त हुन्छ । अनि आफ्नो कर्मपथमा लम्कन प्रेरणा मिल्छ । आत्मानुशासनले गञ्तव्य प्राप्तिमा सहजता प्रदान गर्छ । यो मानवीय आभूषण पनि हो । शिक्षा आर्जन गर्नु भनेको मानवीय मूल्य–मान्यता, संस्कार र आदर्शलाई आत्मसात गर्नु पनि हो । मानव हुनुको चिनारी जान्नु र बुझ्नु मात्र नभएर मानवीय गुणको पालना एवं ग्रहण गर्नु हो । नैतिकताको परिधिभित्र केवल सच्चा मानिस मात्र बाँधिन सक्छ ।
नीति–नियम र विधि–विधानमा बाँधिनु, सभ्यता र शिष्टताको द्योतक पनि हो । नीति–नियम र आत्मानुशासन बिनाको ज्ञान अराजक र अपाच्य हुन्छ । लब्धाङ्कपत्रमा अब्बल दर्जाको श्रेणी पाएतापनि मानवोचित गुण र संस्कार भएन भने त्यो निरस र निरर्थक हुन्छ । सुवास बिनाको फूल जस्तै त्यसले पनि अर्थ राख्दैन । आफ्ना अग्रज मातापिता र गुरुजन प्रति श्रद्धा र सम्मानको भाव जागृत हुनुपर्छ । अनुज प्रति माया–ममता र हार्दिक स्नेह झल्कनुपर्छ । आफ्नो संस्कृति र भेषभूषाप्रति मोह दर्शनुपर्छ । आफ्नो रीतिरिवाज र कला सदा गलामा गुन्गुनाउने हुनुपर्छ । आफ्नो देशको माटो मुटुमा सजाउन सक्नुपर्छ ।
दुष्कर्म गरेर अर्थोपार्जन गर्नुभन्दा परिश्रमले आधा पेट खाएर स्वाभिमानले शिर उच्च राख्नु महान् हो । भ्रष्ट र पतित बनेर स्वार्थसिद्ध गर्नुभन्दा पौरखी र स्वाबलम्बी बनी आत्मगौरव बढाउने उच्च हुन्छन् भन्ने बुझाउनुपर्छ ।
कुण्ठा र निराशाका तुवाँलाहरु हटाई मनोबल र आशाका अंकुरहरु टुसाउनुपर्छ । आफ्नो जाति र राष्ट्र प्रति अटुट नाता गाँस्नुपर्छ । कर्म प्रतिको मोह जगाई त्यसको मूल्य अमूल्य हुन्छ भन्ने बुझाउनुपर्छ । स्वार्थमा नभई परार्थका लागि कर्म गर्नेहरुको जीवन सार्थक बन्छ भन्ने सन्देश भर्नुपर्छ । सर्वप्रथम शान्ति र सद्गुणहरु शिक्षार्थीहरुका मन–मस्तिष्कमा बीजारोपण गर्नु आवश्यक छ ।
आजको शिक्षा धेरै प्राविधिक, यान्त्रिक र कृत्रिम बन्दैछ । शिक्षामा व्यापारीकरण र औद्योगिकीकरणको मात्रा पनि बढिरहेको छ ।
अर्थमुखी शिक्षाले रोजगारी र आयआर्जन त गराउला तर क्रमशः मानवीय आदर्श र मूल्यको भने क्षय गर्दै लैजानेछ । भातृत्व र उदारताको खाडल बढाउनेछ । बाबु–छोरा, आमा–छोरी, दाजु–भाई, दिदी–बहिनीको निकटतामा क्रमशः पर्खाल ठडिँदै जानेछन् । अपनत्वको अनुभूती हराउँदै जान्छ । सामाजिक र राष्ट्रिय भावना पनि दुर्वल हुँदै जान्छ । त्यसकारण जुनसुकै विधाको शिक्षा आर्जन गरेतापनि त्यसमा मानवीय सद्गुणको ज्ञान र शिक्षा प्रदान÷प्राप्त गर्न सकेनौं भने भावी पुस्ता योग्य र सक्षम नहुन सक्छन् । अतः व्यावसायिक शिक्षा, प्राविधिक शिक्षा, सैद्धान्तिक शिक्षा, रोजगारमूलक शिक्षा वा अन्य जुनसुकै प्रकृतिको शिक्षा पनि मानवीय सद्गुण बिनाको हुनुहुँदैन । यस्तो शिक्षा अपूर्ण र अधुरो नै रहनेछ । त्यसकारण शिक्षाको मुख्य ध्येय मानवीय सत्–चरित्र निर्माण गर्नु नै हुनुपर्छ ।
(लेखक भट्ट एन.प्याब्सन प्रदेश नम्बर ३ का सदस्य पनि हुन् ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij