काठमाडौंः नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । आइतबार नबिल बैंकको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा उच्च पदस्थ कर्मचारीहरूको उपस्थितिमा उक्त प्रमाणपत्र प्राप्त गरेको हो । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT) ले प्रदान गरेको हो ।
नबिल बैंकले आफ्नो सुरक्षा प्रणाली, अभ्यास र नियन्त्रणको विस्तृत मूल्यांकन पछि यो मान्यता प्राप्त गरेको हो । साइबर जोखिम र चुनौतीहरू बढिरहेका बेला यस्तो प्रमाणपत्रले बैंकको सुरक्षाप्रतिको गम्भीर प्रतिबद्धता झल्काउँने बताएकाे छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्रमाणपत्रले डाटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए । उनले भने, “हामी ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौँ। यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रकृयालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छाैं।”
ISO 27001:2022 प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो । यो प्रमाणपत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकलाई थप विश्वासिलो बनाउनुका साथै बैंकको ग्राहकप्रति दायित्व झल्काएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij