काठमाडौँ – रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकीमा वडाअध्यक्षको नेतृत्वमा गाउँलेले आक्रमण गरेका छन् । मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा चौकीमा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मदिरा सेवन गरेर वडाअध्यक्ष केसीसहितको टोलीले प्रहरी चौकीमा आक्रमण गरेको डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
वडाअध्यक्ष केसीसहितको टोलीले मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि सम्झाउन गएको प्रहरीटोलीसँग विवाद भएको थियो । विवादपछि वडाअध्यक्षको नेतृत्वमा गाउँलेहरु जम्मा भएर चौकीमा आक्रमण गरेका डीएसपी केसीले बताए ।
उनीहरुले प्रहरीमाथि पनि हातपात गरेका छन्, कायालयमा तोडफोड भएको छ, हतियार समेत खोस्न खोजेका थिए’, डीएसपी केसीले भने ।
आक्रमणपछि फरार रहेको उनीहरुको प्रहरीले खोजी गरिरहेको छ । ‘फरार रहेका उनीहरुको खोजीका लागि प्रहरी खटिएको छ, घरमा भेटिएका छैनन्’, केसीले भने । वडाअध्यक्ष केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्ष हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij