२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सङ्घीय संसद्को पाँचौँ अधिवेशनः मुद्दा सुल्झाउने कि बल्झाउने ?

सङ्घीय संसद्को पाँचौँ अधिवेशनः मुद्दा सुल्झाउने कि बल्झाउने ?

  • शेखर अधिकारी

काठमाडौँ, १८ माघ (रासस): सङ्घीय संसद्को पाँचाँै अधिवेशनको पूर्वसन्ध्यामा नेपालको राजनीति एकाएक तरङ्गित बन्यो । संसद्को चौथो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरण, सरकारले ल्याएका अध्यादेश र जनजीविकाका कतिपय सवालमा सरकारको जवाफ खोज्दै प्रमुख विपक्षी दललगायतका राजनीतिक शक्तिहरूले देखाएका तदारुकताले पाँचाँै अधिवेशन बढी प्रतिक्षित भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले माघ १८ गतेका लागि सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । विधेयक अधिवेशनका रुपमा चिनिएको आगामी सत्रमा कानुन निर्माण मात्र होइन, चार महिनादेखि थाती रहेका विषय र मुद्दाहरूले प्राथमिकता पाउने देखिन्छ । अधिवेशनको पूर्वसन्ध्यामा सभामुख देवराज घिमिरेले गर्नुभएको निरन्तरको संवाद, छलफल र बैठकहरूमा सत्तापक्ष र प्रतिपक्षले उठाएका सवालले संसदीय टकरावहरू आकलन गर्न सकिन्छ । राजनीतिक दलहरू सम्भावित मुठभेडतिर जाँदा संसद्को आगामी विधेयक अधिवेशन पनि प्रभावित हुने त होइन भन्ने संशय उत्तिकै छ ।

सङ्घीय संसद्मा सङ्घीयता कार्यान्वयनसँग जोडिएका कतिपय विधेयक विचाराधीन अवस्थामा छन् । मुलुकले व्यग्र खोजिरहेको तर वर्षौंसम्म टुङ्ग्याउन नसकिरहेका विधेयकलाई निष्कर्षमा पु¥याउने अभिभारा संसद्सँग छ । सङ्घीय निजामती सेवा विधेयक, २०८० र विद्यालय शिक्षा विधेयक, २०८० सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण विधेयक हुन् । पाँचौँ अधिवेशन सुरु हुनै लाग्दा प्रहरीसँग सम्बन्धित दुई र नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेको छ । धेरै जटिल मानिएका यी कानुन बनाउन संसद्को आगामी अधिवेशन सफल हुन्छ कि हुँदैन भन्ने आम चासो छ ।

संसद् जनप्रतिनिधिहरूको सर्वोच्च थलो हो । संसद् सदस्यहरू आवधिक निर्वाचनका माध्यमबाट निश्चित समयका लागि चुनिन्छन् । संसद् नागरिकहरूका तर्फबाट सावभौमसत्ता प्रयोग गर्ने वैधता प्राप्त राज्यको एक मात्र उच्चतम अङ्ग हो । संसद्ले मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने, सरकार निर्माण र विघटन गर्ने, सरकारका कामकारबाहीको निगरानी गर्ने, जनआवाजलाई मुखरित गर्नेलगायत काम गर्दछ ।

आम रुपमा संसद्को विशेष चरित्र हुन्छ, जसले जनताको विविधता प्रतिबिम्बित गर्दछ । संसदीय प्रक्रिया जनताका लागि खुला र पारदर्शी हुन्छन्, जसले विश्वास बढाउने काम गर्दछ । जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्दछ । संसद्मा नीतिनिर्माणमा गहिरो छलफल र बहस हुने गर्दछन् । संसद् संविधान, नियमावली, अभ्यास र परम्पराअनुसार सञ्चालन हुने गर्दछ । संसद्को प्रक्रिया व्यवस्थित हुनुपर्दछ । संसद् कुनै पनि बाह्य शक्ति वा कार्यपालिकाको अत्यधिक प्रभावबाट स्वतन्त्र हुन्छन् ।

आम रुपमा संसद्को चरित्रमाथि उल्लेख गरेअनुसार हुनुपर्दछ । नेपालको संसद् पनि संवैधानिक रुपमा जनताको हक, अधिकारको रक्षा गर्दै समावेशी लोकतन्त्र, सङ्घीयता र विकासलाई मजबुत बनाउने भूमिकामा क्रियाशील छ । हामीले संसदीय अभ्यासबाटै संविधान निर्माणदेखि महत्वपूर्ण नीतिहरू बनाएका छौँ ।

पाँचौँ अधिवेशनमा ‘बिजनेस’ अवस्था
सन्निकटमा रहेको विधेयक अधिवेशनमा प्रतिनिधिसभामा २३ वटा विधेयक विचाराधीन अवस्थामा छन्भने राष्ट्रियसभामा भर्खरै दर्ता भएको सामाजिक सञ्जाल विधेयक, २०८१ सहित पाँचवटा छन् । संसद् अधिवेशनको कार्यसूचीबारे छलफल गर्न बसेको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ३० वटा विधेयक पारित गर्ने महत्वाकाङ्क्षी प्रस्तावसमेत राख्नुभएको थियो ।

झन्डै आधा कार्यकाल बिताउन लागेको प्रतिनिधिसभाको पाँचौँ अधिवेशनलाई जुनसुकै हालतमा पनि फलदायी बनाउने सभामुख तथा प्रमुख राजनीतिक दलहरूको साझा प्रतिबद्धताले आशा पलाएको छ । संसद्मा अहिले पनि पहिलो अधिवेशनमै दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ समितिमा विचाराधीन अवस्थामा छन् । समितिमा विचाराधीन अवस्थामा रहेकामध्ये १४ मध्ये पहिलो अधिवेशनमा दर्ता भएका दुई, दोस्रो अधिवेशनमा दर्ता भएका चार, तेस्रो अधिवेशनमा दर्ता भएका पाँचवटा र चौथो अधिवेशनमा दर्ता भएका चारवटा विधेयक छन् । तीमध्ये आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ सरकारले फिर्ता लिने प्रक्रिया सुरु गरेको छ । अध्यादेशका रुपमा उक्त विधेयक संसद्मा आइपुगेको छ ।

प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये पाँचवटा समितिमा विधेयक छलफलका क्रममा रहेका छन् । सबैभन्दा बढी ‘बिजनेस’ अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिसँग छ । अर्थमा पाँचवटा र राज्य व्यवस्थामा चारवटा विधेयक छन् । सभामा गैरसरकारी विधेयक पनि छन् । गैरसरकारी विधेयकका रुपमा दर्ता भई राष्ट्रियसभाबाट पारित भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक प्रतिनिधिसभामा थन्किएको छ ।

 

प्रतिनिधिसभामा दर्तामात्रै भएका दुईवटामध्ये गैरसरकारी विधेयक (औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८० निष्क्रिय भएको छ । मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक, २०८१ ले समेत पालो पाएको छैन । समितिले प्रतिवेदन पेस गरिसकेका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन विधेयक, २०७९, विधायनसम्बन्धी विधेयक, २०८० र बैङ्किङ कसुर तथा सजाय विधेयक (दोस्रो संशोधन), २०८० संसद्ले तुरुन्तै टुङ्गो लगाउन सक्ने अवस्था छ ।

पाँचौँ अधिवेशनमा भर्खरै आएका छवटा अध्यादेशले समेत पालो पाउनेछन् । अध्यादेशका रुपमा आएका सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ संसद्को प्राथमिकतमा रहनेछन् ।

सन्तोषजनक छैनन् विगतका अधिवेशन
विसं २०७९ मङ्सिर ४ गते भएको निर्वाचनपछि सङ्घीय संसद्को बैठक २०७९ पुस २५ गते बसेको थियो । विगतका चारवटा अधिवेशनले सामान्य विधायिकी कार्यबाहेक कानुन निर्माणमा सन्तोषजनक प्रगति गरेको छैन । प्रतिनिधिसभाका सभामुखसहित पदाधिकारीहरूले चारवटा अधिवेशनको प्रगतिमा सन्तोषजनक अवस्था नरहेको सार्वजनिक रुपमै व्यक्त गर्नुभएको छ ।

सङ्घीय संसद्ले दुई वर्षको अवधिमा १७ वटा कानुन पास गरे । तीमध्ये अनिवार्य गर्नैपर्ने बजेटसँग सम्बन्धित बाहेक १२ वटा विधेयक पारित भएका छन् । पहिलो एक वर्षसम्म त संसद्ले जम्माजम्मी एउटा मात्रै कानुन पारित गरेको थियो, जसले संसद्को कार्यक्षमता प्रश्न उठाएको थियो । तर त्यसपछि भने कानुन निर्माणले गति लिएको छ । चौथो अधिवेशनमा संसद्ले पारित गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो, जुन निकै महत्वपूर्ण छ । चौथो अधिवेशनको आखिरी समयमा पारित भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ पाँचौँ अधिवेशन सुरु नुहँदै कार्यान्वयनमा गइसकेको छ ।

असल अभ्यास
सुधारका लागि गर्नुपर्ने यावत् काम बाँकी रहे पनि संसद्मा असल अभ्यास प्रारम्भ भएका छन् । प्रतिनिधिसभामा लामो समयदेखि बहसमा रहेको कार्यतालिका प्रतिनिधिसभाले तेस्रो अधिवेशनबाटै प्रारम्भ गरेको छ । संसद्लाई पाक्षिक कार्यतालिकाअनुसार सञ्चालन गर्नुभएका सभामुख घिमिरेले कम्तीमा मासिक वा एक अधिवेशनभरको तालिका बनाउन उपयुक्त हुने बताउने गर्नुभएको छ ।  सभामा मात्रै होइन, अहिले पूर्वाधार विकास समितिले समेत समितिमा पनि कार्यतालिका बनाएको छ ।

प्रतिनिधिसभामा संसद् नियमावली, २०७९ को व्यवस्थाअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर नियमित गरिएको छ । जबकि संसद्को अघिल्लो कार्यकालमा जम्मा एकपटक मात्रै प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएको थियो । नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ । ढ्यापढ्यापे समय मागेर अव्यवस्थित भएको संसद्मा आकस्मिक समय राखेर व्यवस्थित बनाउने गरिए पनि सुधार आवश्यक देखिएको छ । नियमावलीले गरेको व्यवस्थाभन्दा बाहिरको विषयलाई पनि आकस्मिक समयमा उठाएको भन्दै स्वयं सांसदहरूले नै आलोचना गरिरहनुभएको छ ।

संसद्ले बनाएको कानुन कार्यान्वयको अवस्थाबारे अध्ययन गर्न उत्तरविधायिकी परीक्षणको अभ्यास राष्ट्रियसभाले गरिसकेको छ । प्रतिनिधिसभाले पनि उत्तरविधायिकी परीक्षण कार्यविधि बनाएको छ । सङ्घीय संसद् र प्रदेशसभाबीच अनुभव आदानप्रदानका लागि अन्तर व्यवस्थापिका मञ्च नामक फोरमको स्थापनादेखि बजेट अफिसको अवधारणामा संसद्ले काम गरिरहेको छ । सभाको कामलाई व्यवस्थित बनाउन ‘डिजिटल आर्काइभ’, ‘एप’ निर्माण र ‘पेपरलेस’ संसद्को अवधारणामा काम भइरहेको छ ।

अपेक्षित मुद्दाहरू

नेपाली कांग्रेस र नेपाल कम्यनिष्ट पार्टी (एमाले) सहितको वर्तमान गठबन्धन निर्माण हुँदा संविधान संशोधनको मुद्दाले प्रवेश पाएको छ । तर सँगसँगै संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा भएका प्रगतिबारे बहस पनि उत्तिकै भइरहेको छ । अघिल्लो सभामै लामो छलफल भएको निजामती कर्मचारीसम्बन्धी विधेयक टुङ्गोमा नलागी शून्यको अवस्थामा पुगेको थियो । अहिले उक्त विधेयकको प्रारम्भिक छलफल मात्रै भएको छ । विद्यालय शिक्षासम्बन्धी विधेयकले गति लिएको छैन ।

राष्ट्रियसभाको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ समेतका आधारमा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ११७ वटा कानुन मस्यौदाको जानकारी दिएको थियो । एक वर्षको अवधिमा त्यस सम्बन्धमा प्रगति भने उल्लेख्य भएको छैन । संसद्को मुख्य काम कानुन निर्माण गर्नु नै हो । संसद्ले कानुन निर्माणँगै सरकार निर्माण तथा फेरबदल गर्ने, जनताको आवाज सरकारसम्म पु¥याउने, कार्यपालिकाको कामको निगरानी गर्ने, बजेट पारित गर्ने र सार्वजनिक स्रोतहरूको उचित प्रयोग सुनिश्चित गर्ने, राष्ट्रिय नीति र प्राथमिकताहरूका बारे छलफल गर्ने तथा राजनीतिक अहसमति र विवादलाई लोकतान्त्रिक तरिकाले समाधान गर्ने गर्दछ ।

आम नागरिकका मुख्य मुद्दाहरूलाई संसद्मा मुखरित गर्नुपर्ने दायित्व रहेको संसद् कहिलेकाहीँ बरालिने गरेको छ । संवैधानिक जिम्मेवारीहरू भन्दा पनि दलीय द्वन्द्वको प्रत्यक्ष असर संसद्मा पर्ने गरेको छ । सांसदहरूले अबको अधिवेशनलाई सम्भावित दलीय मुठभेडबाट जोगाउँदै जनताको अपेक्षा र सरोकारका विषयलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । संसद् र सरकारप्रति जनताको धारणामा परिवर्तन ल्याउन पनि एकपटक पुनः राजनीतिक सहमति संसद्मा देखिनुपर्दछ ।

सम्भावित अवरोध र चुनौतीहरूलाई छिचोल्दै संसद् सञ्चालनमा देखिन सक्ने बाधाहरूतर्फ सचेत रहँदै सत्तापक्ष र प्रतिपक्ष संसद्को मूल काममा केन्द्रित हुन सके मात्रै संसद् प्रभावकारी बन्नेछ । अन्यथा चार महिनामा रहेका मुद्दाहरूलाई एकपछि अर्को गरी खोतल्दै जाने र विवाद सुल्झाउनतर्फ नजाने हो भने संसद्प्रतिको नागरिकको भरोसामात्रै टुट्दैन नीतिको अभावमा, कानुनको अभावमा रोकिएको समृद्धि यात्रा जहाँको तहीँ रहनेछ ।

(लेखक अधिकारी सङ्घीय संसद् सचिवालयका सञ्चारविज्ञ हुनुहुन्छ)

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij