शनिबारको दिन सुवास खनाल सर र म बिहान दश बजे सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक क्षेत्र बहराक्षेत्र घुम्न जाने निधो गर्यौं धार्मिक दृष्टिकोणले ज्यादै महत्वपुर्ण बराह भगवानको नित्य निवास(मन्दिर) प्रदेस न १ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा पर्छ । त्यसो त दोस्रो पटक त्यहाँ पुगेको मलाई बहरा क्षेत्र नयाँ होइन। समय अलि छोटो भएकोले हामी धरानको भानु चोकबाट अलि छिटो छिटो आफ्नो गति बढाउदै उक्त क्षेत्रतर्फ अगाडी बढेउ । निर्माणाधिन बाटोको कारणले गर्दा यात्रा ज्यदै कठिन थियो करिब २ घण्टाको यात्रा पश्चात् हामी ऊक्त धार्मिक क्षेत्र पुग्यौं।

विश्वका हिन्दु धर्मावलम्बीहरुको चार क्षेत्र(हरिहर क्षेत्र, कुरु क्षेत्र, मुक्ति क्षेत्र र बराहक्षेत्र) छन्, ती मध्ये मुक्ति क्षेत्र र बराहक्षेत्र नेपालमा पर्छ । यी चार क्षेत्रमध्ये पनि बराह क्षेत्र भगवान विष्णुको तेस्रो अवतार भएकोले यस ठाउँलाइ पवित्र र महत्वपुर्ण तीर्थस्थल मानिन्छ । –‘बराह क्षेत्रको महिमा र महत्व असाध्यै ठुलो छ । प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार हिरन्याक्ष नाम गरेको राक्षसले पृथ्वीलाई आफ्नो क्षेत्रभित्र राखेर रसातलमा डुवाई मानव सृष्टी रोकेपछि भगवान् विष्णुले बराह अर्थात बँदेलको अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सुडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने उल्लेख छ । त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न पुगेको हो र हिरन्याक्ष राक्षसको बध गरेर यस क्षेत्रमा आई भगवान विष्णु बस्नु भएकाले बराह क्षेत्र नाम रहन गएको धार्मिक बिश्वास रहेको छ ।


श्लोकहरुबाट पनि बराह पवित्र क्षेत्र चार धाममध्ये एक धाम हो भनेर उल्लेख गरिएको पनि छ । नेपालभित्र चार धाम कुन–कुन हुन् भने बराह क्षेत्र, बेत्रावती, पाशुपत क्षेत्र र रूरू क्षेत्र (रिडी) । यसरी नै छ गया अर्थात् षड्गया भनेर पनि नेपालका पवित्र स्थलहरुलाई लिएको आलेख पाइन्छ । पूर्व गया बराह सुनसरी, उत्तर गया बेत्रावती त्रिशूली । त्यसैगरी, पशुपति क्षेत्र काठमाडौँ, रूरू क्षेत्र (ऋषिकेश) पाल्पा रिडी, मुक्तिक्षेत्र मुस्ताङ र हरिहर क्षेत्र द्यौघाट तनहुँ आदि पर्दछ ।

पछिल्लो समय सप्तकोसी र कोकाहा नदीमा हरेक बर्षायाममा आउने बाढीले बराहक्षेत्रलाई कटान गरिरहेकाले यसको संरक्षण र प्रचारप्रसार दुबैमा सम्बन्धित निकायले ध्यान दिन जरुरी देखीन्छ । यस्तो इतिहास र धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको प्राचिन तथा ऐतिहासिक बराह क्षेत्रको सम्बद्र्धन हुनसके यसले समग्र मुलुकलाई नै फाइदा पुग्ने देखिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij