काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले मनोमानी ढंगले नयाँ ट्यांकर सञ्चालनको अनुमति दिएको बताउँदै व्यवसायीले पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आइतबार आपूर्ति मन्त्रालय र निगमलाई मागपत्र पेश गर्दै निर्णय खारेज नभए १५ मंसिर देखि ढुवानी ठप्प पार्ने बताएका हुन् ।
निगमले ८ पुस ०७३ मा नयाँ पेट्रोलियम ढुवानी नियमावली जारी गरेको थियो । जेठ ०७४ सम्ममा करिब दुई सय वटा नयाँ ट्यांकरले अनुमति दिएको सूचना आफूहरुलाई प्राप्त भएको महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताए । निगमबाट स्वीकृति पाएर कतिपय ट्याङ्कर सञ्चालनमा समेत रहेको महासंघको दाबी छ ।
खारेज गरिएका ट्यांकर समेत सञ्चालनमा आएकाले तिनको तथा नयाँ स्वीकृति पनि खारेज गरिनुपर्ने महासंघको माग छ । यस्तै, ढुवानी नियमावलीको पूर्ण कार्यान्वयनमा पनि महासंघले जोड दिएको छ । निगमले बिनासूचना मनमौजी ढंगले नयाँ ट्यांकर सञ्चालनको अनुमति दिएको निरौलाले बताए । हाल नेपालमा १८ सय ट्यांकर मार्फत् इन्धन ढुवानी हुँदै आएको छ ।
यसअघि सोही विषयलाई लिएर अख्तियारमा पनि उजुरी परेको थियो । आयोगले नियमावली बनाएर कानुनसम्मत अनुमति दिन निगमलाई निर्देशन दिएको थियो । नयाँ ट्यांकरको सञ्चालन अनुमति दिँदा सार्वजनिक सूचना जारी गरेर आवश्यकताका आधारमा मात्र स्वीकृति दिन अख्तियारले निगमलाई निर्देशन दिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij