ई. विनोद ढकाल, सभापति, आइसिटी डेभलपमेन्ट कमिटी
नेपाल उद्योग वाणिज्य महासंघ (कार्यसमिति सदस्य)
सूचना प्रविधि पछिल्लो दशक तीव्र गतिमा फस्टाइरहेको क्षेत्र होे । यसको आवश्यकता र महत्व बारे लकडाउनले हामीलाई अझ नजिक बनाएको छ । विगतमा दिनहरुमा इन्टरनेटलाई मात्रै सूचना प्रविधि भित्र राख्दै आइएको र सामाजिक सञ्जाल नै सूचना प्रविधि प्रयोगका मुख्य क्षेत्रहरु रहँदै आएकोमा अहिलेको लकडाउनले यसको व्यापक सम्भावना बारे हामीलाई सचेत बनाएको छ ।
नयाँ सम्भावनाहरु थपिँदैः
नेपालमा पनि अहिले सूचना प्रविधिको प्रयोगका नयाँ क्षेत्रहरु थपिएका छन् । शिक्षामा अनलाईन तथा भर्चुअल कक्षा सञ्चालन यसको नयाँ प्रयोग हो ।, स्वास्थ्य, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार, खेलकुद तथा मनोरञ्जन लगायतका थुपै्र कामहरु घरबाटै प्रविधिको प्रयोगले सम्पादन गर्न सकिने अवस्था अहिले सृजना भएको छ । यसलाई हेर्दा आधा भन्दा बढी कार्यहरु त प्रविधि क्षेत्रलाई नै अपनाएर सम्पादन गर्न सकिने अवस्था अहिले सृजना भइसकेको छ । यद्यपि यसका सीमितताहरु पनि छन् । राज्यका नीतिहरु सूचना प्रविधि विस्तारको लागि बाधक बनेका छन् । सरकारले यसलाई अझै आत्मसात् गर्न सकेको छैन ।
सूचना प्रविधि क्षेत्रलाई नेपाल सरकारले प्राथमिकतामा राख्नुपर्छ भन्ने अझै आभाष हुन सकेको छैन । जसले गर्दा नेपालमा सूचना प्रविधि क्षेत्र जुन गतिको साथ अघी बढ्नुपर्ने थियो, त्यो गति लिन सकेको छैन । अहिले सम्म नेपालमा सूचना प्रविधि क्षेत्रमा जति पनि कामहरु भएका छन्, ती सबै निजी प्रयत्न र समयको आवश्यकताले नै भएका छन् । तर नेपाल सरकारले उद्योगहरु खोल्न दिने सूचीमा सूचना प्रविधि क्षेत्रलाई नपारिनु यस क्षेत्रमा कार्यरत व्यवसायीहरु माथिको ठूलो विभेद हो ।
राज्यले उद्योगको रुपमा स्वीकारेको छैनः
नेपाल सरकारले अझै पनि सूचना प्रविधि क्षेत्रलाई उद्योगको रुपमा लिन सकेको छैन । यद्यपि नेपाल सरकारले अब भने यस क्षेत्रलाई नयाँ उद्योगको रुपमा विकास गर्नको लागि यसको महत्व र आवश्यकता बारे बोध गर्नु जरुरी छ । कोरोना सङ्कट सँग विश्वभर नै ‘वर्क फ्रम होम’ अवधारणा विकास भएको छ । यसमा सबैभन्दा महत्वपूर्ण भूमिका सूचना सूचना तथा सञ्चार प्रविधिकै रहेको छ ।
नयाँ सम्भावनाः
सूचना प्रविधि क्षेत्र नयाँ सम्भावनाको क्षेत्र बनेको छ । अहिलेको कोरोना भाइरसले गर्दा हामीलाई सूचना तथा सञ्चार प्रविधि बारे धेरै ज्ञान दिएको छ । समग्र अवस्थालाई हेर्दा नेपालमा पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोगको लागि नयाँ तवरले अघी बढ्नमा भने निकै नै सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
अहिलेको समय विश्वव्यापीकरणको समय हो । सिङ्गो विश्वलाई नै एउटा कोठामा सीमित गराउने कार्य सूचना तथा सञ्चार प्रविधि बिना सम्भव नै थिएन । यसलाई हामीले चाहेर पनि अब पछाडि छोडेर पुरानै तवरले हाम्रा कामहरु अघी बढ्न सक्ने अवस्था अब छैन । तैपनि राज्यले विशेष चासो र प्राथमिकतामा राख्न नसक्दा यो क्षेत्रले जुन गतिमा फड्को मार्नुपर्ने थियो, त्यो हुन सकेको छैन ।
राज्यले किन बुझ्दैन महत्वः
अब सूचना प्रविधिको प्रयोग व्यापक बढाई यसलाई ग्रामीण जनताहरुको पहुँचमा समेत विस्तार गर्नु जरुरी छ । तर अहिले सम्म त्यो कार्य हुन सकेको छैन । ग्रामीण जनताहरुको पहुँचमा सर्वसुलभ बनाउँदै उनीहरुलाई प्रविधिको प्रयोगमा अभ्यस्त नबनाउने हो भने हामीले चाहेबमोजिम हाम्रो आर्थिक उन्नती गर्न सकिँदैन ।
शिक्षामा प्रविधिको प्रयोग र चुनौतीहरुः
अब नेपालमा शिक्षा क्षेत्रमा हुने सबै कार्यहरु प्रविधिको प्रयोगबाट नै गर्नुपर्ने अवस्था र आवश्यकता छ । यसको लागि सबै विद्यार्थी र शिक्षकको पहुँचमा इन्टरनेट, मोबाइल, ल्यापटप वा कम्प्युटर जस्ता साधनहरु उपलब्ध हुनु जरुरी रहन्छ । तर अहिले सम्म भने नेपालमा यस्ता सामाग्रीहरु अत्यन्तै न्यून व्यक्तिहरुको पहुँचमा मात्र पुगेका छन् । शहरी क्षेत्रमा प्रविधिको प्रयोग अलि बढी नै देखिएपनि यसलाई विशेष कार्यमा सही तवरले उपयोग गर्ने मानिसहरु भने निकै न्यून सङ्ख्यामा रहेको पाइन्छ । समष्टिगत रुपमा हेर्दा सबैको पहुँचमा प्रविधिलाई कसरी विस्तार गर्ने भन्ने कुरा नै अहिलेको ठूलो चुनौती हो ।
प्रविधिको विकास सँगै त्यसको सुरक्षाको लागि हामीले विशेष पूर्वाधार बनाउनु जरुरी रहन्छ । प्रविधि सँगै सुरक्षालाई समेत विशेष ध्यान दिँदै सुरक्षित उपायहरु अबलम्बन गर्न सकेको खण्डमा मात्र हामी सुरक्षित बन्न सक्छौं । जोखिम जहाँ पनि हुन्छ, त्यो जोखिम कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिँदै हाम्रा गतिविधि अघी बढाएको खण्डमा नेपालमा नयाँ प्रविधिको खोज र यसको प्रयोग मार्फत मुलुकको विकासलाई नयाँ गति दिन सम्भव हुनेछ ।
ठूलो रोजगारी सृजना हुने क्षेत्रः
अबका दिनमा नेपालमा ठूलो रोजगारी सृजना गर्न सकिने क्षेत्रको रुपमा सूचना प्रविधि क्षेत्रलाई विकास गर्न सकिन्छ । अनलाइनबाट काम गर्न सकिने र राम्रो आर्थिक लाभ समेत लिन सकिने सम्भावना भएको र कम लागतमा नै विश्वस्तरीय काम गर्न सकिने जस्ता सवल पक्षहरु नेपालको सफ्टवेयर डेभलपेन्टको लागि राम्रो अवसर बन्न सक्छन् । सोही बमोजिम यस क्षेत्रमा संलग्न व्यवसायीहरु प्रविधिको व्यापक प्रयोगको लागि निरन्तर लागि नै रहेका छौं । यद्यपि नेपाल सरकारले भने यसलाई विशेष प्राथमिकतामा राख्न नसक्नु दुखको कुरा हो ।
प्रविधिको सुरक्षा त्रासः
नेपालमा प्रविधिको प्रयोगको क्रममा समय–समयमा विभिन्न किसिमका सुरक्षा समस्याहरु देखिँदै आएका छन् । प्रविधिको प्रयोग गर्दा आउने यस्ता समस्या नेपालको लागि मात्र नभई विश्वकै समस्या बन्ने गरेका छन् । यद्यपि यसलाई न्यूनीकरण गर्नको लागि हामी विशेष सजग रहँदै निरन्तर अघी बढ्नु जरुरी रहन्छ ।
प्रविधिको विकास सँगै त्यसको सुरक्षाको लागि हामीले विशेष पूर्वाधार बनाउनु जरुरी रहन्छ । प्रविधि सँगै सुरक्षालाई समेत विशेष ध्यान दिँदै सुरक्षित उपायहरु अबलम्बन गर्न सकेको खण्डमा मात्र हामी सुरक्षित बन्न सक्छौं । जोखिम जहाँ पनि हुन्छ, त्यो जोखिम कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिँदै हाम्रा गतिविधि अघी बढाएको खण्डमा नेपालमा नयाँ प्रविधिको खोज र यसको प्रयोग मार्फत मुलुकको विकासलाई नयाँ गति दिन सम्भव हुनेछ ।
कसरी बढाउन सकिन्छ प्रविधिको प्रयोग ?
यसको लागि सबैभन्दा पहिले हाम्रो माइन्डसेटमा परिवर्तन हुनु जरुरी रहन्छ । प्रशासन, राजनीतिक दल र राज्यले निःस्वार्थ भावले प्रविधिको प्रयोगलाई आत्मसात् गर्न सकेको खण्डमा नेपालमा अबका दिनमा राम्रो गति सहित यो क्षेत्र अघी बढ्नेछ ।
प्रविधिमा जनशक्तिको उपलब्धताः
नेपालमा बार्षिक ६–७ हजार शैक्षिक जनशक्ति उत्पादन हुँदै आएको अनुमान गरिन्छ । उनीहरुलाई थप तालिम सहित नेपालमा काममा लगाउन सकेको खण्डमा यसबाट निकै राम्रो लाभ लिन सकिन्छ ।
तथ्याङ्क संकलन आवश्यक
नेपालमा प्रविधिको प्रयोगको अहिलेको अवस्था के छ ? यस क्षेत्रमा संलग्न जनशक्ति कति छन् ? सूचना प्रविधिजन्य पूर्वाधारको अवस्था के छ ? हाम्रा प्रविधि कत्तिको सुरक्षित छन् ? अबको हाम्रो आवश्यकता के हो ? राज्य र निजी क्षेत्रको दायित्व के हुनुपर्छ ? भन्ने कुरालाई नयाँ ढंगले अघी बढाउन तथ्यांक संकलन पहिलो सर्त बन्न पुगेको छ । यसको लागि नेपाल सरकारले तत्काल नै आइसिटी सर्भे गरेर नयाँ रणनीति तय गर्नु जरुरी देखिन्छ । यसको लागि नेपाल सरकारले निश्चित लक्ष्य सहित निश्चित रकम बजेट विनियोजन गर्नु जरुरी पनि छ ।
राज्यले खेलेको भूमिका
नेपाल सरकारले लामो समय देखि नेपालमा लकडाउन गर्दै आएको छ । यद्यपि लकडाउन अबको लागि समाधान होइन । अर्थतन्त्रलाई चलायमान बनाउनको लागि हामीले तत्काल विशेष सुरक्षित व्यवस्था सहित उद्योग व्यवसाय सञ्चालन गर्नुको विकल्प छैन । साथै अब हामी नयाँ ऊर्जाको साथ अघी बढ्नु जरुरी छ । तैपनि एकातिर अहिलेको बजेटले सूचना प्रविधि क्षेत्रलाई सहयोग पुग्ने किसिमको कुनै व्यवस्था गरेको छैन । साथै यसै बेला नेपाल सरकारले कर तिर्न व्यवसायीलाई आग्रह समेत गरेको छ । यसले हामी व्यवसायीहरुलाई थप हतोत्साही बनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij