
अहिले हामी अत्यन्तै भागदौडको जिन्दगी बिताइरहेका छौं । हामी अधिकांशको मुख्य ध्यान जीवन जिउनमा केन्द्रित छ । जसको लागि धन नै मुख्य विषय बन्दै आएको छ । हामीले प्रयाप्त धन नभएको मानेर आफूलाई झन कमजोर बनाइरहेका छौं ।
आँखा बन्द गरेर एकपटक सम्झौं त,
– बाल्यकालमा हामीले कत्ति पैसा नकमाउँदा पनि हामी कति खुसीयाली अवस्थामा हुन्थ्यौं ।
– हाम्रो लागि खाना, घुमफिर, शिक्षा, सुरक्षा, उपचार लगायत सबै कामको लागि आवश्यक पर्ने हरेक वस्तुहरु हामीलाई सजिलै मिल्ने गर्थे । त्यतिबेला हाम्रो आफ्नो योगदान कत्ति पनि रहँदैनथ्यो ।
– त्यस अवस्थामा हामी आफूसँग केही नहुँदा पनि कति खुसी हुन्थ्यौं । अहिले हामीबाट कहाँ गयो त्यो खुसी ? हामी जति ठूलो हुँदै र शिक्षा प्राप्त गर्दै गयौं, त्यत्ति हामीमा ईष्र्या, द्वेष, निराशा बढ्दै गए । हरेक घटना हाम्रो लागि प्रेरणा र आशाका नभई निराशा र दुखका कारण बन्दै गए ।
अब हामी पुनः कृतज्ञता र धन्यवाद भाव आफूमा जागृत गराएर पुनः त्यो खुसी र आनन्दलाई फिर्ता ल्याउन सक्छौं । यसको लागि जरुरी छ प्रयत्न (अभ्यास र निरन्तरता) ।
धन प्रति कृतज्ञ कसरी हुने ?
आज हामी धन प्रति कृतज्ञताको अभ्यासमा छौं । यसको लागि यी तरिका अपनाऔं ।
१. यदि हामी आफूसँग भएको थोरै धनमा कहिल्यै खुसी महसुस गर्दैनौं भने अब देखि अत्यन्तै थोरै धनमा पनि कृतज्ञता प्रकट गर्ने अभ्यास विकसित गरौं ।
२. हामीमा भुक्तानी गर्नुपर्ने बिल प्राप्त भएको कारण मनमा नकारात्मक विचार आउँछ भने त्यस विचारलाई यसरी सकारात्मक भावमा बदलौं ।
मानौं त्यो बिल होइन, तपाईंको बैंक खातामा वृद्धि भएको रकम हो ।
क. हामीलाई जति बिल प्राप्त भएको छ, त्यसमा पछाडि एउटा शुन्य थपेर आफ्नो खातामा त्यति धेरै रकम आफूलाई प्राप्त भएकोमा खुसी मनाउँ ।
जस्तो कि ५ हजारको बिल प्राप्त भयो भने पछाडि शून्य थपेर त्यसलाई आम्दानी मान्दा ५० हजार आम्दानी भएको भाव विकसित गर्न सकिनेछ ।
ख. जुन बिल हामीले भुक्तानी गर्नुछ, त्यो भुक्तानी गर्नुभन्दा पहिले त्यस बापत हामीले सेवा प्राप्त गरिसकेका छौं । हामी प्रति विश्वास गरेर सेवा उपलब्ध गराउने सेवाप्रदायक प्रति पनि मनमनै आभार भाव व्यक्त गरौं ।
ग. आफूसँग भुक्तानी गर्नुपर्ने बिलको तुलनामा आफ्नो बैंक खातामा १० गुणा बढी धन प्राप्ति भएको सम्झेर आफूले भुक्तानी गर्नुपर्ने रकम अत्यन्तै न्यून रहेको स्मरण गरौं । साथै तत्कालै त्यस बिलको अर्को प्रति तयार गरेर त्यसमा ‘भुक्तानी भयो’ लेखेर आफ्नो हस्ताक्षर समेत गरौं ।
घ. प्रत्येक पटक कुनै माध्यमबाट थोरै धेरै जुनसुकै परिमाणमा धन प्राप्ति हुने बेला आफूलाई प्राप्त भएको धन प्रति अत्यन्तै खुसी व्यक्त गरौं । त्यो धन इश्वरीय वरदान स्वरुप आफूलाई प्राप्त भएको महसुस गरौं । साथै भविष्यमा ठूलो परिमाणमा निरन्तर आफू तर्फ धन बर्षा भइरहने महसुस गरेर आफूलाई धन प्रति सदैव सकारात्मक बनाउँ ।
– हामी आफ्नो चिनजानको व्यक्तिले धेरै पैसा कमाएको देखेर आफूमा ईष्र्या भाव महसुस हुन्छ भने अब देखि त्यस अवस्थामा आफूलाई अझ खुसी बनाउन ईष्र्या गरेर नभई प्रगतिको लागि मनमनै बधाईं दिएर आफूलाई थप खुसीको लागि तयार पारौं ।
– यो पनि याद गरौं कि ईर्ष्या, डाहा भनेका हाम्रा सत्रु हुन्, यस्ता भावले अरुलाई होइन, आफैंलाई नोक्सान पु[याउँछन् । यसकारण अरुको प्रगतिमा हरसमय खुसी भाव प्रकट गर्नको लागि कुनै न कुनै कारण अवश्य खोजौं ।
– ऊर्जाको नियम ब्रह्माण्डको नियम हो । धन पनि ऊर्जाको एउटा स्वरुप हो । ऊर्जाको नियमले भन्छ, ‘समान चिजले समान चिजलाई आकर्षित गर्दछ’ अर्थात्, Like attracts like.
– पैसालाई मात्रै धन नसम्झौं । स्वास्थ्य, सम्बन्ध, ज्ञान, योजना, निःशुल्क उपलब्ध हावा, पानी, घाम लगायतका थुप्रै धनहरु हाम्रो लागि सम्पत्ति हुन् । यसकारण हामी गरीब छैनौं । धन हाम्रो वरीपरी विभिन्न स्वरुपमा प्रयाप्त भन्दा धेरै धन उपलब्ध छ भन्ने कुरा सदैव याद गरौं ।
हरेक आर्थिक कारोबार (भुक्तानीको बेला) आफूमा भित्रैबाट धन्यवाद भाव विकसित गरौं । अर्थात् अरुलाई पैसा दिने बेलामा कहिल्यै मनमा चिन्ता र तनाव आउन नदिउँ ।
तपाईं हामी सबैको आजको दिन शुभ रहोस् । धन प्रति सकारात्मक दृष्टिकोण विकासको लागि अनन्त धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
राण्डा बर्नबाट लिखित पुस्तक चमत्कार (The Magic) मा आधारित
प्रस्तुतीः कमल पन्थी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij