२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

राजनीतिलाई उद्यमशिलतासँग जोडेका अगुवा कृषक नेता

राजनीतिलाई उद्यमशिलतासँग जोडेका अगुवा कृषक नेता

कृष्ण प्रसाद अधिकारी
अध्यक्ष, अखिल नेपाल किसान महासंघ, (काठमाडौं)

नेकपा (एमाले) अन्तरगत वैचारिक तवरले संलग्न रही लामो समय राजनीतिमा संलग्न रहेका झोरमहाकालका कृष्ण प्रसाद अधिकारी २०५४ सालको निर्वाचनमा २३ बर्षको कलिलो उमेरमा झोरमहाकाल गाविसका अध्यक्ष भइ काठमाडौंको कान्छो गाविस अध्यक्षको रुपमा चर्चा कमाएका व्यक्ति हुन् । हँसिलो, मिजासिलो, सरल स्वभावका अधिकारी सबै पक्षलाई उचित तवरले व्यवस्थापन गर्ने क्षमता भएका व्यक्ति पनि हुन् ।

व्यावसायिक कृषक देखि राजनीति सम्मको अनुभव :

टोखा नगरपालिकाको हाल वडा नम्बर १ मा पर्ने झोरमहाकालमा करिब १८ रोपनी क्षेत्रफलमा टनेलमा आधारित व्यावसायिक कृषि समेत गर्दै आएका अधिकारी अखिल नेपाल किसान महासंघका काठमाडौं जिल्ला अध्यक्ष पनि हुन् । गत बर्ष काठमाडौं जिल्लाबाट उत्कृष्ट कृषकलाई दिइने राष्ट्रपति पुरष्कारबाट समेत सम्मानित अधिकारी अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटी सदस्य पनि हुन् ।
नेकपा (एमाले) ६ नम्बर क्षेत्रीय कमिटीको सचिवको रुपमा २ कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेका उनी कृषिमा लाग्न चाहने व्यक्तिहरुमा जागरण ल्याउने कार्यमा लामो समय देखि संलग्न रहँदै आएका छन् ।

जन प्रतिनिधि हुँदा देखि हाल सम्म पनि विकास निर्माणमा उत्तिकै सक्रिय रुपमा संलग्न रहँदै आएका अधिकारी अब प्रदेश सरकार र नगरपालिकाहरुले आगामी दिनमा काठमाडौंको क्षेत्र नम्बर ६ को विकास कार्यलाई गति दिने सम्बन्धमा राष्ट्रिय आर्थिक मासिकसँगको कुराकानीको क्रममा व्यक्त गरेको धारणामा आधारित रिपोर्ट :

क) पदमार्ग र पर्यटनः
पर्यटनको राम्रो सम्भावना रहेको टोखा र तारकेश्वर नगरपालिकामा पर्ने ६ नम्बर क्षेत्रको विकासको लागि अधिकारी निरन्तर चिन्तित छन् । उनले चण्डेश्वरी देखि बौंडेश्वर हुँदै तारकेश्वर सम्मको धार्मिक तथा पर्यटकीय पदमार्ग निर्माण गर्न सकिने अवधारणा अघी सारेका छन् । उक्त पदमार्ग करिब १५ किलोमिटर रहेको बताइन्छ । साथै उक्त कार्य अघी बढिसकेको पनि छ । यसको निम्ति पहिलो चरणको आधारभूत कामको शुरुवात भएको छ । उक्त योजनालाई नगरपालिका तथा नेपाल पर्यटन बोर्ड लगायतका संस्थाहरुले पनि चासोको साथ लिई रकम विनियोजन समेत गरिसकेका छन् ।
काठमाडौंको मुख्य शहरी क्षेत्रबाट ५-६ किलोमिटरको दूरीमा मात्रै रहेको उक्त पदमार्गलाई वहुउपयोगी मार्गको रुपमा विकास गर्ने सोच राखिएको छ । यसैबमोजिम उक्त सडकखण्डमा साइकल यात्रा, फलफूल बगैंचा, वनभोजस्थल लगायतका सेवा समेत विस्तार गरिने लक्ष्य राखिएको छ । जसले गर्दा आन्तरिक पर्यटन प्रवद्र्धनको निम्ति उक्त पदमार्ग निकै प्रभावकारी हुने विश्वास लिइएको छ । यसबाट काठमाडौंमा गुणस्तरीय र वातावरणमैत्री पर्यटनको प्रवद्धनमा सघाउ पुग्नेछ । उक्त पदमार्ग बन्न सके प्रत्यक्ष रुपमा २ सय रेष्टुरेन्ट सञ्चालनमा आउनेछन् । साथै हजारौंलाई रोजगारी सृजनाको माध्यम बन्ने, स्थानीय उत्पादनहरुको बजार प्रवद्धन हुने यसको अलावा होम स्टे समेत सञ्चालनको निम्ति उपयुक्त वातावरण बन्ने विश्वास लिइएको छ ।

कृषियोग्य जमीनको संरक्षण र व्यवस्थित वस्ती विकास :
काठमाडौं उपत्यका भित्र नै हुँदाहुँदै पनि हाल सम्म काठमाडौंको उत्तरी क्षेत्र विकासको हिसाबले भने पछाडि नै छ । अहिले सम्म प्रशस्तै खेतीयोग्य खाली नै रहेको यस क्षेत्रको व्यवस्थित विकासको निम्ति खेतीयोग्य र आवासीय जमीनलाई छुट्याएर सोहिबमोजिम जमीनको वर्गिकरण गरी विकास कार्यलाई अघी बढाउनु जरुरी छ । अहिले सम्म तुलनात्मक रुपमा जनसङ्ख्या कम रहेको कारण यस क्षेत्रको जमीनलाई व्यवस्थित गर्ने कार्य तुलनात्मक रुपमा कम चुनौतीपूर्ण समेत देखिन्छ ।

व्यापक रोजगारी सृजना :
स्थानीय स्तरमा विकासको ढोका खोल्न र व्यापक रोजगारी तथा उद्यमशिलता विकास गर्नको निम्ति यो क्षेत्रलाई राम्रो सम्भावना बोकेको क्षेत्रको रुपमा समेत लिन सकिन्छ । दुवै नगरपालिकाका विभिन्न क्षेत्रलाई औद्योगिक ग्रामको रुपमा अघी बढाउने काम समेत प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।

नदीको संरक्षण र किनाराको व्यवस्थापन :
टोखा र तारकेश्वर क्षेत्रका खोलानालाहरु अहिले सम्म धमिलो भइसकेका छैनन् । यस क्षेत्रका खोलाहरुलाई थप संरक्षण गर्दै नयाँ अवसरहरु सृजना गर्न सकिने प्रचुर सम्भावना छ ।

युवालाई नेपालमा नै रोक्न सकिन्छ : अधिकारी
नेपालमा अहिले काठमाडौंका नदीकिनाराहरु अव्यवस्थित छन् । नदीकिनारालाई व्यवस्थित गर्नसके काठमाडौंको एउटै निर्वाचन क्षेत्रबाट नै हजारौं व्यक्तिहरुलाई रोजगारी दिन सकिने क्षमता र दृष्टिकोण तथा स्पष्ट खाका विभिन्न स्वदेशी तथा विदेशी कार्यशाला गोष्ठी, तालिम, भ्रमण तथा अध्ययनबाट विकास गरेका
अधिकारी यसो भन्छन्, ‘शिवपुरी क्षेत्र भन्दा बाहिर रहेका पर्ति जग्गा तथा नगरपालिकाका विभिन्न स्थानमा रहेका दुवै नगरपालिकाका जग्गाहरुको व्यवस्थापन गर्दै फलफूलका बगैंचाहरु स्थापना गर्ने आवश्यकता छ, जसबाट घरेलु, साना र मझौला स्तरका थुप्रै उद्योगहरु खोलेर सबै जनतालाई उद्यमशिलतासँग जोड्न सकिन्छ ।’ यसलाई नै आर्थिक उपार्जनको राम्रो आधार बनाउन सकिने देखिन्छ ।

अन्त्यमा,
काठमाडौंको उत्तरी क्षेत्रमा प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने र प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रशिक्षण केन्द्रहरु स्थापना गर्ने, स्वास्थ्यको विकासको निम्ति पनि प्रयाप्त अस्पतालहरु नगर क्षेत्रमा सञ्चालन गर्नु जरुरी छ । यसलाई व्यवस्थित गर्न तारकेश्वर तथा टोखा नगरपालिका र अब हुन लागेको प्रादेशिक निर्वाचनबाट निर्वाचित हुने क्षमतावान् सांसदहरुको आपसी सहकार्य नितान्त जरुरी समेत देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij