२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

ज्योति ग्रुपबाट सीजी मोटर्समा पुग्याे हिरोकाे आधिकारिक बिक्रेता

ज्योति ग्रुपबाट सीजी मोटर्समा पुग्याे हिरोकाे आधिकारिक बिक्रेता

काठमाण्डौ । चौधरी ग्रुप हिरो मोटोकर्पको आधिकारिक बिक्रेता बनेको छ। नेपालमा लामो समयदेखि कम्पनीका दुई पांग्रे बिक्री गर्दै आएको ज्योति ग्रुपबाट अधिकृत बिक्रेता खोसिएको हो।

योसँगै अब सीजी मोटर्सले कम्पनीको अधिकृत बिक्रेताको रुपमा दुई पांग्रे उत्पादनको बिक्री तथा वितरण गर्नेछ। नेपालमा सन् २०१४ प्रवेश गरेको कम्पनीका सुपर स्प्लेन्डर, एक्सपल्स २०० जस्ता मोटरसाइकललाई ग्राहकले निकै रुचाएका छन्। एसियामा नेपाल मुख्य बजार रहेको हिरो मोटोकर्पले जनाएको छ।

योसँगै हिरो मोटोकर्प विश्वमा १६० भन्दा धेरै कम्पनी र १२३ भन्दा धेरै ब्रान्डको व्यवसाय सञ्चालन गर्दै आएको चौधरी ग्रुपसँग जोडिएको छ। हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार समेत बनाउने भएका छन्। यसले देशमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने बताएका छन्। जहाँ वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ। आगामी मार्चबाटै त्यसमा कार्य सञ्चालन सुरु हुने विज्ञप्तिमा उल्लेख छ। हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय शाहले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। उनले भने, ‘चौधरी ग्रुपको व्यापक व्यावसायिक ज्ञान र विविध व्यावसायिक दक्षताले नेपालमा हाम्रो व्यवसाय फस्टाउनेछ।’

उनले नेपाल हिरो मोटोकर्पको महत्वपूर्ण बजार रहेको बताउँदै यहाँ कम्पनीका उत्कृष्ट उत्पादन, सेवा र अनुभव बाँड्ने उल्लेख गरे। निकट भविष्यमै कम्पनीले नेपालका अन्य ठाउँमा समेत व्यवसाय विस्तार गर्ने र नयाँ उत्पादन ल्याउने उनको भनाइ छ। यता चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले पनि हिरो मोटोकर्पसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।

उनले भने, ‘विश्वव्यापी छवि बनाएको मोटरसाइकल र स्कुटरको उत्पादनमा नेतृत्व गरिरहेको कम्पनीसँगको साझेदारीसँगै सीजी मोटर्सको अटोबजारमा महत्त्वाकांक्षी प्रवेश भएको छ।’ यसले व्यवसाय वृद्धिमा ठूलो योगदान गर्ने बताउँदै उनले चुस्त एसेम्बली युनिट स्थापना गरिने बताए।

नेपालमा उक्त कम्पनीका विभिन्न उत्पादनहरु रहेका छन्। तिनमा इन्ट्री लेभलदेखि प्रिमियम लेभलसम्मका दुईपांग्रे छन्। जसमा एक्सपल्स २००, एक्सपल्स २००टी, एक्स्ट्रिम रेन्ज, स्प्लेन्डर रेन्ज, ग्लामर र एचएफ डिलक्स मोटरसाइकलहरु रहेका छन्। मोटरसाइकलबाहेक डेस्टिनी १२५, मायस्ट्रो एज र प्लेजर प्लसजस्ता स्कुटर पनि नेपालमा लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij