२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउन र कोरोना सङ्कटका अढाइ महिना

लकडाउन र कोरोना सङ्कटका अढाइ महिना

-ध्रुबराज घिमिरे

परिवारका सदस्यहरुबीच पनि भेटघाट र कुराकानी विरलै हुने काठमाडांैको व्यस्तताका बीचमा विदा वा फुर्सदको कुरा त केवल कल्पनाको कुरा थियो । यसरी मेसिनको रफ्तारमा दौडिरहको यस जीवनको कालखण्डमा चैत ११ गतेबाट लकडाउन शुरु भयो । त्यो समय म जस्ता व्यस्त मजदुर तथा पेशाकर्मीको लागि कम खुसीको विषय थिएन । पहिला १–२ दिन त खुवै रमाइलो गरियो । कोरोनाको डर त थियो तथापि नेपाल एक संक्रमणमुक्त देश थियो । बाहिर बन्द थियो अनि काम वा अफिसमा विदा थियो । केहि पैशाको जोहो त थियो नै सामानको बजारमा अभाव थिएन । यी र यस्तै कारणले गर्दा शुरुका दिनमा इन्टरनेट, फेसबुकमा रमाउने, परिवारका साथमा रमाइलो गर्ने, बर्षौदेखिका असहमतिको मिलनबिन्दु खोज्ने काम जीवनका केही अविष्मरणीय याद बनेर रहे । यी बाहेक धुलो, धुवाँ, प्रदुषण र फोहरबिनाको सुन्दर काठमाडौं हेर्दा स्वर्गबाट इन्द्रले एक टुक्रा नै खसाइदिएझै‌ं लाग्दथ्यो । काठमाडौंले रुप फेरेर एक कुमारीको रुप धारण गरेको थियो ।

बिस्तारै लकडाउन लम्बिन थाल्यो, म जस्ता मासिक तलब खानेलाई त खासै असर गरेको थिएन तथापि दैनिक मजदुर तथा आर्थिक रुपले कमजोर वर्गका मानिसको भकारी हप्ता दिन बित्दा नबित्दै सिध्यिएपछि सडकमा मानिसको लर्को लाग्न थाल्यो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चाउचाउ र विस्कुटका भरमा खाली खुट्टाका मानिसहरुका ताँती देखिए । बजारमा सामान त थियो तर थिएन केवल आर्थिक उपार्जन ।

लकडाउन हप्ता हुँदै महिनामा परिणत हुँदै जाँदा सामाजिक सञ्जालमा देखिने स्वादिष्ट भोजनका तस्बिर पनि हराउँदै जान लागे, बजारमा पाइने सामानमा पनि नजानिँदो मूल्यवृद्धि भयो । सरकारी कर्मचारीहरुको पनि भत्ता गुम्यो, उद्योगी व्यवसायीहरु धरासयी भए, निजी प्रतिष्ठानका कर्मचारीहरु सडकमा आए अर्थात यसबाट कुनै क्षेत्र पनि अछुतो रहेन । बजार चलायमान त भयो केवल अत्यावश्यक वस्तुको लागि मात्रै ।

संक्रमितको सङ्ख्या अब बिस्तारै उकालो लाग्दै गर्दा यसबाट पहिलो मृत्युको खबर मे १७ मा आयो । त्यसपछि जनमानसमा झन सन्त्रास फैलियो । बाहिर कोरोना संक्रमणको रफ्तार बढ्दै गर्दा भित्र कतिको चूल्हो निभ्यो, कतिले नियमित औषधि सेवन गर्नबाट वञ्चित भए । यतिमात्र होइन थुप्रै गर्भवती तथा सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउनुपर्यो, अर्थात संसार ठप्प भयो ।

लकडाउनले अढाई महिना पार गरिसक्दा आज अधिकांश मानिसले कोरोनालाई चिन्ने र बुझ्ने मौका प।एका छन । आफ्नै आमाको मृत्यु हुँदा संक्रमण नदेखिएका दूधे बालकले पनि बजार बन्द गर्नुको औचित्य देखेको छैन । मृत्युदर जम्मा २ प्रतिशत मात्र भएको यो महामारीबाट अर्थतन्त्र सखाप पार्नु के उचित होला त ?

अमेरिका तथा भारतजस्ता अधिक संक्रमित मुलुकले त सावधानीपूर्वक बजार खोलिसकेको दृष्टान्त हामीमाझ छ । आफ्नो सबै काम बन्द हुँदा दैनिकी टार्ने उपाय के हुनसक्ला ? आफैं अधिक सावधानी अपनाउँदा यो संक्रमण निस्तेज हुने प्रमाणित भईसकेको छ ।

अबको बाटो भनेको लकडाउनलाई अन्त्य गरी सावधानीपूर्वक आ–आफ्नो पेशा गरौं, हाम्रो काम गराईको तरिका परिवर्तन गरौं, परिवारमा पनि अलग्गै बसौं, आपसी समझदारी कायम गरौं, कोरोना निश्तेज गर्ने सबै उपाय अबलम्बन गरौं तर बजार बन्द कदापि नगरौं । समयले कसैलाई नपर्खिने कटु सत्यलाई स्वीकार गरी अब भित्र नबसौ, सचेत र सुरक्षित रही आ–आफ्नो कर्म गरी जीविकोपार्जन गराै‌ं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij