
काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली युवा समुदायमा मुक्तक प्रतिको आकर्षण बढ्दै गइरहेको छ ।
नेपाली युवाहरुको भावना, चाहना र सामाजिक आवश्यकतालाई मध्यनजर गर्दै कृतिकार सन्तोष अम्गाईंले प्रकाशनमा ल्याएको मुक्तक कृति ‘सयल’ नेपाली युवा समुदायमा यतिबेला निकै लोकप्रिय बन्न पुगेको छ ।
कृतिकार अम्गाईंले बजारको माग बमोजिम उक्त कृतिका २ संस्करण प्रकाशन गरिसकेका छन् । बजारको माग बमोजिम अब तेस्रो संस्करण समेत प्रकाशन गर्ने मनसायमा छन् उनी ।
नेपाली युवाहरुलाई प्रेरक साहित्यको आवश्यकता महसुस गरेर आफूले सामाजिक जागरणमा योगदान पु¥याउन सक्ने गरी सचेतनामूलक सामाग्रीलाई मुक्तक सङ्ग्रहका मुख्य विषयवस्तु बनाएको अम्गाईं बताउँछन् ।
मुक्तक सङ्ग्रहको पहिलो मुक्तकले नै युवाहरुलाई उद्यमशिलता जागरणको निम्ति प्रोत्साहित गर्ने प्रयाश गरेको पाउन सकिन्छ, जुन मुक्तक यस्तो छ ।
‘मह काढ, हात चाट पैसो पनि आउँछ
गुन्द्री बुन, कुचो बाट पैसो पनि आउँछ
सित्तैमा मेरा कुरा काट्दै हिँड्नुभन्दा
सैलुन खोल, कपाल काट पैसो पनि आउँछ ।’
आफ्नो क्षमता र समयलाई यत्तिकै नोक्सान हुन नदिई आफूसँग भएको सानोतिनो सीपलाई पनि व्यवसाय सञ्चालनको आधार बनाउन सकिने कुरामा जोड दिएको उक्त कृतिले कर्मजीवी हुन मुक्तकप्रेमीहरुलाई अवश्य घच्घच्याउने अपक्षा गर्न सकिन्छ ।
यसैगरी कृतिले सामाजिक विकृति र विसङ्गति बारेमा निःसङ्कोच आवाज बुलन्द पार्ने प्रयाश गरेको छ । मुलुकमा भ्रष्टाचार एवं विकृति बढ्नु र सामाजिक न्याय कमजोर बन्दै जानुमा शक्ति, पैसा र पहुँच मुख्य जिम्मेवार बन्दै आएको कुरामा समेत कृतिले आवाज उठाउन खोजिएको बुझ्न सकिन्छ ।
औंला लगायत शरीरका अङ्ग नै गुमाएका व्यक्तिमा समेत औंठा छाप जग्गा पास लगायत विविध काममा आवश्यक पर्ने व्यवस्थाले झण्झट निम्त्याउनुको अलावा घाउलाई पुनः बल्झाउने र थप समस्या सृजना गर्ने स्थिति रहेको, कानुनी राज्यको आभाष हुन नसकेको, सामाजिक व्यवस्थाका कारण बिनाकारण थुप्रै चोट सहनुपर्ने र अपमानित हुनुपर्ने स्थिति रहेको कुरालाई कृतिले सम्बोधन गर्न खोजेको छ ।
यसैगरी आफ्नो क्षमतामा भन्दा अरुको देखासिकी गर्ने नेपालीहरुको मनोवृति र प्रचलनले व्यावसायिक सुदृढीकरणमा समस्या सृजना गरेको कुरालाई पनि मुक्तकका हरफहरुमा प्रस्तुत गर्न खोजेको छ ।
समग्रमा समाजमा भएका विकृति, अन्याय, असमानता, ढोंगी प्रवृत्तिलाई न्यून गर्दै समाजलाई सभ्य, सुसंस्कृत, नैतिक एवं चरित्रवान् समाज निर्माणको निम्ति सबैभन्दा पहिले सबैले अरुलाई नभई आफैंलाई सुधार गर्न तयार हुनुपर्ने स्थितिलाई ‘सयल’ले सम्बोधन गर्न खोजेको छ ।
खुसी, शान्ति, प्रेम र न्याय सहितको सचेत, उद्यमशिल र उन्नत समाज हामी सबैको आवश्यकता भएकोले यस कार्यमा जो जहाँ छौं त्यहीँबाट जे गर्न सकिन्छ आत्मा देखि नै समर्पित भावले प्रस्तुत हुनुपर्छ भन्ने कुरामा यो कृतिले विशेष जोड दिन खोजेको छ ।
यसरी नै कृतिले कानुनहरु धेरै बनाउँदैमा सामाजिक अन्याय नघट्ने बरु व्यक्तिलाई भित्रैबाट जागरुक बनाउन सके कानुन भन्दा उक्त कदम बढी फलदायी हुने तर्क प्रस्तुत गरेको छ ।
मानवीयता हराउँदै गएको समाजमा पैसालाई विशेष महत्व दिईंदै आइएको र आर्थिक रुपमा कमजोर व्यक्ति कानुनी एवं कल्याणकारी मानिएको राज्यमा पनि सुरक्षित हुन नसकेको यथार्थलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, सचेतना एवं सामाजिक जागरणको दायित्व राज्य पक्षको हुनुपर्ने साथै अप्ठ्यारोमा रहेका व्यक्तिलाई सक्षम व्यक्तिबाट सहयोग हुनुपर्ने कुरामा कृतिकारले कृति मार्फत जोडदार आवाज उठाएका छन् ।
सामाजिक जागरणमा युवा वर्गको भूमिका महत्वपूर्ण रहने भएकोले आफूले युवा पुस्तालाई विशेष महत्व दिएको सेतोघर डट कमसँगको कुराकानीको क्रममा कृतिकार सन्तोष अम्गाईंले बताए ।
कृति पढ्न चाहने मुक्तप्रेमीहरूले कृतिकार अम्गाइलाइ ९८४०६०९०१४ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij