
काठमाडौँ ,वैदेशिक रोजगार विभागको महानिर्देशकमा मदन दाहाल नियुक्त भएका छन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय अनुसार मङ्गलवार मन्त्रालयका सहसचिव दाहाललाई विभागमा पठाउने निर्णय गरिएको हो ।
राजश्व अनुसन्धान विभागको महानिर्देशक पछि श्रम मन्त्रालयमा सरुवा भई आएका दाहालले नेपाल इन्भेष्टमेन्ट बैंकको अरबौँ कर छलीको अनुसन्धान अघि बढाएसँगै चर्चा कमाएका थिए ।
मुख्य व्यक्तिहरूको मात्र बयान लिन बाँकी छँदा उनको सरुवा गरिएको थियो । यसपछि केही समय मन्त्रालय बसेका दाहाललाई मन्त्रालयले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
दाहाल महानिर्देशक भएर विभाग गएपछि पुर्व महानिर्देशक उमाकान्त आचार्य मन्त्रालय आएका छन् ।
आचार्यले विभागमा ९ महिना विभागीय प्रमुख भएर काम गरे । पछिल्लो समय मन्त्रालय तथा मातहतका निकायहरूबाट दिइने सेवाहरूमा केही सुधार देखिएको थियो ।
नीतिगत निर्णयहरूसँगै सेवालाई प्रविधिसँग जोड्ने सचिव एकनारायण अर्यालको प्रयासले कुनै समय कार्यालयको नाम सुन्दै तर्सिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
सचिव अर्यालको श्रम मन्त्रालय प्रवेशसङ्गै श्रम मन्त्रालय र मातहतका निकायले छलाङ्ग मारेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij