२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

धरहरासँगै उठ्यो नेपालीको स्वाभिमान

धरहरासँगै उठ्यो नेपालीको स्वाभिमान

प्रधानमन्त्रीबाट भव्य उद्घाटन

विसं. १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाउनुभएको इतिहास छ । विसं. १९१३ मा बज्र (चट्याङ) ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । विसं. १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो । यो धरहराभन्दाअघि विसं. १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गर्नुभएको थियो । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख छ ।

छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न छ वर्ष लाग्यो । छ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ ।

वि.सं. २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बन्नुभएका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गर्नुभएको थियो । भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ ।

अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगत सहित चार तल्ले भूकम्प र टक्सार सम्बन्धी सङ्ग्रहालय निर्माण भएको छ । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिनुभयो । धरहराको आज बिहान ११ः०० बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको छ ।

धरहरा क्षेत्रमा अब तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिनेछ । जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भीमसेन थापाले वि.सं. १८८२ मा बनाएको धरहरा (भीमसेन स्तम्भ)लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ । सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिने योजना रहेको सचिव गेलालले सुनाउनुभयो ।

यस्तो छ धरहराका विशेषता
धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिएपनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहनेछ । जमिनमाथि भुइँतल्ला सहित २३ तला हुनेछ । समग्रमा धरहरा २५ तलाको हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । धरहरा सहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत तीन अर्ब ४८ करोड रुपैयाँ रहेको जानकारी पनि उहाँले दिनुभयो । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२।२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङ समेत जडान गरिएको छ । धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij