विकासप्रेमी नेता रामवीर मानन्धर नेपालमा पर्यटन, जलस्रोत, चलचित्र, कृषि, वन, खानी, जडिबुटी लगायतका अनेकौं सम्भावना हुँदाहुँदै पनि नेपालमा अहिले सम्म अस्थिर राजनीतिको कारण विकासले गति लिन नसकेकोमा मानन्धर चिन्तित छन् । राजनीतिक वातावरण राम्रो बन्न सकेको खण्डमा मुलुक समृद्ध बन्नको निम्ति लामो समय नलाग्ने बताउँदै अहिलेको बामगठबन्धन समृद्ध मुलुकको निम्ति महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताउँछन् । हाल काठमाडैं क्षेत्र नम्बर ७ बाट चुनावी दौडमा रहेका मानन्धर अघिल्लो पटकको संविधानसभाको चुनाव जनप्रतिनिधिबाट संविधान निर्माणको निम्ति भएको र उक्त कार्य पूरा भइसकेका हुँदा अबको निर्वाचनले मुलुकमा विकासको ढोका खोल्नको निम्ति आधार तयार गर्ने बताउँदै मुलुकलाई कसरी समृद्ध बनाउनुपर्ने भन्ने स्पष्ट खाका आफूसँग रहेको समेत बताउँछन् ।
प्रस्तुत छ उनै मानन्धरसँग अहिलेको चुनावी एजेण्डा, वाम गठबन्धन लगायतका विषयमा रही सेताघर डट कमले गरेकाे कुराकानी ः
तपाईं काठमाडौंको यस ७ नम्बर क्षेत्रबाट चुनावमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ, विकासको लागि तपार्इंबाट कस्तो पहल हुने आशा गर्न सकिन्छ ?
विकासको लागि महत्वपूर्ण कोशेढुंगाको रुपमा रहने यस पटकको निर्वाचन मार्फत सम्पूर्ण अधिकार स्थानीय तहमा पुगेको छ । हामी सिंहदरबारलाई गाउँगाउँमा पु¥याउने अभियानमा छौं । हामीले तत्काल विकासको निम्ति सबैभन्दा बढी लगानी सडकको निम्ति गरेका छौं । बाइपास सडक चौडा गर्ने देखि यस क्षेत्रमा पर्ने मुख्य ३ ओटा सडक निर्माण कार्य भइरहेको छ । अष्टनारायण हल देखि काभ्रेस्थलीको ठाँटी सम्म सडक बन्नको लागि ५२ करोडको टेण्डर भएर आएको अवस्था छ ।
अबको निर्वाचनले मुलुकको अस्थिरतालाई अन्त्य गर्छ भन्ने आधारहरु के छन् ?
अहिले पनि नेपाल अस्थिर र सङ्क्रमणकालको अवस्थामा नै छ । अबको निर्वाचन मार्फत नेपालले झण्डै २ दशक देखि भोग्दै आएको अस्थिरताबाट मुक्ति मिल्ने आशा गर्न सकिने प्रयाप्त आधारहरु छन् । नयाँ व्यवस्था बमोजिम ५ बर्षको निम्ति निर्वाचित प्रतिनिधिहरुलाई न्यूनतम २ बर्ष सम्म जस्तोसुकै परिस्थितिमा पनि अविश्वासको प्रस्ताव समेत ल्याउन मिल्दैन । साथै को निम्ति ल्याइएको थ्रेसहोल्ड लगायतका व्यवस्थाको कारण साना टिक्न निकै नै मुस्किल छ । यसै अवस्थामा नेपालका वाम र दक्षिणपन्थी गरी २ धु्र्वमा विभाजित भएका छन् । यस्तो अवस्थामा कुनै एक पक्षले बहुमत ल्याउने र सोही बमोजिम आफ्नो नेतृत्वमा सरकार बनाउने अवस्था सृजना हुनेछ । जसमध्ये मुख्य २ शक्तिहरु मिलेर बनेको बामगठबन्धन बलियो छ । यसको अलावा निर्वाचित प्रतिनिधिहरुलाई आफ्ना योजना कार्यान्वयनको निम्ति ५ बर्षको समय उपलब्ध गराइएको छ । जुन प्रयाप्त समय हो ।
निर्वाचित प्रतिनिधिहरुलाई आफ्ना योजना कार्यान्वयनको निम्ति प्रयाप्त शक्ति दिइएको छ, तर सोही बमोजिम काम भने प्रभावकारी हुन सकेको पाइएन नि ?
हामीले विगतमा स्थानीय निकायलाई प्रयाप्त अधिकार नभएको अवस्थामा विकासको निम्ति अघी सारिएका कार्यहरु प्रभावकारी तवरले अघी बढ्न नसकेको हामी सबैलाई जानकारी नै छ । तर अब भने निर्वाचित प्रतिनिधिहरुलाई उत्तरदायी बनाउँदै विकासलाई गति दिने कार्यको थालनी भइसकेको छ । केही नीतिगत कठिनाई र संरचनाको अभावमा केही समस्याहरु अहिले पनि छन् । यद्यपि अब भने विकासकार्य तीव्र गतिमा अघी बढ्नेछ । स्थानीय सरकारका २१ ओटा अधिकारलाई सावधानकै आधार बनाउनुपर्छ ।
सडक, ढल, विद्युत लगायतका पूर्वाधारहरु निर्माणको क्रममा विभिन्न वाधाअवरोधहरु खडा हुने गरेका छन्, आगामी दिनमा विकासको क्रममा आउने त्यस्ता अवरोधहरु हटाउन कस्तो प्रयत्न हुँदैछ ?
नेपालमा अहिले सम्म विकासको क्रममा आउने वाधाअवरोध हटाउने सम्बन्धमा नीति बन्न सकेको थिएन, हामीले यस सम्बन्धी भर्खर मात्रै नीति बनाएका छौं । अबका दिनमा यसलाई गति दिनको निम्ति राजनीतिक स्थायित्वको आवश्यकता छ । जब सम्म राजनीतिक स्थायित्व हुँदैन, तबसम्म सरकार, प्रहरी प्रशासन देखि अदालत सम्म नै विभिन्न समस्या र विवादहरु देखिएका छन् । अहिलेको अवस्थाकै कुरा गर्ने हो भने सरकारले गर्ने निर्णयहरु समेत स्वतन्त्र तवरले हुन सकेका छैनन् । यस्तो अवस्था उत्पन्न हुनुमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्थायी राजनीति नहुनु हो । पछिल्लो २७ बर्षमा २६ जना प्रधानमन्त्रीहरु मुलुकले पाउँदा पनि अस्थिर राजनीतिको कारण समृद्धिको दिशामा जान नसकेको हामीले अनुभव गरेका छौं ।
यसको मतलब सम्बन्धित कार्यबाट पर्न जाने प्रभावको कारण स्थानीय जनताका आकाङ्क्षाहरु पनि सम्बोधन गर्ने प्रयत्न त हुन्छ होला नि ?
विकासकार्यको क्रममा आफूलाई समेत थोरबहुत प्रभाव पर्ने ठाऊँमा स्थानीयहरुबाट केही अवरोध आउनुलाई त सामान्य रुपमा नै लिन सकिन्छ । यद्यपि विकासको क्रममा आउन सक्ने यस्ता अवरोधहरुलाई उपयुक्त विकल्प सहित समाधान गर्नु जरुरी रहन्छ । नेपालमा अहिले सम्म स्थिर सरकार बन्न नसकेको अवस्थामा कुनै व्यक्तिको नेतृत्वमा विकासको निम्ति कठोर निर्णय लिँदा अर्को पटक तत्कालै परिवर्तन हुने सरकार र निर्वाचनमा आफूलाई अप्ठ्यारो पर्न सक्ने अवस्था थियो । तर अब यस्तो अवस्था रहनेछैन । यी समस्याहरु समाधानको निम्ति कानुनी व्यवधान, व्यावहारिक कठिनाई लगायतका पक्षहरुलाई विचार गरेर सोही बमोजिम अघी बढाइनेछ ।
यसपटकको चुनावमा नेकपा (एमाले) र माओवादी केन्द्र एकताको प्रस्ताव सहित एउटै बाम मोर्चाबाट चुनावमा होमिएका छन्, यसको दीर्घकालिन प्रभाव कस्तो रहला ?
अहिले नेपालको राजनीति नयाँ दिशामा अघी बढेको छ । जुन दुर्लभ परिस्थिति हो । मुलुकको विकासको निम्ति नेपालका २ ठूला वामपन्थी एकै ठाउँमा उभिएका छन् । हामीले जतिपनि विकसित देशहरुको कुरा गर्छौं, ती सबै देशहरुले राम्रो प्रगति गर्न सकेको राजनीतिक स्थायित्वको कारणले गर्दा नै हो । यससँगै मुलुक राजनीतिक रुपमा स्थायीत्वको दिशामा अघी बढेको छ ।
हामीले भारतको विकासलाई नै हेर्न सक्छौं । राजनीतिक स्थायित्व पश्चात् ५ बर्षमा भारतमा निकै प्रगति भएको हो । वास्तवमा मुलुकको विकासको निम्ति धेरै दलहरुको आवश्यकता छैन । विकासको निम्ति २ मुख्य राजनीतिक शक्तिहरु प्रयाप्त छन् भन्ने कुरा अहिलेका नेपाली जनताहरुले समेत बुझिसकेका छन् ।
अहिले सम्म नेपालमा स्थिरता कायम हुन नसक्नुमा साना राजनीतिक दलको पनि महत्वपूर्ण भूमीका थियो । अब सानालाई त अस्तित्व जोगाउनै कठिन अवस्था बन्ने भयो । तर मुलुकको विकासको हिसाबले चाहिँ यसलाई कसरी हेर्न सकिन्छ ?
नेपालमा निकै धेरै सङ्ख्यामा रहेका सानातिना राजनीतिक ले निकै कम सीट जितेर पनि सबैभन्दा बढी समय सरकारमा बसिरहने अबको निर्वाचनमा टिक्न सक्ने अवस्था छैन । यस्ता अहिले सम्म बहुमतीय प्रणाली बमोजिम बन्ने सरकारमा सहभागि हुँदा जुन गठबन्धन बनेपनि सहभागि हुने भएको कारण राजनीतिक अस्थिरता कायम हुन सकेको थिएन । सरकार निर्माण र परिवर्तनमा त्यस्ता निकै साना दलको निर्णायक भूमीका रहने अवस्था अब अन्त्य भएको छ ।
बाम गठबन्धन प्रति नेपाली काङ्ग्रेस लगायतका विपक्षी शक्तिहरु निकै नै आक्रोशित देखिन्छन् । यसलाई कसरी लिन सकिन्छ ?
यसपटकको राजनीति नेपालको इतिहासमा पहिलोपटक बाम गठबन्धन र दक्षिणपन्थी गठबन्धनको रुपमा २ ध्रुवीकरणमा बाँडिएको छ, यसबाट कोही पनि आत्तिनुपर्दैन । मुलुकमा सबैको हितको निम्ति भएको यो धु्रवीकरण मुलुकको अहिलेको आवश्यकता नै हो ।जनताबाट हरेक राजनीतिक ले प्राप्त गर्ने मत उनीहरुले जनताहरुको निम्ति गरेका प्रतिवद्धता र विकासकार्यमा गरेको साझेदारितामा नै निर्भर रहन्छ । विगतमा देशका उद्योगधन्दा र कलकारखाना नै बेचेर जनताका सपनाहरुमाथि कुठाराघात गरेकाहरु अहिले पनि प्रजातन्त्रको नाममा ठगिरहेका छन् । यसरी ठगी गर्ने व्यक्तिहरुलाई ठीक गर्ने परिस्थिति समेत बनेको छ अहिलेको बाम गठबन्धनसहितको निर्वाचन । यसपटक पनि कसैले पहिले जसरी जनता र राष्ट्रमाथि कुठाराघात गर्छ भने उनीहरुलाई ५ बर्षमा नै जनताहरुले ठीक गर्नेछन् ।
के अबका दिनमा नेपालमा भ्रष्टाचार र अनियमिततामा समेत उल्लेख्य कमी आउने आशा गर्न सकिन्छ त ?
नेपालको विकासको निम्ति हामीलाई निश्चित पद्धति (सिष्टम)को खाँचो छ । अहिले सम्म निश्चित पद्धतिको विकास हुन नसकेको कारण नै नेपाल अहिले सम्म भ्रष्टाचार र अनियमिता बढेको हो । यसलाई कमी गर्दै मुलुकलाई कुन दिशामा कसरी अघी बढाउनुपर्छ भन्ने स्पष्ट खाका हामीसँग छ । जनताको वहुदलीय जनवादको नाममा कोर्न लागिएको उक्त मार्गचित्रलाई सफल पार्नकै निम्ति हाम्रो बाम गठबन्धन बनेको हो । विकासलाई कुन तवरले अघी बढाउने भन्नेमा मुख्य भूमीका राजनीतिकै हुने गर्छ । सोहीबमोजिम आगामी दिनमा नेपालको विकासको निम्ति प्रयाप्त काम हामीले नै गर्न सक्छौं । आफ्नै मुलुकको परिस्थिति बमोजिम विकासको मुहान हामीले नै फुटाउन सक्छौं । मुलुकको परिस्थिति बमोजिम सोही अनुकुलको राजनीति हामीले गर्नु जरुरी छ । नेपालमा अहिले हामीसँग भएका प्रयाप्त सम्भावनाहरु यहीँका स्रोत र साधनबाट नै उपलब्ध हुन सक्ने वातावरण हामीले बनाउनेछौं । मुलुकमा भएका सम्भावनाहरुलाई मुलुकको दीगो विकास अवधारणा बमोजिम हामीले अघी बढाउनेछौं ।
विपक्षी दलले तपाईंहरुलाई लगाएको आरोपलाई कसरी लिनुहुन्छ नि ?
हामीले नेपाललाई विकसित र समृद्ध मुलुक बनाउन चाहेका छौं । नेपालको विकास नेपालमै उपलब्ध स्रोत र साधनबाट हुनुपर्छ भन्नेमा हामी प्रतिवद्ध छौं । नेपाललाई व्यवस्थित तवरले अघी बढाउने हो भने नेपालीहरु नेपालमा नै रहेर काम गर्ने वातावरण यहीँ बनाउन सकिन्छ । हाम्रा प्रयाप्त स्रोत र साधनहरुलाई हामीले हाम्रै विकासको निम्ति प्रयोगमा ल्याउन सक्छौं । हामीले विकासको दिगो आधार तयार पार्न चाहँदा अन्य शक्तिहरुले किन टाउको दुखाउनुप¥यो र ? मुलुकको विकासको निम्ति यहीँका स्रोत र साधनको उपयोग गर्दा कसैलाई टाउको दुख्छ भने त्यसमा हामी डराउनुपर्दैन । उनीहरु नै सचेत बन्नुपर्छ । साथै सबल र समृद्ध मुलुक निर्माणको निम्ति सबै व्यक्ति र दलमा यस किसिमको विकासको चेतना हुनु जरुरी छ ।विभिन्न देशहरुमा कम्युनिष्ट शासन सफल हुन नसकेको अवस्था पनि त छ ।
तपाईंहरुको बाम गठबन्धनले नेपालको निम्ति कस्तो कम्युनिष्ट मुलुकको परिकल्पना गरेको छ ?
कम्युनिष्ट मुलुक भन्दैमा उत्तर कोरिया जस्तो हुनुपर्छ भन्ने हुँदैन । हामी त देश र जनतालाई सुखी र समृद्धिको योजना सहित अघी बढेका छौं । अहिलेको निर्वाचन मार्फत विजयी हुने सबै प्रतिनिधिहरु सबै हाम्रै नेपालीहरु हुन् । बाह्य मुलुकका कोही पनि होइनन् । नेपालको आवश्यकता र औचित्यताको आधारमा जुनसुकै शासन व्यवस्था ल्याउन पाउने अधिकार जनतालाई छ । यसै बमोजिम नेपालमा राणा शासन देखि बहुदलीय गणतन्त्र समेत स्थापना भएको कुरा जनतालाई थाहा छ । अहिले त मुलुकमा संविधानसभाको माध्यमबाट संविधान जारी भइसकेको छ । यस्तो अवस्थामा नेपालको विकासको निम्ति कम्युनिष्टहरु एक ठाऊँमा आएका छन् ।
त्यसो भए विपक्षी शक्ति किन त्रसित भएका होलान्
?नेपालमा भएका गरीब जनताहरुको रगत र पसिना चुसिरहेकाहरु अहिले हाम्रो गठबन्धनबाट डराएका छन् । अहिलेको गठबन्धन त सही अर्थमा सबैको जीवनस्तरलाई माथि उठाउँदै नेपाललाई विश्वसामु चिनाउनको निम्ति सामुहिक पहल हो ।
अहिले तपाईहरुले लिनुभएको विचार र सिद्धान्त माक्र्स लेलिन लगायतका विचारकहरुका जस्ता त छैनन् । मौलिक सिद्धान्तमा चाहिँ किन नअडिनुुभएको ?
विचार र सिद्धान्तहरु समयक्रम र परिस्थिति बमोजिम पनि हुन्छन् । २÷३ सय बर्ष पहिले माक्र्स र लेलिनबाट उत्पन्न भएका सिद्धान्तहरु २१ औं शताब्दीमा पनि त्यसरी नै उपयुक्त हुन सक्लान् र ? हामीले यसमा पनि विचार गर्नुपर्छ । त्यसैले हामीले जवजलाई पार्टीको मार्गदर्शक सिद्धान्त मानेका छौं ।मुलुकको विकासको निम्ति त विकासको भिजन भएका व्यक्तिहरु शासनसत्तामा पुग्नुपर्छ । नेपालकै सन्दर्भमा कुरा गरौं, हाम्रो देशको विकास कुन गतिले अघी बढेको छ भन्ने बुझ्न हाम्रो पछिल्लो २-३ बर्षको बजेट विनियोजनको अवस्थालाई मात्र हेरे पुग्छ ।
मुलुकको समृद्धिको निम्ति अहिले लोकतन्त्रको नाममा गठबन्धन गर्नेहरुसँग हामीले प्रश्न गर्नुपर्छ कि आखिर मुलुक कसरी समृद्ध हुन सक्छ त ?
देशमा भएका कलकारखानाहरु बेचेर मुलुकले विकासको गति लिन त पक्कै नसक्ला । याद गर्नुहोला, नेकपा (एमाले)ले चाहेको समाजवाद भनेको मुलुकको सुशासन र समृद्धि हो । नेपालको परिप्रेक्ष्यमा समाजवादलाई व्यावहारिक तवरले प्रयोगमा ल्याउनुपर्छ । जुन कुरा नेकपा (एमाले) सरकारको बजेट मार्फत पुष्टि भइसकेको छ ।
नेपालको विकासको निम्ति कम्युनिष्टहरुको अहिले सम्मका उपलब्धिहरु चाहिँ के छन् त ?
नेकपा (एमाले) अघिल्लो पटक सरकारमा हुँदा भारतको नाकाबन्दीमा कत्ति पनि डेग नचली राष्ट्रियताको पक्षमा निरन्तर रुपमा लडिरहेको र स्वाधिनताको पहिचान नेपालीहरुलाई दिलाउन सकेको कुरा नेपाली जनताहरुले बिर्सेका छैनन् । बिर्सने पनि छैनन् । साथै हरेक नेपालीमा विकासको चेतना फैलाउने काम नेपालमा बामपन्थीहरुबाट नै भएको समेत हामीले बिर्सनुहुँदैन । लोकतन्त्रको नाममा बनेको दक्षिणपन्थीहरुको गठबन्धन हाम्रो बाम गठबन्धनको खुलेर विरोध गरिरहेको छ । सकेसम्म यस गठबन्धनलाई टिक्न नदिनेमा उनीहरु लागेका भएपनि यो कार्य कदापि सम्पन्न हुन सक्दैन । अहिले पनि कम्युनिष्टहरु भनेका समाजलाई भाँड्नेहरु हुन् भनेर प्रचार गरिएको छ । नेपालमा बामहरु अब राष्ट्रियताको दिशामा काम गर्ने भए भनेर अहिले हामी प्रति विभिन्न आरोपहरु लाग्ने गरेका हुनुपर्छ । अब यसरी गलत प्रचार गरेर धमिलो खोलामा माछा मार्ने सपना कसैले पनि नदेखे हुन्छ । हाम्रा गतिविधिहरु र विकासको भिजन प्रति कोही पनि आत्तिनुपर्दैन ।
यसपवटकको निर्वाचनमा जुन बामगठबन्धन बनेको छ, यस गठबन्धनबाट हामीले कस्तो अपेक्षा गर्न सकिन्छ ?
यस गठबन्धनले मुलुकको विकासको निम्ति नयाँ खाका कोर्नेछ । यसले नेपाललाई विकासपथमा अघी बढाउनको निम्ति नयाँ कार्यदिशा अगाडि सार्नेछ । नेपालको विकास अबका दिनमा त्यत्ति गाह्रो छैन । हामीसँग भएको हिमाल र बुद्धलाई नै चिनाएर हामीले समृद्ध नेपाल निर्माण गर्न सक्छौं । यो मुलुकको जैविक विविधतालाई चिनाउँछ । नेपालीहरु विदेशमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै मुलुकमा परिवारको साथ सुरक्षित तवरले काम गरेर खान सक्ने स्वभिमानी वातावरण बनाउन सक्छ । यसैका निम्ति हामी गठबन्धनमा आवद्ध भएका हौं ।