काठमाडौं- वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका एक लाख २७ हजार कामदार तत्काल नेपाल फर्कन आँतुर रहेको जनाएको छ। उनिहरु कतार,यूएई, साउदी अरब, मलसिया, ओमान र बहराइनमा कार्यरत छन्। उनिहरु लकडाउन खुल्ने प्रतिक्षा गर्न सक्ने अवस्थामा नरहेको बोर्डले जनाएको छ।
यस्तै ४ लाख ७ हजार कामदार लकडाउन खुलेलगत्तै नेपाल आउन चाहेको बोर्डले जनाएको छ। इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन-आईओएएमका अनुसार २३ लाख ६५ हजार ८ सय ७५ जना नेपाली विभिन्न प्रयोजनका लागि हाल विदेशमा रहेका छन्। यसमा वर्किङ भिसामा जानेको संख्या भने समावेश छैन। आईओएमको तथ्यांकअनुसार करिब १५ लाख नेपाली भिजिट भिसामा विदेश रहेका छन्।
विभिन्न देशमा रहेका नेपाली कामदारहरुले स्वदेश फर्कन पाउनपर्ने माग राख्दै त्यहाँ रहेका नेपाली कुटनीतिक नियोगमा धर्ना दिन सुरु गरेका छन्। चैत ११ गतेदेखि नेपालमा सुरु भएको लकडाउनयता विदेशमा नेपालीलाई समेत आउन प्रतिबन्ध लगाइएको छ।
सर्वोच्च अदालतले अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन वा त्यहाँ खाने बस्ने र औषधी उपचारको व्यवस्था गर्न सरकारलाई आदेश दिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij