२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रत्यक्षमा महिला उम्मेदवार शून्य

प्रत्यक्षमा महिला उम्मेदवार शून्य

मोहन दुराल/भोजपुर

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ भोजपुरबाट कुनै पनि महिला उम्मेदवारको मनोनयन परेन । जिल्लामा १२ दलका २२ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराँतीलाई उम्मेदवार बनाएको छ । कांग्रेस, संघीय समाजवादी फोरम र राप्रपाको लोकतान्त्रिक गठबन्धनले कांग्रेसका उमेशजंग रायमाझीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभाकै लागि नयाँ शक्तिले युवराज कटवाल, मंगोल नेसनल अर्गनाइजेसनले चन्द्रकुमार राई, राजपाले धु्रवराज राई, नेकपा माओवादीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाले डिल्लीराम बोहोरा र नेकपा मालेले अनिल बस्नेतलाई उम्मेदवार बनाएका छन् ।

जिल्लामा प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुईवटा निर्वाचन क्षेत्र छन् । यसअघि गत स्थानीय तहको चुनावमा पनि भोजपुरमा महिलालाई उपप्रमुखमा मात्र उम्मेदवार बनाइएको थियो । प्रमुख र उपप्रमुख मध्ये एकजना महिला उम्मेदवार हुनुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ ।

प्रदेशका लागि क्षेत्र नम्बर १ बाट वाम गठबन्धनले एमालेका राजेन्द्र राईलाई उम्मेदवार बनाएको छ । लोकतान्त्रिक गठबन्धनले संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङमाङलाई उम्मेदवार बनाएको छ । प्रदेश क्षेत्र नम्बर १ बाटै राजपाबाट सुवास राई, मंगोल नेसनल अर्गनाइजेसनबाट मोदेश राई, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट आङडेन्डी शेर्पा, जनसमाजवादी पार्टी नेपालबाट पर्शुराम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उत्तम राई र स्वतन्त्रमा खुसीराज गुरुङ उम्मेदवार भएका छन् ।

प्रदेशको क्षेत्र नम्बर २ बाट वाम गठबन्धनबाट एमालेका शेरधन राई र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका गोविन्द कार्की प्रतिस्पर्धामा छन् । त्यस्तै, संघीय खम्बुवान लोकतान्त्रिक राष्ट्रिय पार्टीबाट सुवास राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितबहादुर राई, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट देवप्रसाद राई र नेकपा मालेबाट यादवकुमार पाण्डेको मनोनयनमा परेको छ ।

बैतडीका महिला नेतृ असन्तुष्ट

मिलनप्रकाश ढुंगाल/बैतडी

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा प्रत्यक्षतर्फ कुनै पार्टीले पनि महिला उम्मेदवार उठाएको छैन । प्रतिनिधिसभाको एउटा र प्रदेश सभाको दुईवटा क्षेत्रमा महिला उम्मेदवार नउठाएपछि जिल्लास्तरीय नेतृहरूले असन्तुष्टि पोखेका छन् ।

माओवादी पोलिटब्युरो सदस्य रेणु चन्दले दलहरूले महिलाहरूलाई विश्वास नगरेको गुनासो गरिन् । ‘धेरै महिला प्रत्यक्ष चुनाव लड्न इच्छुक देखिनुभयो, तर नेतृत्वले पत्याएन,’ उनले भनिन् । दलहरूले महिलालाई समानुपातिकको सूचीमा राख्न पनि कन्जुस्याइँ गरेका छन् ।

माओवादीले वाम गठबन्धनबाट पूर्वसभासद रेणु चन्दलाई समानुपातिक उम्मेदवार बनाएको छ । एमालेबाट जिल्ला सचिवालय सदस्य सुशीला सिंह चन्दले प्रदेश सभाका लागि प्रत्यक्ष लड्ने दाबी गरे पनि पार्टीले टिकट दिएन । यस्तै, जिल्ला कमिटी सदस्य पदमा खत्रीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ आकांक्षा देखाएकी थिइन् । तर, पार्टीले उनलाई पनि पत्याएन ।

एमालेबाट समानुपातिकमा जानकी अवस्थी, चन्द्रा ल्ुहार र पार्वती भट्टको नाम जिल्लाबाट सिफारिस भएको छ । तर, केन्द्रीय समितिले कसको नाममा टुंगो लगाउँछ अझै निश्चित हुन नसकेको जिल्ला सचिवालय सदस्य सरस्वती नेपालीले बताइन् ।

वाम गठबन्धनले गर्दा टिकट व्यवस्थापनमा समस्या भएकाले पनि महिलाले अवसर नपाएको माओवादी पोलिटब्युरो सदस्य रेणु चन्दको भनाइ छ । प्रतिस्पर्धा र चुनावी खर्च गर्न नसक्ने भन्दै महिलालाई पाखा लगाइएको उनको आरोप छ । ‘महिलालाई कमजोर मानसिकताले हेर्ने गरिएका कारण महिलालाई पाखा लगाइयो,’ उनले भनिन्, ‘महिला उम्मेदवारीको अवस्था असाध्यै दुखद र लाजमर्दो हुने खालको छ ।’

राप्रपासँग चुनावी तालमेल गरेको कांग्रेसबाट पनि समानुपातिकका लागि ६ महिला नेतृको नाम जिल्लाबाट सिफारिस भएको छ । तर, सूचीमा पर्ने सम्भावना कम भएको स्थानीय नेतृहरूको भनाइ छ । ‘पार्टीले महिलाको विश्वास नगरेर टिकट नदिएको हो,’ कांग्रेस नेतृ देवु ठगुन्नाले भनिन्, ‘पार्टीले महिलाहरूलाई समानुपातिकमा समेत नसमेटेर कमजोर बनाउने काम गरेको छ ।’

जिल्लामा साना दलहरूले पनि महिलालाई प्रत्यक्ष उम्मेदवार बनाएका छैनन् । कांग्रेससँग तालमेल गरेको राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र मन्त्री जयन्त चन्दलाई समानुपातिक उम्मेदवार बनाएको छ ।

बाजुरा र दार्चुलामा पनि पुरुष मात्रै

तेजराज भट्ट/धनगढी

पहिलो चरणअन्तर्गत आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रदेश नम्बर ७ का तीन जिल्लामा प्रत्यक्षतर्फ महिला उम्मेदवार छैनन् । निर्वाचन हुने चार जिल्लामध्ये बझाङमा मात्र महिला उम्मेदवार छन् ।

चार जिल्लाका प्रतिनिधिसभा र प्रदेश सभा गरी १२ क्षेत्रमा ६३ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये तीनजना महिला उम्मेदवार छन् । तीनैजना बझाङका हुन् । बाजुरा, दार्चुला र बैतडीमा महिला उम्मेदवार छैनन् ।

बझाङमा राष्ट्रिय जनमोर्चाकी कल्पना भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी छिन् । यस्तै, प्रदेशसभा १ बाट कांगे्रसकी चन्द्रादेवी जोशी र २ बाट माओवादीकी देवकी मल्लले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।

चार जिल्लामा प्रतिनिधिसभाको चार स्थानका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभाका आठ स्थानका लागि ४० जनाको उम्मेदवारी परेको छ ।

राजनीतिक दलका नेताले समावेशी र महिला अधिकारको कुरा गरे पनि व्यवहारमा लागू नगरेको उम्मेदवार चयनले देखाएको कांग्रेस कैलालीकी नेतृ जागृति बोगटीले बताइन् । आफ्नो पार्टीभित्र कुरा राख्न नसक्दा पनि महिलाहरू पछाडि परेको उनको भनाइ छ ।

तीन क्षेत्रमा २५ जना नै पुरुष

सरोज शर्मा/पाँचथर

जिल्लाको प्रतिनिधिसभाको एउटा र प्रदेश सभाको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने रस्साकस्सी चलिरहँदा कुनै पनि दलबाट महिला उम्मेदवारको चर्चासम्म भएन । अन्ततः जिल्लामा क्रियाशील ११ पार्टीले २५ जना उम्मेदवार उठाउँदा सबै पुरुष भए ।

कांग्रेसले राप्रपाको समर्थनमा प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेलाई उम्मेदवार बनाएको छ । प्रदेश सभाका लागि जिल्ला सभापति नरेन्द्रकुमार केरुङ र महासमिति सदस्य सुरेन्द्रकुमार दाहालको उम्मेदवारी परेको छ ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभा (क)बाट एमालेले उम्मेदवारी दिएको छ । प्रतिनिधिसभाका लागि वसन्तकुमार नेम्बाङ र प्रदेश सभाका लागि गणेश काम्वाङको उम्मेदवारी पक्का भएको छ । त्यस्तै, एमालेको समर्थनमा माओवादीका मौसम लिम्बू प्रदेश सभा (ख)बाट उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभाका लागि संघीय लिम्बुवान मञ्चले सागर केरुङ, प्रदेश सभा (क)का लागि हर्कजंग लिङदेन र (ख)का लागि लावाहाङ चेम्जोङलाई उम्मेदवार बनाएको छ । संघीय समाजवादी फोरमले प्रतिनिधिसभाका लागि प्रेमराज लावती, प्रदेश सभाका लागि वृखबहादुर वाइबा र एविराज आङ्देम्बेलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभाका लागि भगिरथ चेम्जोङ, प्रदेश सभा (ख)का लागि इच्छाबहादुर चेम्जोङलाई उम्मेदवार बनाएको छ ।

नेकपा माले र जनसमाजवादी पार्टीले संयुक्त रूपमा उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका लागि दिनानाथ घिमिरे र प्रदेश सभाका लागि प्रियप्रसाद रिमाल र भीमबहादुर तामाङलाई उम्मेदवार बनाए । उता नयाँ शक्तिले प्रतिनिधिसभाका लागि दिलबहादुर लावती, प्रदेश सभाका लागि खगेन्द्र लोवा र नगेन्द्रप्रसाद नेम्वाङलाई उम्मेदवार बनाएको छ । अन्य साना दलले पनि महिला उम्मेदवार बनाएका छैनन् ।

नयाँ पत्रिका बाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij