२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

विचारः प्रकोप न्यूनीकरण–निर्मम आत्मसमीक्षा अत्यावश्यक

विचारः प्रकोप न्यूनीकरण–निर्मम आत्मसमीक्षा अत्यावश्यक

  • सोमबार, फाल्गुन १२ २०८१
  • विश्वमणि पोखरेल

काठमाडौँ, १२ फागुन (रासस)ः अहिले हिउँदको समय हो । पारिला घामको न्यानोमा आम जनसमुदायले जीवनयापन गर्ने मौसम हो । शिशिर ऋतुका माघ, फागुन सकिएपछि वसन्त बहारको समय आउँछ, चैत वैशाखको वसन्तीय सुगन्ध, बोटबिरुवामा नयाँ पालुवा पछि गृष्मका जेठ, असार र त्यसपछि वर्षा, अनि शरद्, हेमन्त हुँदै फेरि शिशिरकै आगमन हुन्छ । ऋतुहरुको यस्तो फेहरिस्त दिनाका कारण एउटै हो, प्रकृति चलयमान छन्, चञ्चल छन्, स्थिर छैनन् भन्नै अर्थमा हामीले लिनुपर्दछ भन्नु नै हो । हामी मानव जीवन, जीवजन्तु, वनस्पति सबै त्यहीँ प्राकृतिक नियममा चल्नुपर्ने हुन्छ, प्रकृति आफ्नो लयमा हुन्छ, हामी कहिले उसबाट पीडित हुन्छाँै, कहिले प्रोत्साहित हुन्छौँ, पल्लवित हुन्छौँ ।

सामान्य तथा जेठ दोस्रो सातादेखि असोज दोस्रो सातासम्मको पाँच महिनाको समय चुनौतीपूर्ण मानिन्छ नेपालका लागि । यो समयमा मनसुन भनिने वर्षा गराउने प्रणाली सक्रिय हुन्छ । मनसुन हाम्रो जीवन हो तर वर्षाको मात्रा र प्रवृत्तिअनुसार मनसुनबाट लाभ मात्र लिँदैनौँ, यसले विनाश पनि उत्तिकै गर्दछ । यसै वर्षको असोज १० देखि १३ गतेसम्म परेको अधिक वर्षा र त्यसबाट सिर्जित बाढी, पहिरो र डुबानले मुलुकको राजधानी समेत तहसनहस हुनपुग्यो । मानवीय र भौतिक रुपमा ठूलो क्षति भयो । ती तीन दिनमा भएको क्षतिको यकिन आर्थिक, सामाजिक विवरण अहिलेसम्म आइसकेको छैन, अध्ययनहरु जारी रहेको बुझिन्छ । तीन दिनको वर्षाबाट सिर्जित बाढी, पहिरो र डुबानबाट करिब रु ४६ अर्ब ६८ करोडको क्षति भएको बताइँदैछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनमा यस विपद्मा भौतिक पूर्वाधारतर्फ करिब रु ३९ अर्बको क्षति भएको छ र भौतिक पूर्वाधारमा भएको क्षतिको पुनर्निर्माणमा मात्र करिब रु २८ अर्ब लगानी आवश्यक हुने अनुमान छ । बिपी राजमार्गमा रोशी खोला र सुनकोशीले विशेष गरेर करिब आठ किलोमिटर सडक नराम्ररी भत्काएको हो । सडक विभागको अध्ययनअनुसार बिपी राजमार्ग पुनर्निर्माण गर्न खास गरेर आठ किमीका लागि करिब रु १० अर्ब बजेट अनुमान गरिएको छ ।

तीन वर्षको तथ्याङ्कलाई मात्र लिएर हेर्दा हामी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मानवीय क्षति ब्यहोर्दैछौँ र प्रत्येक वर्ष अर्ब मूल्यमा प्राकृतिक प्रकोपको मूल्य चुकाउँदैछाँै । प्राधिकरणका अनुसार विगत तीन वर्षको क्षति हेर्दा २०७९ मा प्रकोपबाट ४८४ को मृत्यु, ३७ जना बेपत्ता बने भने सात हजार ५०२ परिवार प्रभावित बनेका छन् । यो वर्ष रु दुई अर्ब ८५ करोड ९९ लाख ३६ हजार ४०० मूल्य बराबरको क्षति भएको छ । २०८० सालमा ४९१ जनाको मृत्यु र ३१ जना बेपत्ताको सूचीमा छन्भने ८० हजार बढी परिवार प्रभावित बनेको देखिन्छ र पाँच अर्ब ४२ करोड १७ लाख ५२ हजार ४४४ मूल्य बराबरको क्षति भएको छ ।

त्यस्तै यस वर्षको क्षति बितेका २ वर्षको तुलनामा अधिक छ । २०८१ कात्तिकसम्ममा ६४९ को मृत्यु भयो भने ६६ बेपत्ता छन्, १५ हजार बढी परिवार प्रभावित बनेको देखिन्छ । असोज महिना मात्र २७० को मृत्यु, १८ जना बेपत्ता भएका छन्भने करिब छ हजार २०० परिवार प्रभावित छन् ।

विगत तीन वर्षका मानवीय र अन्य क्षतिहरुको विवरणबाट स्पष्ट हुन्छ हामी बर्सेनि निकै ठूलो मात्रामा क्षतिहरु व्यहोर्दैछौँ । के यो हाम्रो नियति हो ? प्रत्येक वर्ष विशेष गरेर वर्षाका बाढी, पहिरो र डुबान गरेर ५०० वा त्योभन्दा धेरै मानवीय क्षति व्यहोर्दै जानुपर्ने बाध्यता हो हाम्रो ? कि हामीले प्रकृतिको भाषा र भाकालाई आत्मसात् गर्दै जीवनयापन गर्न नसकेर यति ठूलो क्षति भोग्नु परिरहेको छ ? प्रकृतिको प्रकृति र प्रवृत्तिअनुसार हामी चल्न नसकेर, नजानेर क्षतिको ग्राफ उक्लिँदै गएको त होइन ? भन्ने प्रश्नहरुको जवाफ खोज्नुपर्ने भएको छ ।

प्रकृतिको भाषालाई प्रशासनिक चस्माले मात्र हेरिएकाले यस्तो समस्या आएको त होइन ? कतै शासकीय कमजोरी, अव्यवस्थापन, भौतिक विकासमा गरिने हेलचेक्र्याइँका कारण हामी पीडित बनिरहेका त होइनाँै ? बृहत् विवेचनाको आवश्यकता खड्किएको छ र प्रकोप न्यूनीकरणसँग सम्बन्धित पक्ष र सरोकारवालाहरुले निर्मम आत्मसमीक्षा गर्न टड्कारो बन्दै गएको छ ।

बिपी राजमार्गमा वर्षाले धेरै क्षति गर्यो तर कतिपय स्थानमा खोला मिचेर सडक बनाएको होइन र ? खोला किनाराका घरहरु भत्किए ? खोलाको दोष कि खोलाको किनारामा घर बनाउनेको अल्पज्ञान दोष ? राजधानीमा विकासका नाममा जताततै सडक बनाइए, पानी निकासको उचित प्रबन्ध गरिएन ? एकातिर भूक्षय अर्कोतर्फ मानव सिर्जित फोहरमैला नदीमा फाल्ने प्रवृत्ति र नदीको बहाव क्षेत्र सीमित गर्ने यावत् कर्मले नदीको सतह उचालियो, बाढी आउँदा पानी मानव बस्तीमा पस्यो ? यी यावत् प्रश्नहरु हामी आफैँले सिर्जित गरेको होइन ? अब उत्तर खोजिनु पर्दछ । होइन भने बर्सेनि ठूलो सङ्ख्यामा मानवीय क्षति, अर्बौंका क्षति हुने र पुनर्निर्माणका नाममा झन् ठूलो धनराशि खर्चनुपर्ने सिलसिला बढ्दै जाने खतरा सामुन्ने छन् ।

प्रकोप निर्मूल गर्न सम्भव छैन, हाम्रो भूखण्ड नै प्रकोपमूलक भएकाले । तर, प्रकोप न्यूनीकरण गर्न सकिन्छ, अब ध्यान त्यतातिर केन्द्रित हुनुपर्दछ । सरकारका तीन तह सङ्घीय, प्रदेश र स्थानीय तहबीच योजनाबद्ध, कार्यगत समन्वयन र सहकार्य हुनसक्यो भने अहिले भइरहेको क्षतिमा व्यापक सुधार गर्न सकिन्छ । सङ्घीय सरकारले नीतिगत व्यवस्था गर्ने र सबै पालिकाहरुले आफैँले प्रकोपजन्य जोखिम न्यूनीकरण गर्ने योजना बनाउन सक्छन्, जुन प्रभावकारी बन्नसक्छ । यसका लागि स्थानीय तहहरु आफैँले आफ्ना पालिकाहरुको प्रकोप नक्सा बनाउने र त्यहीँ नक्साका आधारमा भौतिक पूर्वाधार, बसोबासका योजनाहरु सञ्चालन गर्ने परिपाटी बन्यो भने अहिले भइरहेका क्षति स्वतः घट्ने हुन्छ । प्रकोप नक्सा बनाउने प्रविधि र जनशक्ति नेपालमा उपलब्ध छ । पालिकाहरुको क्षेत्रफल, भूबनोट, भूगर्भ, खोलानालालगायत आधारमा नक्सा बनाउन चार÷पाँच लाखदेखि बढीमा रु ३०÷३५ लाख लाग्न सक्ने जानकारहरु बताउँछन् । यो रकम पालिकाहरुले आफ्नै स्रोतबाट गर्न सक्छन् ।

प्रकोपका घटनाको सामना गर्नुभन्दा प्रकोप न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्नु बुद्धिमानी हो । नक्सा बनिसकेपछि नक्साकै आधार मानेर बस्ती विकास, पूर्वाधार विकास, खानेपानी, फोहर व्यवस्थापनलगायत काम गर्न सकिन्छ । जग्गा कारोबारीको चाहनाअनुसार जथाभावी बाटो निर्माण गर्ने प्रवृत्तिमा नियन्त्रण गर्न नक्सा सहयोगी हुन्छ । हामीहरु भइरहेका प्रकोप नक्साको प्रयोग पनि गरिराखेका छैनाँै, गर्न सकेका छैनौँ । खानी तथा भूगर्भ विभागले कतिपय प्रमुख सहर बजारहरुको प्रकोप नक्सा बनाएको छ ।

त्यस्तै पहिरोको खतराहरु कहाँकहाँ, कुन रुपमा छन् भन्ने नक्सा पनि विभागमा तयार छ । काठमाडौँ, पोखराको नक्सा त आजभन्दा २७ वर्षअघि बनेको हो । यसबाहेक बुटबल, भरतपुर, धरान, वीरेन्द्रनगर, सुर्खेत, महेन्द्रगर, वीरगञ्ज, जलेश्वर, भद्रपुर, टीकापुर ३१ वटा सहर बजारको प्रकोप नक्सा विभागले बनाएको छ । ती नक्साहरुको व्यावहारिक प्रयोग भयो त ? भएको छैन । कतिपय पालिका नक्साबारे बेखबर छन्भने कतिपय नक्सा कार्यान्वयनको पक्षमा देखिएका छैनन् ।

यसमा पोखरालाई उदाहरणका रुपमा लिन सकिन्छ । पोखरा नगरपालिकाको भित्तामा सम्भवतः खानी विभागले त्यसबेला टाँसेको नक्सा अझै हुनुपर्दछ । केही वर्षअघि तत्कालीन लेखनाथ नगरपालिकाको अर्मलेका घरहरु भासिए, सडक भासियो । त्यहाँ जग्गाका कारोबारीहरुले प्लटिङ गरेर घडेरी बेचेका थिए । घडेरी लिनेहरुको घर बनाए । अर्मले आवासका लागि उपयुक्त थियो त ? पोखरा उपत्यकाको प्रकोप नक्सामा अर्मलेको फाँटलाई ‘प्रोटो सब्सिडेन्स’ भनेर चिनो लगाइएको छ । अर्थात् भासिने खतरा भएको भूसतह भनिएको थियो । भासिनुमा दोष कसको ? हाम्रो बेवास्ता र जथाभावी विकास गर्ने मनोविज्ञानको । यो एउटा घटना मात्र हो । अन्धाधुन्ध सहरीकरण उन्मुख कतिपय सहरहरु आफँै प्रकोपको खतरा निम्त्याइरहेका छन् ।

नेपालमा प्रकोप न्यूनीकरणको क्षेत्रमा सन् १९९० देखि काम भएका हुन् । तर यति लामो समयको अनुभवबाट पनि हामीले धेरै सिक्न पाएका छैनौँ भन्ने कुराहरु पनि हुने गर्दछ । समस्या छन् भनेर तदर्थवादमा चलिरहने वा नयाँ शिराबाट अगाडि बढन् ? अहिलको अहम् प्रश्न हो । प्रकोप न्यूनीकरणको समाधान के ? सबैभन्दा पहिला सरकारले आफैँले गरेका काम कार्यान्वयनमा ल्याउन सक्नुपर्यो ।

खानी विभागको काम नक्सा मात्र कोर्ने हो कि ती नक्सा सम्बन्धित पालिकाहरुमा लगेर नक्साका बारेमा जानकारी पनि दिने हो ? प्रकोप न्यूनीकरणको जिम्मेवारी लिएर बसेको प्राधिकरणले यस्तो काम गर्ने हो कि, होइन ? प्रकोप न्यूनीकरणको काममा प्राविधिक ज्ञान, प्रविधिको उपयोग, पालिकाहरुमा जागरण र जनचेतना पनि आवश्यक हुन्छ । जोखिममा रहेका बसोबासहरुको स्थानान्तरणको प्रश्न पनि आउनसक्छ । यस्तो अवस्थामा सङ्घीय सरकार र पालिकाहरुबीच सहकार्य र समन्वय हुन आवश्यक छ ।

सरकारको एउटा निकायले पहिरोका जोखिमहरुको नक्सा बनाउने र हाडड्राइभमा सुरक्षित राख्ने । अर्को निकायले पहिरो गएपछिका मानवीयलगायत क्षतिहरुको विवरणहरु सङ्कलन गरेर आफ्नो वेभ पोर्टलमा प्रकाशन गर्ने ? प्रकोप न्यूनीकरणको जिम्मेवारीको प्राधिकरण गृह मन्त्रालयको मातहत छ र प्रहरीसँग मिलेर उद्धार राहतमा केन्द्रित भएको देखिन्छ । प्रकृति आफ्नो लयमा हुन्छ । वर्षा, भूकम्प, बाढीपहिरो हाम्रा नियति हुन् । प्राकृतिक घटना आफैँमा प्रकोप होइनन् । घटनाहरुले क्षति पुर्याएपछि प्रकोप भनिएको हो । प्रकोप हाम्रा कारणले हुने हो, प्रकोप न्यूनीकरण पनि हाम्रै प्रयासले सम्भव छ । तर यसका लागि प्रकोप न्यूनीकरणको मुद्दालाई राज्यले उच्च प्राथमिकतामा राख्दै निर्मम समीक्षा गर्न आवश्यक छ ।

(भूगर्भ शास्त्रका अध्येता पोखरेल पत्रकार हुनुहुन्छ)

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij