रसुवा,१ असार –जिल्ला अदालत रसुवाले सुन तस्करी मुद्दामा दुई जनालाई कैद फैसला गरेको छ । मंसिर २ गते प्रहरीले १७ किलो अवैध सुनसहित आमाछोदिङमो गाउँपालिका–५ का कर्साङ दावा तामाङ र गोसाइँकुण्ड गाउँपालिका–१ का लाक्पा तामाङलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
भन्सार ऐन, २०६४ बमोजिम कसुर ठहर गर्दै जिल्ला अदालतले उनीहरूलाई जरिवानासहित कैद फैसला गरेको हो । जिल्ला न्यायाधीश बावुराम सुवेदीको इजलासले गरेको फैसलामा कर्साङ दावालाई ३ वर्ष कैद र ८ करोड १४ लाख ९८ हजार जरिवाना तोकिएको छ भने लाक्पा तामाङलाई १ वर्ष कैद तोकिएको छ ।
सुन ओसार्न प्रयोग भएको बोलेरो जिप पनि जफत गरिएको अदालतले जनाएको छ । चीनको केरुङबाट बोलेरो जिपमा सुन लुकाएर ल्याउँदै गर्दा सीमा प्रहरी चौकी टिमुरेले तामाङद्वयलाई रसुवागढी नाकाबाट पक्राउ गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij