बासुदेव भट्ट
उदय र अन्त्यका पटकथाहरूमा
जीवन र मृत्युका यात्राहरू
चिरन्तन चिर्बिराई रहेछन् ।
हरेक साँझ-बिहान
त्रासदिका बाजहरू
शिकारको खोजीमा
ती अबोध र निर्दोष पन्क्षीलाई
दागा धरिरहेछन् ।
ब्यधाको व्यग्रताको नजरमा
निरीह जीवका विलौना
बिलाउँछ हिउँजस्तै
अनि सम्वेदनाका नदीहरू
अविरल सुस्ताई रहन्छन् ।
मृत्युको सुइँको नदिई
बल्छीमा अल्झाएर
जीवन लिइन्छ
निश्छ्ल माछाहरूको।
शकुनि कुटिलताको
पासा पल्टाएर
जाल -झेलको क्रीडैक्रीडामा
वनबास पठाइन्छ यहाँ ।
धर्मराजहरू तराजुका
सुई घुमाउँछन्
धृतराष्ट्रका इसारामा।
अनि विवेक बिलाउँछ
नेपथ्यभित्रका खेलहरूमा।
निस्पृह युधिषि्ठरहरू
विवश छन् मौनतामा।
छदमभेषीहरू रूप बदली बदली
भोग र तृष्णाको प्याला उठाएर
खरिद गरिएका वाद र सिद्धान्तका
राँको झोस्दै
विग्रहको आगो सल्काउँछन् ।
अबोध बस्ती,निर्दोष जन
अनि
भोका मन र नग्न तनहरू
बत्तीको पुतली बन्दै
आत्मा विसर्जनमा विवश छन्।
त्यसैले
बुद्ध ! तिमी मेरै मृत्तिकाको उपज हौ
तर आज जीवन जीवन्त छैन
हिजो तिमीले देखे-भोगेजस्तै
अशक्त, रुग्ण र मृत्युशैयामा
शयनरत छ अर्धमृत जीवन।
तिम्रो राज-त्याग र समर्पणमा
श्रवण गर्ने कान छैनन् आज
तिम्रा अन्तर दृष्टिहरू
दृष्टि-दोष बनेका छन् आज।
तिम्रा राज्य-वैभव परित्यागका
कथाहरू बदलिएका छन् आज।
ती अमर ज्ञानका प्रकाश पुञ्ज
विलुप्त छन् आजका राज-कुञ्जमा।
जीवन-मुक्ति र परिनिर्वाणका
तिम्रा जीवन-यात्राहरू
दुर्गम र दु:साध्य यात्रा बनेका छन्
भोग-तृष्णाका प्यासमा।
त्यसैले
तिम्रो दिब्य-आलोक
छाएको यो भूमि
पुन:प्रतीक्षारत छ
तिम्रो आगमनमा ।
मिति-२०७७ जेठ १ गते ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij