काठमाडौँ – नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आज (शुक्रबार) देखि जोरविजोर प्रणाली लागु हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
शुक्रबारदेखि काठमाडौँ उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ ।
उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालका अनुसार आजदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने छ ।
उनले जसअनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पांग्रे सवारी साधन ( मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाइने बताए ।
जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।
अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ बजे बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लगाइएको छ ।
तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैनन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij