
दाङ- लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार स्थापना दिवसकाे स्मरणमा आज सार्वजनिक विदा सहित औपचारिक समाराेह आयाेजना गरेर दिवस मनाउने निर्णय गरिएकाे छ ।
२०७४ साल फागुन ३ गते लुम्बिनीमा पहिलो पटक सरकार गठन भएको थियाे। याे पाँच वर्षकाे अवधिमा प्रदेशमा तीनवटा सरकार बनेका छन्। मुख्यमन्त्री लीला गिरीले प्रदेशमा १० मन्त्रालय बनाएका छन्।
२०७८ साउन २७ गते शंकर पोखरेल नेतृत्वको सरकार विस्थापन गरी कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै लुम्बिनीमा मन्त्रालयको संख्या बढाइएको थियो। २०७४ को निर्वाचनपछि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैँसँग राखेर पाँचवटा मन्त्रीसहितको मन्त्रिपरिषद् बनाए।
पछि राजनीतिक उत्तारचढावसँगै नौ मन्त्रालय र एक राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिमण्डल बनेको थियो। नेकपा माओवादीका केसी मुख्यमन्त्री भएपछि भागबन्डा पुर्याउन नौबाट मन्त्रालयको संख्या बढाएर १३ र चार राज्यमन्त्री गरेर १७ सदस्यीय जम्बो मन्त्रिमण्डल बनेको थियो।
मंगलबार बसेकाे प्रदेश मन्त्रिपरिषद्काे बैठकले प्रदेश सरकार स्थापना दिवसलाई भव्य बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिए। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ।
मुख्यमन्त्री लीला गिरीले अवकाे पाँच बर्ष जनताको जिविकाेपार्जन बढाउन प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
पहिलो कार्यकालको पाँच वर्ष प्रदेशकाे जग बसाल्ने काम भयाे’, उनले भने, ‘अबकाे पाँच वर्ष विकास र जनताको जीवनस्तर उठाउन केन्द्रित हुन्छौँ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij