ललितपुर उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत निकै नै सक्रिय र सशक्त संघको रुपमा रहँदै आएको छ । काष्ठकला, मुर्तिकला लगायतका विभिन्न कलानगरीको रुपमा निकै नै प्रख्यात रहेको यस ललितपुर जिल्लाको आफ्नै ऐतिहासिक महत्व छ । धार्मिक पर्यटनको समेत राम्रो सम्भावना बोकेको ललितपुरमा भएका अन्य विभिन्न सम्भावनाहरु खोजी गर्ने कार्य जुन गतिमा हुनुपर्ने हो, त्यो भने हुन सकेको छैन । यद्यपि ललितपुरका विभिन्न सम्भावनाहरुको खोजी गर्ने तथा यस क्षेत्रका व्यवसायीहरुको हकहित र अधिकारको निम्ति ललितपुर उद्योग वाणिज्य संघले पनि विभिन्न पहलहरु गर्दै आएको छ । हाल यस उद्योग वाणिज्य संघमा करिब २१ सय सदस्यहरु रहेका छन्।
आगामी योजना ः
ललितपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले ललितपुर क्षेत्रको समग्र विकासको निम्ति केही योजनाहरु अघी सारेको छ । ती मध्ये महिला तथा युवा उद्यमीलाई प्रोत्साहनमूलक योजनाहरु सराहनीय छन् भने यस क्षेत्रको विकासको निम्ति अन्य विविध योजनाहरु समेत अघी सारिएको छ ।
हामेस्टे सिटी देखि टेक्सटाइल हब सम्मको योजना ः
ललितपुरलाई होमस्टे सिटीको रुपमा समेत अघी बढाउन सकिन्छ । ललितपुरमा यस्ता विभिन्न क्षेत्रहरु छन् । जसले आफैंमा पृथक महत्व बोकेका छन् । लुभु क्षेत्रलाई टेक्सटाइल हबको रुपमा विकास गर्न सकिने, चापागाउँ, लेले, लामाटार लगायतको क्षेत्रमा होम स्टे स्थापना गर्न सकिने लगायतका विभिन्न सम्भावनाहरु यस क्षेत्रमा छन् । यसबाट स्थानीय जनताहरुको आर्थिक अवस्था माथि उठाउन निकै नै सहयोगी हुने ललितपुर उद्योग वाणिज्य संघको विश्वास छ ।
होम स्टेलाई सामान्य तवरले बस्ने कामको लागि मात्र नभइ व्यापक क्षेत्रको रुपमा अघी बढाउन सके र यसबाट स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा पर्यटन प्रवद्धनमा निकै नै सहयोगी हुने ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी बताउनुहुन्छ ।

विज्ञहरुको टिममा निजी प्रतिनिधिलाई समेट्ने प्रयाश ः
पछिल्लो समय महानगरपालिकाले सम्बन्धित क्षेत्रको विकासको निम्ति एउटा विज्ञहरुको टिम बनाउने तयारी गरेको छ । त्यस टिममा निजी क्षेत्रको प्रतिनिधिको संलग्नता अनिवार्यतामा वाणिज्य संघले पहल गरेको छ ।
वस्तुगत संघहरुलाई समेट्ने प्रयाश ः
हाल ललितपुरमा सबै गरी २९ ओटा वस्तुगत संघहरु सञ्चालनमा आएका भएपनि आधिकारिक रुपमा १७ ओटा वस्तुगत संघहरु मात्र उद्योग वाणिज्य संघमा दर्ता भएका छन् । विगतमा निकै कम रहेका वस्तुगत संघहरु पनि पछिल्लो समय उद्योग वाणिज्य संघमा दर्ता हुन थालेका छन् । आगामी दिनमा ती सबै वस्तुगत संघहरुलाई उद्योग वाणिज्य संघ अन्तरगत नै ल्याउनको निम्ति समेत पहल हुँदै जाने जोशी बताउनुहुन्छ ।
कल्याण तथा सुरक्षा समिति गठन ः
हाल औद्योगिक क्षेत्रलाई व्यवस्थित तवरले सञ्चालन गर्न र उद्योग वाणिज्य संघ सँग नियमित सम्पर्कमा रहनको निम्ति औद्योगिक क्षेत्रमा कल्याण तथा सुरक्षा समिति समेत गठन गरिएको छ । उक्त समिति संघका पूर्व अध्यक्षकै संयोजकत्वमा भएको हो ।
गन्य गतिविधिहरु ः
ललितपुर क्षेत्रमा उद्योगी तथा व्यवसायीहरुको हकहितको निम्ति मात्र उद्योग वाणिज्य संघले काम गरेको छैन । विभिन्न सामाजिक तथा जनजिविकासँग प्रत्यक्ष जोडिएका कार्यहरुमा समेत ललितपुर उद्योग वाणिज्य संघ निकै सक्रिय तवरले संलग्न रहँदै आएको छ । भू–कम्प पछिको पूननिर्माण, होमस्टे लगायतका कार्यहरु उद्योग वाणिज्य संघले अघी बढाउन प्रयाश गरेको भएपनि ती कामहरु जुन गतिमा सम्पन्न हुनुपर्ने थियो, त्यो भने हुन सकेको छैन ।
वैदेशिक प्रदर्शनीहरुमा संलग्नता ः
कला र संस्कृतिको निम्ति निकै राम्रो जिल्ला ललितपुरको क्षमता र सम्भावना बारे विश्वका विभिन्न देशहरुमा आयोजना हुने मेलाहरुमा सहभागि भइ संलग्नता जनाउने काम समेत हुँदै आएको छ ।
सीपमूलक व्यवसायको संरक्षणमा विशेष पहल ः
ललितपुर क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न कलात्मक व्यवसायहरु अहिले पनि पारिवारिक व्यवसायको रुपमा नै सञ्चालन हुँदै आएका छन् । यस्तो अवस्थामा ललितपुर क्षेत्रमा रहेका ती सीपजन्य व्यवसायहरु एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरणकै माध्यमबाट दोस्रो पुस्ताको व्यक्तिले सिक्ने र त्यसै आधारमा नै संरक्षण समेत हुने प्रचलन नौलो होइन । यद्यपि पछिल्लो समय भने यस्ता पारिवारिक व्यवसायको रुपमा रहेका सीपमूलक व्यवसायहरु सङ्कटमा छन् । जुन विस्तारै हामीबाट लोप हुन सक्छन् । यसैकारण यस्ता सीपमूलक व्यवसायहरु व्यापक विस्तारको निम्ति ठूलो सङ्ख्यामा इच्छुक व्यक्तिहरुलाई तालिम समेत दिनुपर्ने आवश्यकता छ । यसको निम्ति व्यापार तथा निकासी प्रवद्धन वोर्डसँग सहकार्य गरिएको छ । यसको अलावा ललितपुर क्षेत्रलाई हस्तकला नगरीको रुपमा चिनाउने र ललितपुरको खासगरी पाटन क्षेत्रमा सीमित रहेको हस्त तथा शिल्पकलालाई जिल्लाका सबैजसो क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता समेत देखिन्छ ।
ललितपुरका अन्य सम्भावनाहरु ः
ललितपुर क्षेत्र मुर्तिहरुको अलावा ज्वेलर्स, फ्लोरिकल्चर, काष्ठकला (खोकना र बुङ्मतीमा प्रख्यात) लगायतको निम्ति निकै नै राम्रो सम्भावना भएका क्षेत्रहरु हुन् । यद्यपि यस जिल्लामा भएका यी विभिन्न सम्भावनाहरु अहिले जुन रुपमा प्रभावकारी ढङ्गले अघी बढ्न सक्नुपर्ने थियो, त्यो भने हुन सकेको छैन । लुभुमा टेक्स्टाइलको राम्रो सम्भावना रहँदारहँदै पनि अहिले सम्म उक्त टेक्सटाइल निकै ओझेलमा छ । लुभु क्षेत्रलाई टेक्स्टाइल हबको रुपमा अघी सार्नु जरुरी छ ।
ललितपुर उद्योग वाणिज्य संघका सहयोगी संस्थाहरु ः
हाल ललितपुरको विकास तथा अन्य कार्यहरुको निम्ति उद्योग वाणिज्य संघलाई विभिन्न संस्थाहरुले समेत हातेमालो गर्दै आएका छन् । व्यापार तथा निकासी प्रवद्धन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका लगायतका संस्थाहरु सहयोगी संस्था हुन् ।
नयाँ उद्योगको सम्भावना ः
ललितपुर क्षेत्रमा नयाँ उद्योग र उद्यमीहरु फस्टाउने सम्भावना छ । जुन निकै जरुरत पनि छ । यसको निम्ति विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै उद्यमशिल युवा र महिलावर्ग उत्पादन गर्नुपर्ने जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij