
निर्मल र स्निग्ध हिमशैलको
वक्षबाट निसृत जलामृत
कैलाश-पतिको सन्देश बोकेर
अनन्त जीवन-यात्राको
गतिशील स्वैर विचरणमा
निरवच्छिन्न प्रवाहित
सरिता सदृश् हो जीवन- यात्रा।
विन्दु-सिन्धु, रह-दह
निर्झर झरना र सागरका
विविध रूप धारण गर्दै
मोहनी मादकता भर्ने
वाष्प, बादल, अनेक मेघका
रूपाकृतिमा सजिएर
धरा-नै सदा स्पर्शमा
पुलकित हुने वर्षाजस्तै
हो हाम्रो जीवन-यात्रा ..
मुटुभित्रको धरणीको
रक्तवाहक धमनी नदी
अथक र अविश्रान्त गतिमा
जीवन प्रदान गर्दै
पर्वतमालाको काखसँगै खेल्दै
लेकबेसीसँग लुकामारी गर्दै
तराई र मधेसको गर्भमा
ऊर्वरताको वीजाधान गर्दै
प्राकृतिक नर्तकी नदी
निर्मुक्त प्रवाहित छ र निर्भय.
आफ्नै गति-लय र तालमा
तर्लिप्त जीवनका गीतहरू
अनि
पराक्रम र परार्थका प्रीतहरू
धराभरी सुसेल्दै
परमार्थी यात्री नदी
आफ्नो प्यास भुलेर
अरूकै प्यास मेटाउन
मेटाउनसदा
जन्म-मृत्यु, आदि-अन्त्य
हर्ष -विस्मात्, सुख-दु: खको
लौकिक-मोहबाट
मुक्त निर्विकार यात्री
सृष्टिको बेजोड कलाकृतिको
प्रतिमूर्ति सृष्टि कै हो नदी ।।
जोडा जोड -घटाउमा न अल्झी
उदात्त मन
अविश्रान्त यात्रा
नदीको यात्रा समान
हुनुपर्छ जीवन-यात्रा ।।
कविताका रचयिता भट्ट तारकेश्वरकाे पिसल्याण्ड एकेडेमीका प्रिन्सिपल हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij