काठमाडौँ — भृकुटीमण्डपमा जारी “काठमाडौँ महोत्सव २०८२ – Kathmandu Business Expo 2026” को दोस्रो दिन बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय उत्पादन, व्यापार, पर्यटन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दिनभर सर्वसाधारण, व्यवसायी, विद्यार्थी तथा पर्यटकको उल्लेख्य सहभागिता देखिएको थियो।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (NICCI) को आयोजनामा तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको महोत्सवमा २०० भन्दा बढी व्यवस्थित व्यवसायिक स्टलमार्फत कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, सूचना प्रविधि, फूड एण्ड बेभरेज, ट्राभल तथा टुर सेवा, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य तथा जिल्लागत विशेष उत्पादनहरू प्रदर्शन तथा बिक्रीमा रहेका छन्।

दोस्रो दिन फुड फेस्टिभल, रैथाने खानाका परिकार, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट तथा स्वास्थ्य शिविरले दर्शकलाई आकर्षित गर्यो। स्टलहरूमा किनमेल गर्ने ग्राहकको चहलपहल बढेको देखिन्थ्यो भने घरेलु तथा साना उद्योगका उत्पादनप्रति उपभोक्ताको विशेष चासो देखिएको थियो।
यस महाेत्सवले उद्याेगी व्यापारीहरूमा नयाँ उर्जा सञ्चार गरेकाे आयाेजक संस्था नेपाल उद्याेग वाणिज्य संघ काठमाडाैंका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् ।

साथै महोत्सवले स्टार्टअप तथा नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र आफ्नो उत्पादन चिनाउने अवसर प्रदान गरिरहेको छ। साथै काठमाडौँ महानगरपालिकाको “एक वडा–एक नमुना उत्पादन” अवधारणाअन्तर्गत जिल्लागत विशेष उत्पादनलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम भइरहेको छ।

चार दिनसम्म सञ्चालन हुने महोत्सव माघ १७ गतेसम्म जारी रहनेछ। बाँकी दिनहरूमा पनि विविध सांस्कृतिक कार्यक्रम, कन्सर्ट तथा व्यवसायिक गतिविधि निरन्तर हुने जनाइएको छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij