२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

प्रविधिमा नयाँपनको अभ्यासमा प्रभु बैंकको योगदान र पृष्ठभूमी

प्रविधिमा नयाँपनको अभ्यासमा प्रभु बैंकको योगदान र पृष्ठभूमी

कस्ता प्रविधिमा केन्द्रित छ बैंक

नेपालको बैंकिङ क्षेत्रमा प्रभु बैंक नयाँ प्रविधि भित्र्याउने र ग्राहकलाई नवीनतम सेवा प्रदान गर्नमा अगाडि रहेको बैंकको रुपमा आफूलाई अग्र पंक्तिमा उभ्याउन सफल बैंक हो । नेपाल राष्ट्र बैंकले तोकेका नीति र आचारसंहिता भित्र रही सेवा विस्तार गर्दै आएको प्रभु बैंकले आफ्नो लगानी विविधिकरण गर्ने क्रममा अहिले प्रभु आफैंमा ठूलो सञ्जालको रुपमा विस्तार भइसकेको छ । अहिले प्रभु सञ्जाल अन्तरगत बैंक, इन्सोरेन्स, मनी ट्रान्सफर, म्यानेजमेन्ट (सफ्टवेयर) लगायतका विभिन्न कम्पनीहरु सञ्चालनमा छन् ।
प्रभु मनी ट्रान्सफर र प्रभु फाइनान्सबाट शुरु भएको प्रभुको यात्रा विकास बैंक हुँदै नेपालको क वर्गको अग्रणी विकास बैंक बन्ने क्रममा प्रभुले विभिन्न आरोहअवरोहहरु पार गरेको छ ।

कुसुम लामा अध्यक्ष प्रभु म्यानेजमेन्ट प्रा.लि.

प्रभु ग्रुपमा कुसुमको संलग्नता ः
प्रभु ग्रुपमा सन् २००२ देखि जोडिएकी पात्र हुन् कुसुम । निकै लामो समय देखि विदेशमा समेत रही विभिन्न सेवा क्षेत्रमा लामो अनुभव बटुल्न सफल महिला कुसुमले विगतमा कोरियामा रहँदा ट्राभल एजेन्सीमा समेत काम गर्ने मौका पाएकी थिइन् । सूचना प्रविधिको क्षेत्रमा राम्रो दख्खल राख्ने कुसुम अहिले यसै प्रभु ग्रुप अन्तरगत सञ्चालित प्रभु म्यानेटमेन्टकी अध्यक्ष पनि हुन् । हाल प्रभु म्यानेजमेन्टले प्रभु गु्रपको निम्ति आवश्यक सफ्टवेयरहरु विकास गर्ने काम गर्छ ।

सफलताको रहस्य ः हरेक परिस्थितिलाई अवसरको रुपमा लिन सफल
सङ्घर्षशिल महिला कुसुमले आफ्नो जीवनमा आइपरेका हरेक घटनाहरुलाई अवसरको रुपमा नै लिँदै निरन्तर आफ्नो यात्रालाई अघी बढाइरहिन् । जसले गर्दा आफूले जिन्दगीमा कहिल्यै पनि समस्या वा चुनौतीको रुपमा कुनै परिस्थिति वा घटनालाई महसुस नगरेको उनी बताउँछिन् ।
वि.सं २०२६ मा काठमाडौंको गैरीधारामा जन्मिएकी कुसुम जतिबेला प्रभु सञ्जालमा प्रवेश गरिन्, उनको निम्ति यो क्षेत्र नयाँ क्षेत्र नै थियो । विभिन्न देशमा विभिन्न कामको अनुभव लिएकी उनले नेपालमा नै रहेर काम गर्ने दृढ इच्छा राखेर काम गर्ने क्रममा प्रभु सञ्जालमा आवद्ध हुनुपूर्व उनको अनुभव इन्जिनियरिङ कन्सल्ट्यान्ट र ट्राभलको क्षेत्रमा थियो । हुनतः विभिन्न विकसित मुलुकहरुमा रहेर धेरै सिक्ने मौका पाएकी थिइन् । यद्यपि यो क्षेत्र भने उनको निम्ति नयाँ क्षेत्र नै थियो । परिस्थिति आगामी दिनमा कता जाँदैछ भन्ने कुरा पहिले नै अनुमान लगाई सोही बमोजिम आफ्नो यात्रा तय गर्ने कुसुम जुन बेला नेपालमा कम्प्युटर शिक्षा भर्खर मात्रै शुरु भएको थियो, सोही बमोजिम आफूलाई कम्प्युटरमा दक्ष बनाउँदै लगिन् ।

सामुहिक पहलको प्रतिफल ः
कुनै पनि काम गर्ने क्रममा उक्त कामलाई सफल बनाउनको निम्ति विचार मिल्दो समूहको आवश्यकता पर्ने हुन्छ । कुसुम हरेक क्षेत्रमा आफ्ना योजनाहरुलाई अघी बढाउनको निम्ति सामुहिक पहलमा काम गर्नुपर्ने कुरामा जोड दिन्छिन् । प्रविधिसँगै अघी बढेको कुसुमको यात्रालाई आफूले सोचे बमोजिम नयाँ प्रविधि विकासको निम्ति आफ्नो टीमबाट राम्रो साथ पाइन् । जसले गर्दा विश्वमा विकास हुँदै गरेको प्रविधिलाई चुनौती दिँदै नयाँ प्रविधि नेपालमा भित्र्याउने र निर्माण गर्ने उनको यात्रा सफल हुन सक्यो । अहिले प्रभु ग्रुपलाई प्रविधिमा अग्रणी बनाउनको निम्ति कुसुम सहितको प्राविधिक टीम अग्रपंक्तिमा उभिन सफल भएको छ ।

कुसुम भन्छिन्, ‘मलाई प्रभु बैंकका अध्यक्ष देवी प्रसाद भट्टचनसँगको लामो सहकार्यका क्रममा ऊहाँले जहिले पनि हौसला साथ आफूले देखेको योजना सफल पार्नको निम्ति निरन्तर सहयोग प्राप्त भयो । यसैकारण ऊहाँलाई मैले अभिभावककै रुपमा लिएकी छु । नयाँ प्रविधि निर्माणको निम्ति शुरुमा परीक्षण गर्दा खर्च निकै बढी पर्न जान्छ । तर ती परीक्षण गर्नको निम्ति कुनै वाधाअड्चन नभएको कारण नै अहिले हामी सफ्टवेयर विकासमा अघी आउन सकेका हौं ।’
पछिल्लो समय प्रभु बैंकले आक्रामक रुपमा सेवा विस्तारको योजना बमोजिम अघी बढेको छ । देशका विभिन्न् ग्रामीण भेगमा समेत छरिएर रहेका सहकारीहरुलाई बैंकिङ पहुँचमा ल्याउनुपर्छ भन्ने मान्यताको साथ अहिले सोही बमोजिमका सफ्टवेयर निर्माण भइरहेका छन् । ती सफ्टवेयरहरुलाई प्रभु म्यानेजमेन्ट अन्तरगत निःशुल्क विस्तार गर्दै आफ्नो सेवा सञ्जाललाई अझ व्यापक बनाउने योजना बमोजिम अघी बढेकी कुसुमले अहिले बैंकहरुमा प्रचलनमा रहेको डेटा सर्भरलाई विस्थापित गरी क्लाउड वेष्डमा नै डाटा व्याकअप राख्ने कार्यमा आफूहरु सफल भएको र यसबाट खर्च निकै घटाउन सकिने दाबी समेत गर्छिन् ।

डिजिटल फाइनान्समा अगाडि छ प्रभु ः
अहिले नेपालमा टे«ण्डको रुपमा नै विस्तार हुँदै गएको डिजिटल फाइनान्सिङ प्रति पनि प्रभु बैंकले नयाँ योजनाहरु ल्याउने कामलाई प्राथमिकताको साथ अघी बढाएको छ ।

बजारको माग बमोजिमकै सेवा विस्तारमा केन्द्रित ः
नेपालमा सहकारीको निम्ति आवश्यक सफ्टवेयर निर्माण पूर्व नेपालका ग्रामीण क्षेत्रका सहकारीहरुको निम्ति कस्ता सफ्टवेयर आवश्यक छ भन्ने कुराको अध्ययन गरी सोही बमोेजिम आगामी यात्रा तय गर्दै आएको हुनाले नै प्रभु निरन्तर रुपमा ग्राहकहरुको रोजाईमा पर्न सफल भएको हुनुपर्छ ।
कुसुम भन्छिन्, ‘नेपालमा हामीले बुझेअनुसार अहिलेको अवस्थामा पनि ग्रामीण क्षेत्रमा रहेका अधिकांश युवाहरु अशिक्षित नै बढी छन् । नेपालमा टाठाबाठा युवाहरु अध्ययन तथा अन्य कामको निम्ति गाउँ छोडेर निस्कने हुनाले ग्रामीण क्षेत्रमा राम्रो काम गर्न सक्ने युवाहरु नभएको कुरालाई विशेष ध्यानमा राखेर हामीले सोही बमोजिम सजिलै प्रयोग गर्न सकिने सफ्टवेयरहरु विकासमा लागिरहेका छौं ।’

उनले थपिन्, ‘अहिले हामीले ग्रामीण क्षेत्र सम्म नै एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ कार्ड सिष्टम लगायतका सुविधाहरु विस्तार गरेका छौं । हाम्रो सेवाबाट निकै धेरै मानिसहरु लाभान्वित भएका छन् । नेपालका ग्रामीण क्षेत्र सम्मका सहकारीहरुको निम्ति पनि आर्थिक उपार्जनको निम्ति राम्रो स्रोत समेत बनेको छ डिजिटल फाइनान्सिङ ।’
नेपालीहरु पछिल्लो समय सुविधाभोगी हुँदै गएका छन् । यस्तो अवस्थामा तिनै नेपालीहरुको मनसायलाई बुझेर हामीले सहकारीको अलावा अन्य एजेन्टहरु मार्फत समेत हाम्रो सेवासुविधा विस्तार गर्दै ती व्यक्तिहरुले अतिरिक्त आम्दानी गर्न सक्ने वातावरण हामीले बनाएका छौं ।

स्थानीय एजेन्टको माध्यमबाट सेवा विस्तार ः
अहिलेको समय प्रविधिको समय हो । प्रविधि निकै छोटो समयमा परिवर्तनशिल छ । यसै कुरालाई विचार गरेर हामी पनि हिंड्नुपर्ने हुन्छ । तर अहिले सम्म यी प्रविधिहरु शहरी क्षेत्रमा मात्र केन्द्रित भएका छन् । नेपालमा ग्रामीण भेगमा भने यस्ता सुविधाहरु अहिले सम्म पनि पुग्न सकेका छैनन् ।
ग्रामीण भेगमा अधिकांश आर्थिक कारोबार सहकारीकै सञ्जालबाट सञ्चालित छ । सञ्चालनमा रहेका सहकारीहरुले नयाँ नयाँ उत्पादनहरु तथा योजनाहरु आफ्ना ग्राहकहरुको निम्ति पनि ल्याउनुपर्ने जरुरी त रहन्छ । तर नेपालमा रहेका सहकारी संस्थाहरु आफैंले यस्ता नयाँ प्रविधिहरु उपलब्ध गराउन सक्ने अवस्था पनि रहँदैन । त्यसै कुरालाई विचार गरेरै यस्ता सफ्टवेयरहरु प्रभु बैंकले नै उपलब्ध गराउँदै आफ्नो सञ्जाल विस्तारको रणनीति अपनाएको हो । यससँगै अबका दिनमा नेपालमा आफ्नो नजिक रहेका सहकारी संस्थाहरुबाट नै बैंकबाट प्राप्त गर्न सकिने अधिकांश सुविधाहरु प्राप्त गर्न सकिने अवस्था सृजना भएको छ ।

प्रिपेड कार्ड ः नेपालको निम्ति नयाँ प्रविधि
प्रभुले नेपालमा अहिले रुपैयाँ नामक प्रिपेड कार्ड समेत सञ्चालन गरेको छ । जुन प्रभु बैंकको आफ्नो खातामा रहेको पैसा कार्डमा ट्रान्सफर गरी विभिन्न् प्रयोजनको निम्ति प्रयोगमा ल्याउन सहयोगी हुनेछ । यसको साथै आवश्यक परेको समयमा उक्त रकमलाई क्यासमा परिणत गर्न पनि सकिन्छ । प्रभु बैंकले सञ्चालनमा ल्याएको उक्त कार्ड खासगरी प्रभु बैंकमा आफ्नो खाता नभएका व्यक्तिहरुलाई लक्षित छ ।
अहिलेको अवस्थामा नेपालमा प्रभु बैंकले सञ्चालनमा ल्याएको यस प्रविधि बजारमा आएको करिब १ बर्ष भयो । यस अवधिमा यस प्रविधि विस्तारको निम्ति आवश्यक सिष्टम अपग्रेड लगायतका कामहरु भए । परीक्षण कालको रुपमा नै लिंदा पनि हुन्छ यस १ बर्षको अवधिलाई । यद्यपि आगामी कात्तिकबाट भने प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रिपेड कार्डलाई ठूलो क्षेत्रमा विस्तार हुने गरी सञ्चालनमा ल्याउँदैछ ।

प्रतिष्पर्धा ः ग्राहकलाई सेवा छनौटको अवसर
नेपालमा अहिले पनि हामीले बैंकिङ सेवालाई ग्रामीण भेगमा सर्वसुलभ बनाउन सकिएको छैन । यद्यपि नेपालमा सञ्चालनमा आउने सबैजसो संस्थाहरु शहरमा नै सेवा विस्तार गर्ने उद्धेश्यले स्थापना भएका हुनाले नेपालमा सेवा विस्तारको क्रममा शहरी क्षेत्रमा अलि बढी नै प्रतिष्पर्धा रहेको अवस्था छ । तर नेपालको ग्रामीण क्षेत्रमा रहेर सेवा दिने उद्धेश्यमा भने निकै कम संस्थाहरु मात्रै रहने भएको कारण कतै उच्च प्रतिष्पर्धा त कतै पहुँच नै नपुगेको अवस्था छ । यसैकुरालाई लक्षित गरेर नै अब प्रभु बैंकले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर सेवा विस्तारमा केन्द्रित भएको छ । प्रभुका आगामी योजनाहरु ती क्षेत्रहरुको निम्ति लक्षित हुनेछन् । यसो भएको खण्डमा नेपालमा बैंकिङ सेवा विस्तारको निम्ति निकै राम्रो सम्भावना छ । ग्रामीण क्षेत्रमा जाने क्रममा तत्कालको निम्ति लागत केही बढी पर्न जाने देखिएपनि हामीले लामो समयको निम्ति लक्षित भइ काम गर्ने क्रममा भने नाफामुखी हुनै नसक्ने भन्ने चाहिँ हुँदैन । हामीले ग्राहकलाई सेवा छनौटको अवसर दिनुपर्छ भन्ने मान्यताले हामीले हाम्रो सञ्जाल विस्तारमा विशेष जोड दिएका छौं ।

लागत घटाउन जरुरी ः सेवा विस्तारमा सहकार्य आवश्यक 
नेपालमा बैंकिङ क्षेत्रमा आगामी दिनमा एउटै किसिमको सेवाको निम्ति ती कम्पनीहरुले सेवा प्रदानको क्रममा सहकार्य गर्नुपर्ने जरुरी छ । नेपालमा अहिले एटीएम लन्जमा हेर्ने हो भने त्यहाँ निकै धेरै बैंकहरुको देखिन्छ । तर अन्य थुपै्र ठाउँहरु जहाँ कुनै पनि बैंक वा वित्तीय संस्थाले त्यस्तो प्रविधि विस्तार गरेका छैनन् । तर अहिलेको अवस्थामा नेपालमा व्यवसाय विस्तारको क्रममा उच्च प्रतिष्पर्धा गरेर कसैलाई पनि फाइदा छैन । त्यसैकारण यदि कुनै ठाऊँमा हामी भन्दा पहिले नै कसैले सेवा विस्तार गरिरहेको छ भने हामी त्यस ठाउँमा नजाँदा नै उपयुक्त हुने कुसुमको तर्क छ । उनी भन्छिन्, ‘हामीले नयाँ थुप्रै ठाउँमा हाम्रो सेवा विस्तार गरी मनग्य आम्दानी गर्न सक्छौं । त्यस कुुरामा पनि हामीले सोच्नुपर्ने बेला आएको छ ।’

सहकार्यको प्रयाश गर्नु जरूरी ः
नेपालमा अहिले सञ्चालनमा रहेका एटीएम लन्जमा एकैठाऊँमा ८÷१० ओटा एटिएमहरु छन् । प्रत्येक एटिएममा कुनै कम्पनीको नाम लेखिएको छ । ती सञ्चालनमा रहेका सबै मेसिनमा सबैले आवश्यकता बमोजिमको न्यूनतम रकम सङ्कलन गरेका हुन्छन् । जुन रकम कुनै पनि काममा ल्याउन सकिने अवस्थामा रहँदैन । कम्तीमा पनि एउटा मेसिनमा ५ लाख रुपियाँ मात्रै राख्ने हो भने पनि करिब ५० लाख रकम त बिना चलायमान मेसिनमा नै होल्डिङ भइरहने अवस्था छ । आपसी सहकार्य भएमा उक्त अनावश्यक खर्च भार समेत घटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij