२०८३ भाद्र २ मंगलबार

Aug 18 2026 Tuesday

  • २०८३ भाद्र २ मंगलबार

२०८३ भाद्र २ मंगलबार

नयाँ परिवेशलाइ सम्बाेधन गर्ने कृति “आँशु कहिल्यै रित्तिँदैन”

नयाँ परिवेशलाइ सम्बाेधन गर्ने कृति “आँशु कहिल्यै रित्तिँदैन”

पुष्पराज गिरी । साहित्यको काव्यविधा मानवमनका सूक्ष्म अनुभूति, संवेदना, आकांक्षा र जीवनबोधलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने प्रभावकारी माध्यम हो । कविता केवल शब्दहरूको संयोजन मात्र होइन, अनुभूतिको कलात्मक अभिव्यक्ति पनि हो । यसमा निहित लय, भाव, गेयात्मकता र श्रुतिमधुरताले पाठक तथा श्र ोताको मनमा विशेष प्रभाव पार्छ । सच्चा कविताले दुःखमा सान्त्वना दिन्छ, निराशामा आशा जगाउँछ र जीवनप्रतिको दृष्टिकोणलाई फराकिलो बनाउँछ । मनभित्र दबिएका अनुभूतिलाई शब्दमा उतार्दै मानव जीवनका अनेक आयाम उद्धघाटित गर्नु कविताको मूल शक्ति हो । यही काव्यिक साधना मार्फत् नेपाली साहित्यमा आफ्नो सिर्जनात्मक उपस्थिति जनाउँदै आएका सर्जक हुन् सनत गिरी “गाउँले” । वि.सं. २०३० सालमा काठमाडौंको दहचोकमा जन्मिएका गिरी नेपाली पत्रकारिता क्षेत्रमा समेत परिचित व्यक्तित्व हुन् । लामो समयदेखि विभिन्न राष्ट्रिय दैनिक तथा रेडियोमा आबद्ध रही पत्रकारितामा क्रियाशील उनले सञ्चारकर्म मार्फत् सामाजिक क्षेत्रमा पनि योगदान पुरयाउँदै आएका छन् । समसामयिक राजनीतिक, सामाजिक तथा मानवीय विषयमाथि विश्लेषणात्मक र विवेचनात्मक लेखन गर्नु उनको पत्रकारितागत विशेषता हो ।

पत्रकारितासँगै साहित्य सिर्जनामा निरन्तर सक्रिय गिरीले कथा, नाटक, गीत, गजल, कविता तथा लघुकाव्य जस्ता विविध विधामा कलम चलाएका छन् । विशेषतः गीत र कविता लेखनप्रति उनको लगाव बढी देखिन्छ । सनत गिरीका हालसम्म “तिम्रो लागि”, “सुनगाभा गीत गजल संग्रह”, र “परदेशी” लघु काव्य, प्रकाशित छन् । पछिल्लो पटक प्रकाशित “आँशु कहिल्यै रित्तिंदैन” उनको चौथो प्रकाशित कृति हो जसलाई देवग्रुप प्रा.लिका प्रमुख कार्यकारी अधिकृत नविन सिलवालले प्रकाशनमा ल्याएका छन् । “खासगरी साहित्यले मनमुटु छुँदो रहेछ भन्ने कुरा गाउँलेजीका गीत, गजल र यो कविता संग्रह पढेर थाहा पाएँ । कविता स्रग्रहमा अत्यन्त मिठासयुक्त र परिस्थितिजन्य विषयका कविता भएकाले प्रकाशित गर्न भित्री हदयदेखि मन लाग्यो” प्रकाशकीय मार्फत् नविन सिलवालले भनेका छन् । कविता संग्रहमा विभिन्न भावभूमि र विषयवस्तु समेटिएका ५० वटा कविता संग्रहीत छन् । गिरीको काव्यलेखनको प्रमुख विशेषता सरलता, भावुकता र सहज सम्प्रेषणीयता हो । उनी अत्यन्त जटिल बिम्ब, दुर्बोध प्रतीक र दुरूह शब्दावलीको प्रयोगभन्दा आमपाठकले सहजै बुझ्न सक्ने भाषामार्फत् मनका अनुभूति व्यक्त गर्न रुचाउँछन् । उनका कवितामा प्रेम, वियोग, दुःख, संघर्ष, सामाजिक करुणा, स्मृति, आत्मविश्वास, आशा, मानवता र जीवनप्रतिको सकारात्मक दृष्टिकोण बारम्बार अभिव्यक्त भएका छन् । यस अर्थमा “आँशु कहिल्यै रित्तिंदैन” मानवीय संवेदनाका अनेक तहलाई सरल शब्दमा उद्घाटित गर्ने काव्यकृति हो ।

संग्रहको शीर्षक कविता “आँशु कहिल्यै रित्तिंदैन”मा कविले आँसुलाई मानवीय संवेदनाको स्वाभाविक अभिव्यक्तिका रूपमा प्रस्तुत गरेका छन् ः

“दुःख पर्दा
आँशु नआएर के आउँछ
चोट पर्दा आँशु नआएर के आउँछ
आँशु कहिल्यै रित्तिंदैन ।
आँशुले दुःखमा पनि सन्तुष्टि दिंदो रहेछ”

यहाँ आँसु केवल दुःख र पीडाको बाह्य अभिव्यक्ति होइन, मनभित्रको बोझलाई हलुका बनाउने भावनात्मक माध्यमका रूपमा आएको छ । “आँशुले दुःखमा पनि सन्तुष्टि दिंदो रहेछ” भन्ने अभिव्यक्तिले रोदनलाई कमजोरीका रूपमा होइन, मनको पीडा विसर्जन गर्ने स्वाभाविक प्रक्रियाका रूपमा ग्रहण गरेको देखिन्छ । मानिसमा संवेदना रहुन्जेल आँसु पनि रहिरहन्छ भन्ने गहिरो जीवनदृष्टि शीर्षक कविताले बोकेको छ । यस्तैगरी “अतीत” कवितामा कविले विगतको दुःख वा सुखमा अत्यधिक अल्झिनुभन्दा वर्तमानलाई सार्थक बनाउने विचार प्रस्तुत गरेका छन् ः

“अतीतमा दुःख भयो भनेर रुनु किन ?
अतीतमा दुःख भए
वर्तमानमा सुख हुन सक्छ ।”

हरफले जीवन निरन्तर परिवर्तनशील रहेको सत्यलाई सरल ढङ्गले व्यक्त गरिरहेका छन् । अतीतको दुःखलाई बोकेर वर्तमान नष्ट गर्नु हुँदैन, न त विगतको सुख र सफलतामै गर्व गरेर वर्तमानप्रतिको जिम्मेवारी बिर्सनु उचित हुन्न । विगतबाट शिक्षा लिँदै वर्तमानमा सक्रिय र सचेत हुनुपर्छ भन्ने सकारात्मक सन्देश यस कविताको मूल पक्ष हो । यस्तै “जित हार” कविता जीवन संघर्ष र आत्मविश्वासको अभिव्यक्ति हो । “हारलाई पनि जितमा बदल्नु पर्छ, आँशुलाई हाँसोमा बदल्नु पर्छ” भन्ने भावले असफलतालाई अन्तिम परिणति नभई आगामी सफलताको आधारका रूपमा लिन प्रेरित गर्छ । जीवनमा हार र जित दुवै स्वाभाविक भए पनि हारपछि फेरि उठ्ने साहस नै मानिसको वास्तविक शक्ति हो भन्ने कविको विश्वास यहाँ प्रकट हुन्छ । निराशा, निष्क्रियता र पलायनभन्दा संघर्ष, परिश्रम र आत्मबललाई प्राथमिकता दिनु यस कविताको जीवनदृष्टि हो ।

“चिठ्ठी” शीर्षकको कवितामा भने प्रेम, आत्मीयता र साहित्यिक भावको सुन्दर समन्वय पाइन्छ । कवि लेख्छन् ः
“तिमी मेरो कविता झैं हाँस
मेरो गीत झैं बाँच ।”

प्रिय व्यक्तिलाई आफ्नै कविता र गीतसँग तुलना गर्दै कविले उसको सुख, हाँसो र सुन्दर जीवनको कामना गरेका छन् । यहाँ प्रेम स्वामित्व वा अधिकारका रूपमा नभई शुभेच्छा, आत्मीयता र भावनात्मक समर्पणका रूपमा प्रकट भएको छ । सरल शब्दमा व्यक्त गरिएको यही आत्मीयताले कवितालाई हृदयस्पर्शी बनाएको छ । त्यसको ठीक विपरीत भावभूमिमा रहेको “हामी दुईको माया” प्रेमको विघटन र वियोगको कविता हो । “हामी दुईको माया एकादेशको कथा भयो” भन्ने अभिव्यक्तिले कुनै समय जीवन्त रहेको प्रेम अहिले केवल स्मृतिमा सीमित भएको मार्मिक अवस्थालाई देखाउँछ । “तिमी भेट भन्थ्यौ मलाई, तिमी आफै भेट्न छाड्यौ” भन्ने हरफले सम्बन्धमा आएको दूरी, परिवर्तन र एकतर्फी भावनात्मक पीडालाई सहज तर प्रभावकारी ढङ्गले प्रस्तुत गर्छ । यहाँ वियोग चर्को विलापका रूपमा होइन, समयसँगै बदलिएको सम्बन्धप्रतिको मौन स्वीकारोक्तिका रूपमा अभिव्यक्त भएको छ ।

कविता संग्रह व्यक्तिगत प्रेम, स्मृति र वियोगमै सीमित छैन । सामाजिक संवेदना र मानवीय करुणा पनि यसको महत्वपूर्ण पक्ष हो । “मैले केही गर्न सकिरहेको छैन” कवितामा कविको दृष्टि दुःखी, गरिब र पीडित मानिसतर्फ पुगेको छ —
“म दुःखीका पीडा बुझिरहेछु
म गरिबका कथा पढिरहेको छु ।”

समाजमा दुःख भोगिरहेका मानिसको अवस्था देखेर संवेदनशील बने पनि उनीहरूका लागि पर्याप्त केही गर्न नसकेको असहाय भाव कवितामा व्यक्त हुन्छ । धनी र गरिबबीचको दूरी, सामाजिक असमानता र पीडित वर्गप्रतिको सहानुभूतिले कविको मानवीय चेतनालाई उजागर गर्छ । पत्रकारिताबाट प्राप्त सामाजिक यथार्थबोधले पनि उनका कवितामा यस्ता भावभूमिलाई बल दिएको अनुमान गर्न सकिन्छ । यस्तै “अठोट” संग्रहको अर्को प्रेरणामूलक कविता हो । “साथी तिमी पनि अठोट गर, आफूले आँटेको पूरा गर” भन्ने आह्वानले मानिसलाई लक्ष्यप्रति प्रतिबद्ध, परिश्रमी र कर्मशील हुन प्रेरित गर्छ । “तिमीले चन्द्रमामा पुग्ने लक्ष्य राख” भन्ने पङ्क्तिले सामान्य सीमाभन्दा बाहिर पुगेर ठूलो सपना देख्न सिकाउँछ । “मुठी रोपे मुरी पाइन्छ” जस्तो लोकप्रचलित अभिव्यक्तिको प्रयोगले परिश्रम र प्रतिफलबीचको सम्बन्धलाई जनजीवनसँग जोडेर प्रभावकारी बनाएको छ । यसबाट कविको आशावादी जीवनदृष्टि स्पष्ट हुन्छ ।
कृतिका कविताहरूमा प्रेम र वियोगसँगै देशप्रेम, ईश्वरप्रतिको आस्था, सामाजिक जिम्मेवारी, जीवन संघर्ष, मानवीय करुणा र आत्मविश्वासजस्ता विविध भाव एकसाथ उपस्थित छन् । कवि अत्यधिक वैचारिक जटिलतामा प्रवेश गर्दैनन्, उनी दैनिक जीवनका सामान्य घटना र अनुभूतिभित्रै जीवनका अर्थ खोज्छन् । आँसु, हाँसो, अतीत, कथा, चन्द्रमा, हार र जितजस्ता सामान्य प्रतीकलाई उनले जीवनबोधका माध्यम बनाएका छन् । यही सामान्यताभित्रको आत्मीयता उनका कविताको शक्ति हो । भाषाशैलीका दृष्टिले “आँशु कहिल्यै रित्तिंदैन” सरल, सहज, भावप्रधान र संवादात्मक प्रकृतिको कविता संग्रह हो । बोलचालको भाषासँग निकट शब्दावलीले कवितालाई आमपाठकसम्म सहजै पुरयाएको छ । कतिपय कवितामा कलात्मक बिम्ब, प्रतीक र भाषिक कसावटभन्दा भावनाको प्रत्यक्ष अभिव्यक्तिले बढी स्थान पाएको छ । साहित्यिक परिष्कारका दृष्टिले केही रचनालाई अझ संक्षिप्त, प्रतीकात्मक र कलात्मक बनाउन सकिने सम्भावना देखिए पनि सरल अभिव्यक्ति नै कविको आफ्नोपन बनेको छ ।

शीर्षक चयनमा पनि कविले सहज र स्पष्ट पद्धति अपनाएका छन् । “अतीत”, “अठोट”, “जित हार”, “चिठ्ठी”, “हामी दुईको माया” जस्ता शीर्षकले सम्बन्धित कविताको मूल भावलाई सुरुमै सङ्केत गर्छन् । निश्चित् कथात्मक पात्रभन्दा कवि स्वयं, प्रिय पात्र, साथी, गरिब–दुःखी मानिस तथा सामान्य मानवजीवनका प्रतिनिधि पात्रहरू कृतिमा बढी देखिन्छन् । यसको परिवेश पनि कुनै एउटै भूगोलमा सीमित नभई व्यक्तिगत अनुभूति, पारिवारिक–सामाजिक जीवन, प्रेमसम्बन्ध, विगतको स्मृति तथा संघर्षपूर्ण मानवजीवनसँग जोडिएको छ । समग्रमा, “आँशु कहिल्यै रित्तिंदैन” केवल पीडा र आँसुको अभिलेख होइन” यो संघर्ष, प्रेम, वियोग, स्मृति, सामाजिक करुणा, आत्मविश्वास र आशाको काव्यिक अभिव्यक्ति हो । यसमा जीवनका चोटहरू छन्, तर ती चोटले कविलाई निराशाको अँध्यारोमा पु¥याउदैनन् । उनी हारबाट जिततर्फ, आँसुबाट हाँसोतर्फ, अतीतबाट वर्तमानतर्फ र निराशाबाट अठोटतर्फ पाठकलाई डोरयाउँछन् । मानिस संवेदनशील रहुन्जेल “आँसु कहिल्यै रित्तिँदैन” तर जीवनको सार आँसु नझार्नुमा होइन, झरेका आँसुलाई अनुभव, शक्ति र जीवनबोधमा रूपान्तरण गर्न सक्नुमा छ । यही सकारात्मक तथा मानवतावादी दृष्टिकोण “आँशु कहिल्यै रित्तिँदैन” कविता संग्रहको सबैभन्दा उल्लेखनीय उपलब्धि र प्रमुख सन्देश बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij